Friday, April 19, 2024

-->

इराक युद्धको २० वर्ष : सद्दामलाई सत्ताच्यूत गर्नु मात्रै थियो त अमेरिकी आक्रमणको उद्देश्य?

अमेरिकी आक्रमणको २० वर्षपछि पनि इराकीहरू युद्धले दिएको पीडा बोकेर हिँडिरहेका छन्। तर अमेरिकाले अहिलेसम्म इराकमाथि आक्रमण गर्नुको औचित्य पुष्टि गर्न सकेको छैन।

इराक युद्धको २० वर्ष  सद्दामलाई सत्ताच्यूत गर्नु मात्रै थियो त अमेरिकी आक्रमणको उद्देश्य

अमेरिकाले इराकमाथि आक्रमण गरेको सोमबार २० वर्ष पुगेको छ। सन् २००३ को मार्च २० मा अमेरिकाले इराकमाथि आक्रमण गरेको थियो। अमेरिकी र इराकी सेनाबीच लगातार आठ वर्ष युद्ध चल्यो। बेलायतसहितका गठबन्धनको साथमा अमेरिकाले कुबेतबाट इराकमा आक्रमण शुरू गरेको थियो।

अमेरिकी सेनाले अप्रिल ९ मा इराकको राजधानी बगदाद नियन्त्रणमा लियो। केही इराकी नागरिक र अमेरिकी सेनाले बगदादको फिर्दोस स्क्वायरस्थित सद्दाम हुसैनको सालिक ढलाएर उत्सव मनाएका थिए। त्यतिबेला अमेरिकाले इराकमा स्वतन्त्रता र शान्ति स्थापनाको प्रतिबद्धता गरेको थियो। यसलाई अमेरिकाको सांकेतिक विजय ठान्दै विश्वभर प्राथमिकताका साथ समाचार बनाइ।

बग्दादमा आक्रमणपछि भागेका इरानी राष्ट्रपति सद्दाम हुसैन डिसेम्बर १३ मा टिकरितस्थित एक घरको सुरुङभित्र लुकेको अवस्थामा अमेरिकी सेनाले भेटाएको थियो। अमेरिकी नियन्त्रणमा रहेका हुसैनलाई सन् २००६ डिसेम्बर ३० मा फाँसी दिइएको थियो। उनलाई इराकी अदालतले सामूहिक हत्या र मानवताविरोधी अपराधमा दोषी ठहर्‍याएको थियो। सद्दामलाई फाँसी दिइएको दिन मुस्लिम समुदायको चाड इद–अल–अदा भएको भन्दै त्यसयता विवादसमेत रहँदै आएको छ।

सद्दामको पतनपछि इराकमा अपराध र दण्डहीनता मौलाउँदै गएको अल जजिराले उल्लेख गरेको छ। इराकी युद्धमा अमेरिका असफल भएको चर्चालाई अमेरिकी अधिकारीहरूले अस्वीकार गरेका छन्।

शासक एवं तत्कालीन ‘निरंकुश’ राष्ट्रपति सद्दामले विनाशकारी हतियार निर्माण गरेको र ती हतियारहरू लुकाएको आरोप लगाउँदै अमेरिकी राष्ट्रपति जर्ज डब्लू बुस प्रशासनले इराकमा युद्ध छेडेको थिए। विशेषगरी, सन् २००१ सेप्टेम्बर ११ मा अमेरिकामा अल कायदाले आक्रमण गरेपछि अशान्त बनेको अमेरिकाले इराकले विनाशकारी हतियार निर्माणलाई निरन्तरता दिएको र आतंकवादी संगठनसँग साँठगाँठ राखेको निहुँ बनाउँदै युद्ध शुरू गरेको थियो। अमेरिकाले इराकी राष्ट्रपति सद्दामको सत्ता ढलाउने र जनतामा शान्ति र अमनचयन कायम गर्ने प्रतिबद्धता गरेको थियो।

तर, युद्धताका अमेरिकाले प्रचार गरेजस्तो सामूहिक हत्याका लागि प्रयोग हुने भनिएका विनाशकारी हतियार इराकमा फेला परेन। आजसम्म पनि अमेरिकाले किन एक्कासि  इराकमाथि आक्रमण गर्‍यो भन्ने विषयको ठोस आधार सार्वजनिक भएको छैन।

सद्दामलाई पक्राउ गरेलगत्तै अमेरिकी बुस प्रशासनले पहिले भनिएको जस्तो इराकमा रसायनिक, जैविक र आणविक हतियार लुकाइएको तर्क आधारहीन रहेको स्वीकार गरेको अलजजिराले लेखेको छ।

तर, सन् २००३ मार्च २० देखि २०११ डिसेम्बर १५ सम्म जारी युद्धका क्रममा हजारौँले ज्यान गुमाए। यस्तै, दुवै पक्षले ठूलो धनजनको क्षति बेहोर्नुपर्‍यो।

अमेरिका–इराक युद्धका क्रममा दुई लाखभन्दा बढी इराकी सर्वसाधारण र ४५ सय अमेरिकी सैनिकको मृत्यु भएको बताइएको छ। अमेरिकी आक्रमणपछि त्यस क्षेत्रमा अस्थिरता र तनाव बढेको थियो।

