Wednesday, February 12, 2025

-->

के काठमाडौँमा यो वर्ष जाडो सकिएको हो?

यो वर्ष हिउँदमा काठमाडौँको अधिकतम र न्यूनतम तापक्रम सरदरभन्दा बढी हुँदा कम चिसो महसुस भएको छ। पछिल्लो पाँच दिनदेखि अधिकतम तापक्रम निरन्तर उकालो लागिरहेको छ।

के काठमाडौँमा यो वर्ष जाडो सकिएको हो
फाइल तस्वीर

काठमाडौँ– “जाडो सकियो कि क्यो हो! गर्मी हुन थाल्यो।”

“यसपालीको जाडो पनि पानी नपरेर जाने भो।” 

बुधबार बिहान करिब साढे ९ बजे गोकर्णेश्वर नगरपालिका रामजानकी मन्दिरमा बसेका एक जोडी दौँतरी गफिँदै थिए। घामतर्फ पिठ्युँ फर्काएर बात मार्दै गरेका ती दौँतरी उमेरले ५५–६० वर्ष नाघिसकेका देखिन्थे।

माघको दोस्रो साता पूरा नहुँदै काठमाडौँ उपत्यकामा जाडो कम भएको महसुस हुन थालेको छ। जल तथा मौसम विभागका मौसमविद् सुदर्शन हुमागाईं पनि यो वर्ष अहिलेसम्म न्यूनतम तापक्रम धेरै तल नझरेको बताउँछन्। “पोहोरको जनवरी १५ देखि फेब्रुअरी ९ सम्म ०.१ देखि ४ डिग्री सेल्सियसले तापक्रम घटेको थियो। यसको अर्थ पोहोर अहिलेभन्दा बढी जाडो थियो,” उनी भन्छन्।

काठमाडौँमा गएको मंसिर २९ गते न्यूनतम तापक्रम २ डिग्री सेल्सियसमा झरेको थियो। तर पुस र माघमा ३ डिग्री सेल्सियसभन्दा तल झरेको छैन। पुस १३ गते न्यूनतम तापक्रम ३.४ डिग्री थियो। तर यो वर्ष अधिकांश दिन न्यूनतम तापक्रम ४ डिग्रीभन्दा माथि रहेको छ।

गत वर्ष माघ १४ गते सो वर्षको सबैभन्दा कम न्यूनतम तापक्रम २.१ डिग्री मापन भएको थियो। मौसम मापन शुरू भएयता काठमाडौँको सबैभन्दा कम तापक्रम २०३४ पुस २७ गते मापन भएको थियो। उक्त दिन न्यूनतम तापक्रम माइनस ३.५ डिग्री थियो।

विभागका अनुसार यो वर्ष काठमाडौँको अधिकतम तापक्रम पनि १६.५ डिग्री सेल्सियसभन्दा तल झरेको छैन। गत पुस २५ र माघ ३ गते सबैभन्दा कम अधिकतम तापक्रम १६.५ डिग्री सेलल्यिस थियो। गत पुस १७ मा, १७.५, पुस २३ मा १७.८, पुस २५ मा १७.४ डिग्री सेल्सियस अधिकतम तापक्रम मापन भएको थियो।

पछिल्लो पाँच दिनयता अधिकतम र न्यूनतम तापक्रम सरदरमा ०.२ देखि ०.३ डिग्री सेल्सियसले बढिरहेको हुमागाईं बताउँछन्। माघ ८ गते अधिकतम तापक्रम २१.८ डिग्री सेल्सियस मापन भएको छ। माघ ७ मा २१.६, माघ ६ मा २१.७, माघ ५ मा २१.२ र माघ ४ मा २०.२ डिग्री सेल्सियस अधिकतम तापक्रम मापन भएको थियो।

दिउँसो घाम लागिरहेको कारण अधिकतम तापक्रम लगातार बढिरहेको हुमागाईं बताउँछन्। तर मौसमको यो अवस्था नेपालभर उस्तै छैन। देशको पूर्वीभागमा बुधबार दिनभर घाम नलाग्दा चिसो महसुस भएको छ। अधिकतम तापक्रम भने पूर्वीभन्दा मध्यतराईको कम रहेको हुमागाईं बताउँछन्।

नेपालगन्ज, भैरहवा र सिमराको अधिकतम तापक्रम घटे पनि न्यूनतम तापक्रम नघटेको उनको भनाइ छ। “पश्चिम तराईमा हुस्सुको कारण दिउँसो घाम लागिरहेको छैन, यसकारण अधिकतम तापक्रममा घटेको हो,” उनी भन्छन्, “रातिको तापक्रम भने त्यस्तो घटेको देखिँदैन।” 

