काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले चुरे संरक्षणका लागि स्थायी समाधान खोजी त्यसका आधारमा आवश्यक काम गर्न राष्ट्रपति चुरे–तराई/मधेश संरक्षण विकास समितिलाई निर्देशन दिएका छन्।
उनले राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समितिका पदाधिकारीसँग शुक्रबार राष्ट्रपति भवन शीतलनिवासमा चुरे संरक्षणका सम्बन्धमा भएको छलफल गर्दै समस्याको स्थायी समाधानका लागि निर्देशन दिएका हुन्।
उनले चुरे विनासले निम्त्याउने संकटप्रति चिन्ता व्यक्त गर्दै अहिलेको काम गराइले मात्र दीर्घकालीन समाधान नहुने धारणा राखेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।
राष्ट्रपति पौडेलले पहिरो रोक्नुपर्ने, खोला नदीले बगाएर ल्याउने ढुंगा, गिटी, गेग्रयान हटाएर खोला बग्ने निश्चित धार बनाउने, हटाएको ढुंगा, गिटी, बालुवा राष्ट्रिय आवश्यकताका लागि प्रयोग गर्ने, हरियाली निर्माण गर्ने, वस्ती सुधार गर्नेजस्ता विभिन्न कामका लागि राज्यले नै बृहत् योजना बनाएर तदारुकतासाथ काम गर्नुपर्नेमा जोड दिएका थिए।
छलफलमा विकास समितिका पदाधिकारीहरूले समितिले हाल गरिरहेको कामबारे जानकरी गराएका थिए।