Thursday, September 12, 2024

-->

‘जलवायु परिवर्तनबाट पानी सुरक्षामा थपिएको चुनौतीबारे नेपाल अन्तर्राष्ट्रिय मञ्चमा बलियोसँग प्रस्तुत हुनुपर्छ’

विज्ञहरूले जलवायु परिवर्तनबाट सबैभन्दा ठूलो असर पानीका स्रोतमा परिरहेको र त्यसले जनजीवनमा व्यापक असर पुर्‍याइरहेकाले नेपालले यो विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा बलियोसँग उठाउनुपर्ने बताएका छन्।

‘जलवायु परिवर्तनबाट पानी सुरक्षामा थपिएको चुनौतीबारे नेपाल अन्तर्राष्ट्रिय मञ्चमा बलियोसँग प्रस्तुत हुनुपर्छ’

काठमाडौँ– पानी, कृषि, विद्युत् तथा वनक्षेत्रमा कार्यरत विज्ञहरूले विश्वव्यापी तापक्रम वृद्धिका कारण पानीको उपयोग तथा सुरक्षामा चुनौती देखिएकाले नेपालले अन्तर्राष्ट्रिय मञ्चमा बलियोसँग यो विषयलाई उठाउनुपर्नेमा जोड दिएका छन्। कृषि उत्पादन, विद्युत‍्को विकास, खानेपानीको उपयोग लगायतका क्षेत्रमा पानीको उपयोग हुने भएकाले पानीको स्रोत संरक्षण महत्त्वपूर्ण विषय भएको उनीहरूले औँल्याएका हुन्।

संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलनको पूर्वसन्ध्यामा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र अन्तर्राष्ट्रिय पानी व्यवस्थापन संस्थाको आयोजनामा भएको ‘नेपालमा जलवायु परिवर्तन र पानी विषयक’ छलफलमा बोल्दै उनीहरूले जलवायु परिवर्तनका कारण छोटो समयमा अत्यधिक वर्षा हुने र लामो समयसम्म पानी नपरेर खडेरी पर्दा संकट निम्तिएको बताए। संकटबाट सबैभन्दा ठूलो असर पानीका स्रोतमा परिरहेको र त्यसले जनजीवनमा व्यापक असर पुर्‍याइरहेको उनीहरूको तर्क छ।

जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव सुशीलचन्द्र आचार्यले छोटो समयमा अत्यधिक वर्षा हुने तथा बेमौसमी वर्षाका घटनाक्रम पछिल्लो दशकमा बढेकाले त्यसले धेरै क्षति पुर्‍याएको बताए। जल तथा मौसम विज्ञान विभागका अनुसार जुनदेखि सेप्टेम्बरसम्म ८० प्रतिशत पानी पर्छ भने बाँकी ८ महिना सुख्खा हुन्छ।

मौसमी वर्षाले नेपालको कृषि उत्पादनमा योगदान २३ प्रतिशत योगदान पुर्‍याउँछ भने धान उत्पादनको योगदान मात्र ११ प्रतिशत रहने गर्छ। मनसुनी वर्षाले पानीका स्रोतका रूपमा रहेका इनार, भूमिगत, मूलपानीको स्रोत पुनर्भरणमा महत्त्वपूर्ण योगदान पुर्‍याउँछ।

जलवायु परिवर्तनका कारण अस्वाभाविक रूपमा हुने वर्षा र लामो समयको सुख्खाले क्षतिका घटनमा वृद्धि भएको विद्युत् नियमन आयोगका पूर्वसदस्य एवं ऊर्जाविज्ञ डा. रामप्रसाद धिताल बताउँछन्। उनका अनुसार वर्षाको समयमा अस्वाभाविक वर्षाका कारण यस वर्षको असार पहिलो हप्तामा पूर्वी नेपालमा आएको बाढीबाट ४६३ मेगावाटका ३० आयोजनामा झन्डै ८ अर्बको क्षति भएको थियो।