एकदुई दिन अघिसम्म धरान, विराटनगरलगायत पूर्वीतराईमा काठमाडौँ, जिरीसरह नै तापक्रम बढिरहेको थियो। हाल मौसम घमाइलो भएको कारण तापक्रममा वृद्धि हुनु सामान्य भएको हुमागाईं बताउँछन्। गत वर्ष पनि बिनावर्षा हिउँद सकिँदा जाडो महिनाको तापक्रम सरदर यस्तै रहेको उनी सम्झन्छन्।

पूर्वी तराई र उपत्यकामा अहिले वर्षा हुने ठूलो प्रणाली नदेखिँदा चिसो बढ्ने सम्भावना कम रहेको हुमागाईं बताउँछन्। तर कुनै त्यस्तो वायु प्रणालीले असर नपार्ने निश्चित नहुने र पश्चिमी वायु प्रवेश गरे तापक्रम सरदरभन्दा मुनि जाने उनको भनाइ छ।

तापक्रम निरन्तर बढिरहे पनि जाडो सकिएको भन्न नमिल्ने हुमागाईं बताउँछन्। “जाडो अझै बाँकी छ, जाडो फेब्रुअरीसम्मै रहनेछ।”

तर डिसेम्बरदेखि फेब्रअुरीसम्म अधिकतम र न्यूनतम दुवै सरदर तापक्रमभन्दा बढी भएको हुनाले यो वर्ष कम चिसो महसुस भएको उनी बताउँछन्। जाडोका तीन महिनाको अवधिमा अधिकतम अथवा न्यूनतम तापक्रममा कुनै बेला औसतभन्दा बढी अथवा कम तापक्रम हुनसक्छ। यसलाई सामान्य मान्नुपर्ने हुमागाईं बताउँछन्।

हिउँदे वर्षा नहुँदा डढेलोको जोखिम उच्च
जाडो महिनामा वर्षा गराउने वायु प्रणाली पश्चिम हुँदै पूर्व आइपुग्छ। यसकारण पनि जाडोमा वर्षाको मात्रा पूर्वमा भन्दा पश्चिममा बढी हुने मौसमविद् हुमागाईं बताउँछन्।

विभागको तथ्यांक अनुसार गत वर्ष जाडो महिनामा १२.५ मिलिमिटर पानी परेको थियो। जुन औसत वर्षाको २० प्रतिशत थियो। कर्णाली र सुदूरपश्चिमको पहाडी क्षेत्रमा २५ मिलिमिटर पानी परेको थियो। बाँकी भूभागमा त्योभन्दा कम पानी प¥यो। बागमतीको चितवन, नवलपरासीलगायत क्षेत्रमा भने पानी नै परेको थिएन।

यो हिउँदमा अहिलेसम्म गत वर्षको भन्दा कम वर्षा भएको छ। माघ ९ गतेसम्म ५.३ मिलिमिटर मात्र वर्षा भएको छ, जुन जाडोयाममा हुने औसत वर्षाको ८ देखि ९ प्रतिशत मात्र हो। हिउँदमा पानी नपर्दा माटोमा ओसिलोपन नहुने र यसले प्रि–मनसुनको समयमा डढेलोको घटना निम्त्याउने मौसमविद्  हुमागाईं बताउँछन्। 

“यो वर्ष फेब्रुअरीमा न्यूनतमभन्दा पनि कम र मार्चको प्रि–मनसुनमा औसतभन्दा कम पानी पर्ने ग्लोबल मोडलले देखाइरहेको छ,” उनी भन्छन्, “यसकारण डढेलो रोक्न पूर्वतयारी अत्यावश्यक छ।”

यद्यपि, यसलाई वातावरण परिवर्तनसँग जोडेर हेरिहाल्न नमिल्ने हुमागाईं बताउँछन्। यस्तो प्रक्रिया ‘एनुअल भेरिबलिटी’ अर्थात् वार्षिक रूपमा पानीको मात्राको परिवर्तनशिलाता भएको उनको भनाइ छ।

“दुई वर्ष अघिसम्म माघमा भारी वर्षा हुन्थ्यो। उपत्यकाकै चन्द्रागिरी, नगरकोट, शिवपुरी राष्ट्रिय निकुञ्ज, फुल्चोकीमा वर्षालगत्तै हिउँ पथ्र्यो। अहिले परेको छैन,” हुमागाईं भन्छन्, “कतिपयले पानी पर्नु र नपर्नेुलाई सिधै वातावरण परिवर्तनसँग जोड्छन्। मौसमको परिवर्तनशीलताको अवधारणालाई पनि बुझ्नुपर्छ।”


सम्बन्धित सामग्री