यमन राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक मिरोस्लाभ सुकोप र कप्तान मुदिर अब्दुराबु।
काठमाडौँ– यमन राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक मिरोस्लाभ सुकोपले नेपाललाई कमजोर प्रतिस्पर्धीको रूपमा नलिएको बताएका छन्। फिफा विश्वकप २०२६ र एएफसी एशियन कपको प्रारम्भिक छनोटअन्तर्गत दोस्रो चरणको खेलमा घरेलु टोलीसँग प्रतिस्पर्धा गर्नुअघि उनले यूएईसँग सम्मानजनक प्रदर्शन गरेकाले नेपाललाई कमजोर प्रतिस्पर्धीका रूपमा नलिएको बताएका हुन्।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार बेलुका ७ बजे यमनले घरेलु टोली नेपालको सामना गर्दै छ। नेपाल र यमन समूह ‘एच’मा छन्। नेपालसँग खेल्न सहज नहुने पनि उनले बताए।
“नेपालले लाओसलाई कसरी हराएर दोस्रो चरण पुगेको थियो त्यो हामीले हेरेका छौँ। यूएईसँग पनि नेपालले राम्रो खेल्यो। टोली एकदमै राम्रो छ। त्यसैले नेपालसँग खेल्न सजिलो हुनेछैन,” उनले भने, “त्यसैले हामीले नेपाललाई सहज रूपमा लिएका छैनौँ।”
नेपालले लाओसलाई समग्रमा २–१ गोल अन्तरले पराजित गर्दै दोस्रो चरणमा स्थान बनाएको थियो। श्रीलंकालाई समग्रमा ४–१ गोल अन्तरले पराजित गर्दै यमन दोस्रो चरणमा पुगेको थियो। दोस्रो चरणको पहिलो खेलमा नेपाल यूएईसँग ४–० गोल अन्तरले पराजित भएको थियो।
यमन पनि दोस्रो चरणको पहिलो खेलमा बहराइनसँग २–० गोल अन्तरले पराजित भएको थियो। नेपाल शुक्रबार स्वदेश फर्किएको थियो। यमन भने आइतबार बिहान आउने तालिका रहे पनि प्राविधिक समस्याको कारण बेलुका मात्रै काठमाडौँ आइपुगेको हो। त्यसैले टोली थकित रहेको मुख्य प्रशिक्षक सुकोपले जानकारी दिए। यद्यपि, मंगलबारको खेल बेलुका ढिला भएको कारण आफूहरूलाई कुनै समस्या नरहेको उनले बताए।
नेपाली टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिस र कप्तान किरणकुमार चेम्जोङ।
“हम्माद विमानस्थलमा हामी साढे सात घण्टा रोकिन पर्यो। त्यसैले काठमाडौँ आइपुग्न समय लाग्यो। यहाँसम्म आइपुग्दा सबै खेलाडी थकित भइसकेका थिए। तर, बेलुका ७ बजेदेखि खेल भएको कारण हामीलाई कुनै समस्या छैन। खेलाडीहरू मनोवैज्ञानिक रूपमा तयार छन्। आज नै अन्तिम तयारी गर्छौं,” उनले भने।
यमनका कप्तान मुदिर अब्दुराबुले पनि नेपालविरुद्ध खेल्न समस्या नहुने बताए। ८० प्रतिशतभन्दा बढी अनुभवी खेलाडी रहेका कारण नेपालविरुद्ध सुधारिएको प्रदर्शन गर्ने उनले बताए।
“टोलीमा अनुभवको कमी छैन। ८० प्रतिशतभन्दा बढी पुराना र अनुभवी खेलाडी छन्। बहराइनविरुद्ध केही गल्ती भएको थियो। त्यसलाई भोलि नेपालविरुद्ध हुने खेलमा सुधार गर्नेछौँ,” उनले भने।
समूह विजेता र दोस्रो हुने टोलीले विश्वकप छनोटको तेस्रो चरणका साथै २०२७ एशियन कपमा सोझै स्थान बनाउने छन्। त्यसैले पनि नेपाल र यमनका लागि मंगलबार हुने खेल महत्त्वपूर्ण रहने नेपाली राष्ट्रिय टोलीका कप्तान किरणकुमार चेम्जोङले बताए। यूएईविरुद्धको नतिजालाई बिर्सिसकेकाले अर्को चरणमा जान यमनविरुद्ध जित्नैपर्ने दबाब रहेको उनले बताए।
“हामीले युएईविरुद्धको खेल दिमागमा राखेका छैनौँ, त्यस खेल बिर्सिसकेका छौँ। स्वदेश फर्केपछि राम्रो अभ्यास गरेका छौँ, खेलाडीहरू मनोवैज्ञानिक रूपमा बलिया छन् र खेल्न तयार छन्,” उनले भने, “अर्को चरणमा जाने हो भने भोलिको खेल एकदमै महत्त्वपूर्ण छ। हामीलाई जित्नैपर्ने दबाब छ।”
यमनविरुद्धको खेलमा मिडफिल्डर लाकेन लिम्बू अनुपस्थित रहनेछन्। यूएईविरुद्धको खेलमा उनी चोटका कारण १०औँ मिनेटमै मैदानबाट बाहिरिएका थिए। रक्षक अनन्त तामाङले यमनविरुद्धको खेलमा पुनरागमन गर्ने छन्। चोटका कारण उनले यूएईविरुद्धको खेल गुमाएका थिए।
नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसले आफ्नो टोलीमा नयाँ खेलाडीको बाहुल्यता रहेको बताए। यद्यपि, यमनविरुद्ध तीन अंकका लागि खेल्ने उनको भनाइ छ।