Saturday, December 14, 2024

-->

रुसी सेनामा पठाउन सक्रिय गिरोहको ‘टार्गेट’ पूर्व सुरक्षाकर्मी, ७ लाखसम्म लिएर पठाइन्थे नेपाली

उपत्यकामै कार्यरत दुईजना प्रहरी जवानले रुसी सेनामा जानका लागि प्रक्रिया अघि बढाउन ३०/३० हजार रुपैयाँ बुझाएको पनि खुल्न आएको प्रहरीले जनाएको छ।

रुसी सेनामा पठाउन सक्रिय गिरोहको ‘टार्गेट’ पूर्व सुरक्षाकर्मी ७ लाखसम्म लिएर पठाइन्थे नेपाली

काठमाडौँ– जिल्ला प्रहरी परिसर काठमाडौँले केही दिन लगाएर रुसको सैनिक सेवामा पठाउने भन्दै सक्रिय रहेका १२ जनालाई पक्राउ गर्‍यो। उनीहरूको साथबाट प्रहरीले विभिन्न व्यक्तिको नाममा रहेका राहदानी, भिसा र केही रकमसमेत बरामद गरेको छ।

पीडित सम्पर्कमा नआएकाले तत्काल पक्राउ परेकालाई अभद्र व्यवहार सम्बन्धी कसुर मुद्दामा जिल्ला प्रशासन कार्यालयबाट म्याद लिइ अनुसन्धान भइरहेको छ। प्रारम्भिक अनुसन्धानले रुसी सेनामा पठाउने काममा ठूलै गिरोहले काम गरिरहेको देखिएको छ।

पक्राउ परेका १२ जनालाई बुधबार सार्वजनिक गर्दै परिसरले यस विषयमा जानकारी दिएको हो। पक्राउ पर्नेमा उदयपुरका हरिबहादुर विश्वकर्मा, काठमाडौंँका सन्तोष रोका, रोजल महर्जन, क्षितिज गिरी, सिन्धुपाल्चोकका मनिष न्यौपाने, सिराहाका दिपेन परियार, काभ्रेका सुवाल लामा, चितवनका गोकर्ण अर्याल, बाराका सन्तोष नेपाल, ओखलढुंगाका सुजता दाहाल, लमजुङका ईश्वर अधिकारी र दाङका द्रोणा डाँगी रहेका छन्।

द्वन्द्वग्रस्त देश रुसको सेनामा भर्ती गराउनकै लागि गिरोहले नेपालीबाट ७ लाख रुपैयाँसम्म लिने गरेको अनुसन्धानबाट खुलेको प्रहरी उपरीक्षक (एसएसपी) भुपेन्द्र खत्रीले जानकारी दिए।

“ठूलो रकम लिएर नेपाली युवालाई यूएई, भारत हुँदै रुससम्म पुर्‍याएको देखिएकाले हामीले पक्राउ गरेका हौँ,” उनले भने, “यस विषयमा थप अनुसन्धान अझै बाँकी छ। कति नेपालीलाई अवैध बाटोबाट रुस पठाइयो भन्ने खुलिसकेको छैन।”

उनका अनुसार गिरोहले रुसी सेनाका लागि भनेर पूर्व सुरक्षाकर्मीलाई बढी लक्षित गरेको देखिएको छ। “सुरक्षा निकायमा काम गरेकाहरूको माग बढी रहेछ। त्यही भएर गिरोहले उनीहरूलाई बढी प्राथमिकतामा राखेको पाइयो,” उनले भने, “यो समूहको माध्यमबाट त्यहाँ जानका लागि बहालवाला दुईजना प्रहरी कर्मचारी पनि रहेको देखियो।” 

परिसरका अनुसार उपत्यकामै कार्यरत दुईजना प्रहरी जवानले रुसी सेनामा जानका लागि प्रक्रिया अघि बढाउन ३०/३० हजार रुपैयाँ बुझाएको पनि खुल्न आएको छ। केही मानिसलाई पठाइसकेको र केहीलाई पठाउने तयारी गरिरहेका बेला आफूहरूले गिरोहका सदस्यलाई पक्राउ गरिएको उनले बताए। 