पूर्वी नेपालमा यस वर्षका जस्ता घटना वर्षेपिच्छे हुन थालेका छन्। २०७८ असार पहिलो साता सिन्धुपाल्चोक, मनाङ, कास्की र लमजुङमा पनि अस्वाभाविक वर्षा र त्यसपछि आएको बाढीबाट त्यहाँस्थित जलविद्युत् आयोजनामा करिब १२ अर्बभन्दा बढीको क्षति पुर्‍याएको थियो।

“बर्खामा अस्वाभाविक वर्षाका कारण बाढी आएर जलविद्युत् आयोजना प्रभावित भएका छन्। हिउँदमा सुख्खा भएर विद्युत् उत्पादन अनुमान गरेभन्दा पनि कम उत्पादन भएको छ। यसले देशको अर्थतन्त्रमै असर पुगेको छ,” धिताल भन्छन्, “त्यसकारण हामीले उपयोगका विषयलाई प्राथमिकता राख्नुपर्छ। अनि जलवायु परिवर्तनका कारण यस क्षेत्रमा परिरहेको असर र त्यसबाट मानवीय जीवन र समग्र अर्थतन्त्रमा परेको प्रभावलाई अन्तर्राष्ट्रिय समुदायको ध्यान आकर्षण गर्ने गरी राख्न सक्नुपर्छ।”

विश्व बैंकको तथ्यांकअनुसार नेपालमा हुने प्राकृतिक प्रकोपका घटनामध्ये ४७ प्रतिशत बाढीजन्य हुने गरेका छन् भने २१ प्रतिशत पहिरोका। कृषि विभागकी सहसचिव डा. शान्ता कार्की पानी सुरक्षा कृषिका लागि महत्त्वपूर्ण रहेको बताउँछिन्। “स्वाभाविक रूपमा वर्षा हुँदा त्यसले कृषि क्षेत्रमा सकारात्मक प्रभाव पार्छ र उत्पादनलाई बढाउँछ। तर, अस्वाभाविक वर्षा हुँदा बालीनालीमा क्षति पुग्नुको साथै कृषियोग्य भूमिको कटान भइरहेको छ,” कार्की भन्छिन्। उनका भनाइमा कृषिक्षेत्रमा पानीको बहुआयामिक असर भएकाले खाद्य सुरक्षाका लागि पानी महत्त्वपूर्ण हो।

इसिमोडका वरिष्ठ जलवायुविज्ञ अरुणभक्त श्रेष्ठ नेपालसहित हिन्दुकुश हिमालय पानी सञ्चितको प्रमुख क्षेत्र भएको बताउँदै पछिल्लो दशकमा बढिरहेको तापक्रम वृद्धिले थपेको चुनौतीसँग जुध्ने गरी अन्तर्देशीय समन्वय तथा सहकार्य अपरिहार्य भएको उल्लेख गरे। उनी जलवायु सम्मेलनमा अन्तर्देशीय सहकार्यको विषयले प्राथमिकता पाउनुपर्ने बताउँछन्।

अन्तर्राष्ट्रिय पानी व्यवस्थापन संस्था नेपालकी प्रमुख डा. मनोहरा खड्का पानीबिना पारिस्थिकीय प्रणालीको कल्पना नै गर्न नसकिने भएकाले जलवायु परिवर्तनले पानीका स्रोतमा पारिरहेको प्रभावसँग एक भएर जुध्नुपर्ने औँल्याइन्। “पानीबिनाको जीवन नै सम्भव छैन। पानीको उपयोगलाई कसरी दिगो र प्रभावकारी बनाउन सकिन्छ, यसबारेमा ढिलो नगरी प्रभावकारी कदम चाल्न जरुरी छ,” उनी भन्छिन्, “हामीले उपलब्ध पानीलाई उपयोग गर्न सके मात्र देश विकासमा कायापलट गर्न सक्छौँ।”


सम्बन्धित सामग्री