Sunday, September 08, 2024

-->

वाणिज्य बैंकहरूको नयाँ ब्याजदर लागू, एउटाले बढाउँदा अधिकांशले घटाए

वाणिज्य बैंकहरूले कात्तिकको तुलनामा मंसिरमा व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर औसतमा ०.३३१६ प्रतिशत र संस्थागत मुद्दतीमा औसतमा ०.३०६६ प्रतिशत बिन्दुले ब्याजदर घटाएका छन्।

वाणिज्य बैंकहरूको नयाँ ब्याजदर लागू एउटाले बढाउँदा अधिकांशले घटाए

काठमाडौँ– वाणिज्य बैंकहरूको शुक्रबार नयाँ ब्याजदर लागू भएको छ। बैंकहरूले मंसिर महिनाका लागि नयाँ ब्याजदर निर्धारण गरी लागू गरेका हुन्। वाणिज्य बैंकहरूमा अधिकांशले बैंकको ब्याजदर घटाएका छन्।

बैंकहरूले कात्तिकको तुलनामा मंसिरमा व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर औसतमा ०.३३१६ प्रतिशत र संस्थागत मुद्दतीमा औसतमा ०.३०६६ प्रतिशत बिन्दुले ब्याजदर घटाएका हुन्। कात्तिकमा बैंकहरूको औसत ब्याजदर व्यक्तिगततर्फ ९.९६४ प्रतिशत र संस्थागत निक्षेपतर्फ ७.८५२६ प्रतिशत रहेको रहेको थियो।

व्यक्तिगततर्फ २० वटा वाणिज्य बैंकमध्ये १३ वटाले ब्याजदर घटाउँदा एउटा बैंकले मात्रै ब्याजदर बढाएको छ। कात्तिककै ब्याजदरलाई कायम राख्ने बैंकहरू ६ वटा बैंक छन्।

माछापुच्छ्रे बैंकले भने केही प्रतिशत ब्याजदर वृद्धि गरेको छ। कात्तिकमा माछापुच्छ्रेले व्यक्तिगत निक्षेपतर्फ ९.९९ प्रतिशत र संस्थागततर्फ ७.४९ प्रतिशत ब्याजदर तोकेको थियो।

तर मंसिरका लागि लागि भने बैंकले व्यक्तिगत र संस्थागततर्फ क्रमशः १०.६०३ प्रतिशत र ८.६०३ प्रतिशत कायम गरेको छ। माछापुच्छ्रे बैंकले मंसिरमा बचतमा ५.६० देखि ८.६० प्रतिशत ब्याज दिने भएको छ।

मंसिरमा ब्याजदर घटबढ नगर्नेमा नेपाल बैंक, सिटिजन्स, सिद्धार्थ, लक्ष्मी सनराइज, कुमारी र प्राइम कमर्सियल बैंक छन्। यी बैंकले भने कात्तिकको ब्याजदरलाई निरन्तरता दिने भएका छन्। 

स्ट्यान्डर्ड चार्टर्ड बैंकले मंसिर महिनामा व्यक्तिगत निक्षेपतर्फ ८.९७ प्रतिशत र संस्थागततर्फ ५.२५ प्रतिशत, नबिल बैंकले व्यक्तिगततर्फ ९.१ प्रतिशत र संस्थागततर्फ ७.१ प्रतिशत, नेपाल इन्भेस्टमेन्ट मेगाले व्यक्तिगततर्फ ९.५१ प्रतिशत र संस्थागततर्फ ७.५१ प्रतिशत, कृषि विकासले व्यक्तिगततर्फ ९.५१२ प्रतिशत र संस्थागततर्फ ७.५१२ प्रतिशत, ग्लोबल आईएमईले व्यक्तिगततर्फ ९.६ प्रतिशत र संस्थागततर्फ ७.६ प्रतिशत ब्याज दिने भएका हुन्। 

त्यसैगरि, हिमालयन बैंक र नेपाल एसबीआईले मंसिरका लागि व्यक्तिगत निक्षेपतर्फ १०.६३ प्रतिशत र संस्थागततर्फ ८.६०३ प्रतिशत ब्याज दिने भएका हुन्। सबैभन्दा धेरै ब्याजदर एनआईसी एशिया बैंकले २.०३५ प्रतिशतले घटाएको छ।

मंसिरका लागि बैंकले व्यक्तिगततर्फ ८.९६८ प्रतिशत र संस्थागततर्फ ६.९६८ प्रतिशत ब्याज दिने भएको हो। एनएमबी बैंकले व्यक्तिगततर्फ ९.७६ प्रतिशत र संस्थागततर्फ ७.७६ प्रतिशत ब्याजदर कायम गरेको छ। कात्तिकको तुलनामा बैंकले ब्याजदर १.२४३ प्रतिशतले घटाएको हो। 

मंसिरका लागि एभरेस्ट बैंक, प्रभु, सानिमा, राष्ट्रिय वाणिज्य बैंकले व्यक्तिगततर्फ ९ प्रतिशत र संस्थागततर्फ ७ प्रतिशत ब्याजदर तोकेका छन्। यी बैंकहरूले ब्याजदर पनि गत कात्तिकको तुलनामा ०.२२४ प्रतिशतले घटेको हो।


सम्बन्धित सामग्री