पक्राउ परेकामध्ये मुख्य एजेन्टको रूपमा हरि विश्वकर्मा, सुजता दाहाल र ईश्वर अधिकारीले काम गरेको देखिएको छ। दाहालको साथबाट प्रहरीले २७ थान पासपोर्ट र १४ लाख १८ हजार ५ सय नगद बरामद गरेको छ। त्यस्तै ईश्वर अधिकारीको कार्यालयबाट १६ थान पासपोर्ट, नगद १३ लाख ४२ हजार, मोबाइल, ल्यापटप लगायतका सामान बरामद गरेको छ।

परिसरका प्रहरी नायव उपरीक्षक (डीएसपी) अंगुर जिसीका अनुसार दाहाल पहिले कन्सल्टेन्सी चलाउँथिन्। उनले प्रहरीसँगको बयानमा आफूले भिसा प्रक्रियाका लागि मात्र सहयोग गरेको बयान दिएकी छन्। ईश्वर अधिकारीले दाइको सहयोगीका रूपमा नेपालमा काम गरेको देखिएको छ। उनका दाइ नेपालीलाई रुस लैजाने काममा प्रत्यक्ष संलग्न रहेको खुलेको छ। उनी नेपालमा नरहेको प्रहरीले जनाएको छ। 

उदयपुर घर भएका हरिबहादुर विश्वकर्मा मुख्य व्यक्ति रहेको खुलेको छ। उनी म्यानपावर सञ्चालकसमेत हुन। पूर्व सैनिक कर्मचारी विश्वकर्माले प्रहरीसँगको बयानका क्रममा आफूले दुई पटक गरेर १८ जनालाई रुस पठाएको भनेका छन्। उनले पठाएकामध्ये दुईजना भागेर नेपाल फर्किएका छन्। ती दुई व्यक्तिलाई जाहेरी दिनका लागि प्रहरीले आग्रह गरे पनि अहिलेसम्म जाहेरी दिन तयार भइसकेका छैन। ५ वर्षदेखि म्यानपावर व्यवसाय गर्दै आएका उनले प्रलोभन दिएर रुस पठाउने काम गरेको देखिएको छ। 

एसएसपी खत्रीका अनुसार दुई लाखसम्म मासिक तलब, चाँडै ग्रिनकार्ड प्राप्त हुने लगायतका आश्वासन दिने र त्यसको विज्ञापनसमेत गरिएको पाइएको छ। 

विभिन्न माध्यमबाट प्रकाशित विज्ञापन हेरी सम्पर्कमा आएका युवालाई एजेन्टले जम्मा गरेर ५/१० जनाको समूहले भीसाको प्रक्रिया अगाडि बढाउने गरेका थिए। एजेन्ट मार्फत् रसिया जान लागेका व्यक्तिहरूको पासपोर्ट प्रज्वल वा उसको सहकर्मीले जम्मा गरेर रसियन दूतावासको अनलाइन फारम भर्ने गरेको खुलेको छ।

“पासपोर्टको अगाडि पछाडिको प्रतिलिपि तथा निमन्त्रणा कार्ड राख्नुपर्ने उक्त कार्ड अनुप दनुवारले बनाइ पठाउने गरेको देखिन्छ,” एसएसपी खत्रिले भने, “नेपाल, भारत र खाडी हुँदै हवाई माध्यमबाट वा नेपाल भारत हुँदै सडक माध्यमबाट रसियन एजेन्सी मार्फत्, रसियन दूतावास मार्फत् भिजिट भिसा लगाएर रसिया पठाएको देखियो।”

पक्राउ परेका व्यक्ति तथा कन्सलटेन्सीले विज्ञापन नै खोलेर रुसी सेनामा भर्ना गर्नका लागि अन्तर्वार्तासमेत सञ्चालन गरेको खुलेको छ।

रुसी सेनामा भर्ना हुन नेपाली गइरहेको र त्यसमा केही समूह सक्रिय रहेको पाइएपछि गृहमन्त्रालयले गत साउन ३२ मा प्रहरी प्रधान कार्यालय, अध्यागमन कार्यालयलाई पत्राचार गरेर निगरानी गर्न निर्देशन दिएको थियो। सोही निर्देशनपछि प्रहरीले निगरानी बढाएको थियो।


सम्बन्धित सामग्री