काठमाडौँ– हाङझाव एशियाडको महिला कबड्डीमा नेपाल समूह चरणको दोस्रो खेलमा पराजित भएको छ। चियोसन गुवाली स्पोर्ट्स सेन्टरमा मंगलबार भएको समूह ‘बी’ को आफ्नो दोस्रो तथा अन्तिम लिगमा नेपाल डिफेन्डिङ च्याम्पियन इरानसँग ४३–१९ ले पराजित भयो।
नेपाल पहिलो हाफमा १९–११ ले पछि परेको थियो। इरानले दोस्रो हाफमा पनि अग्रता लिने क्रममा २४–८ स्कोर गर्यो। समूह ‘बी’ मा नेपाल र इरानसहित बंगलादेश गरी ३ राष्ट्र छन्।
नेपालले समूह चरणको पहिलो खेलमा बंगलादेशलाई ३७–२४ ले हराएको थियो। बुधबार हुने समूह ‘बी’को अन्तिम लिगमा इरानले बंगलादेशविरुद्ध प्रतिस्पर्धा गर्ने छ।
त्यो खेलमा इरान विजयी भए नेपालले एशियाडको महिला कबड्डीतर्फ पहिलो सहभागितामै समूह उपविजेता बन्दै सेमिफाइनलमा स्थान बनाउने छ। सेमिफाइनल पुगे नेपालले कम्तिमा कास्य पदक पक्का गर्दै इतिहास रच्ने छ।