अमेरिकाले किन आक्रमण गर्‍यो इराकमा?
इराकमा अमेरिकी आक्रमणको २० वर्ष पुगिसक्दासमेत अमेरिकाले कुन उद्देश्यले इराकमा आक्रमण गर्‍यो भन्ने खुल्न सकेको छैन। यद्यपि, अमेरिकी राजनीतिज्ञहरू र सैद्धान्तिक विश्लेषकहरूले आधार खोज्दै जाँदा इराकमा अमेरिकी आक्रमण हुनुपूर्व इराक कस्ता कार्यमा संलग्न थियो भन्ने खोतलेका थिए।

तेल खानीमा धनी छिमेकी मुलुक कुबेतमा इराकले सन् १९९० मा आक्रमण गरेको थियो। त्यतिबेला जर्ज डब्लू बुसका बुबा जर्ज एचडब्लू बुस अमेरिकाका राष्ट्रपति थिए। उनले इराकमा ‘उदार लोकतन्त्र’ लागू गर्ने मनसाय राखेका थिए। जसले इराकका राष्ट्रपति सद्दामलाई सत्ताच्यूत गर्न अमेरिकी नवरुढीवादी राजनीतिज्ञहरूलाई बाटो खोलिदिएको थियो।

तर, इराकमाथि युद्ध शुरू गर्ने निर्णयमा भने अमेरिका सन् २००१ को सेप्टेम्बर ११ को घटनापछि पुगेको थियो। (जसमा इस्लामिक अतिवादी समूह अल कायदाले अमेरिकामा आक्रमण गरेको थियो। युयोर्कस्थित वर्ल्ड ट्रेड सेन्टरको दुई वटा टावरमा आक्रमण गराउँदा सयौँ मानिसको मृत्यु भएको थियो।)

वर्ल्ड ट्रेड सेन्टर घटनाताका इराकसहित त्यस क्षेत्रलाई उदार र प्रजातान्त्रिक बनाउनुपर्ने मिश्रित सैद्धान्तिक मनसाय हाबी भइरहेको थियो। अमेरिकी नेतृत्वको आक्रमण विशेषगरी इराकबाट निर्वासित नागरिकहरू जो सद्दाम हुसैनलाई सत्ताबाट हटाउन चाहन्थे उनीहरूसँग पनि जोडिएको छ। युद्धपछि निर्वासित जीवन बिताइरहेका इराकीहरू नै राजनीतिक लाभ लिँदै इराकमा हाबी भएका थिए।

अहिलेको इराक
अरबी भूमिमा अमेरिकी आक्रमणपछि इराकको राजनीतिक र सामाजिक नक्सा त परिवर्तन भयो नै इराकीहरू आजसम्म पनि युद्धका घाउ बोकेर हिँडिरहेका छन्।

एबीसी समाचारसँगको अन्तर्वार्तामा इराकी नागरिक शेख मोहमद एल हब्री भन्छन्, “इराकमा युद्ध चर्काएकोमा अमेरिकालाई कहिल्यै जिम्मेवार बनाइएन। कुनै मानिसलाई मारेको आरोपमा अमेरिकी नागरिकलाई कुनै इराकी मानिसले सजाय दिएको कुरा तपाईंले कहिल्यै सुन्नुभएको छ?”

“हामीले विश्वास गर्नै नसकिने कुराहरू देख्यौँ। सामान्य मान्छे बस्न नहुने अवस्थाबीच हामी बस्यौँ। आफ्नो जन्मभूमि र गरिमाका लागि अमेरिकाविरुद्ध लड्यौँ,” पूर्वइराकी सैनिक चाउकी अकरम एल दिलेमीको भनाइ थियो।

सद्दामको पतनपछि पनि इराकको समस्या घट्नुको साटो थप बढेको छ। देशमा गृहयुद्ध चर्केको र अहिले पनि इरानले युद्धको घाउमा मलहम लगाउन संघर्ष गरिरहेको एबीसी न्युजले उल्लेख गरेको छ।

एपी न्युजले अमेरिकी युद्धको २० वर्षपछि इरानी युवामा आशाको किरण पलाएको भन्दै समाचार लेखेको छ। “एक साँझ इराकी महिला र पुरूषहरूले जिन्स र जुत्ता लगाएर मात्रै तिगरिस नदीको किनारमा नाचिरहेका थिए, अस्ताउँदै गरेको सूर्यअगाडि उनीहरू एक स्थानीय गीतमा झुमिरहेका थिए। २० वर्षअघि अमेरिकी आक्रमणको त्रासदीपूर्ण समयभन्दा यो संसार विल्कुल भिन्न थियो। अहिले इराकी राजधानीमा मानिसहरूले आनन्दको जीवन बाँचिरहेका छन्। आधुनिक इतिहासले दिएको पीडाबीच बिरलै पाइने शान्ति महसुस गर्दैछन्,” एपीले लेखेको छ।

एजेन्सीको सहयोगमा


सम्बन्धित सामग्री