काठमाडाैँ– प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गरिएको छ।
सोमबार बसेको समितिको बैठकमा एमालेका सांसद राजेन्द्र राईले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताएका छन्। बालकुमारी घटनाको विषयलाई लिएर उनले त्यसको जिम्मेवार गृह मन्त्रालय भएको भन्दै गृहमन्त्रीको राजीनामा माग गरेका हुन्।
"मन्त्रीज्यू, तपाईं राजीनामा दिनुस्। छानबिन र तलका मानिसलाई कारबाही पनि गरियो। अब तपाईं राजीनामा दिनुस्, दिनैपर्यो," उनले भने, "सबैतिर अशान्त छ देशव्यापी रूपमा अशान्ति छ, चलाउन सक्नुहुन्न भनेर राजीनामा दिनुस्।"
उनले युवाले विदेश गएर काम गर्छु भन्दा गोली हानेर मार्नेले राजीनामा नदिए कसले दिन्छ, भन्दै प्रश्नसमेत गरेका छन्।