काठमाडौँ– काठमाडौँमा असोज ४ देखि १३ गतेसम्म सञ्चालन हुने साफ यू–१९ च्याम्पियनसिपको तयारी पूरा भएको छ।
अखिल नेपाल फुटबल संघ (एन्फाले) मंगलबार पत्रकार सम्मेलन गरेर प्रतियोगिताबारे जानकारी दिएको हो। प्रतियोगितामा लागि सहभागी टोलीहरू आउने क्रम शुरू भएको एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिए।
प्रतियोगितामा सहभागिताका लागि भारत, भुटान, मालदिभ्स र बंगलादेशको टोली मंगलबार काठमाडौँ आइपुग्ने छन्। पाकिस्तानको टोली भने बुधबार मात्र आउने शाहले बताए।
दशरथ रंगशालामा हुने खेलमा दर्शकका लागि साधारणतर्फ १०० र भीआईपीतर्फ ३०० रुपैयाँ टिकटदर तोकिएको छ।
प्रतियोगितामा नेपालले पहिलो खेल पाकिस्तानसँग बिहीबार खेल्ने छ। खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ। नेपाली टोली सुनिल श्रेष्ठको प्रशिक्षणमा रहेको छ।
प्रतियोगिताको समूह ‘ए’मा नेपाल र पाकिस्तानसँगै मालदिभ्स पनि छ। यस्तै भारत, बंगलादेश र भुटान समूह ‘बी’मा छन्।
दुवै समूहको शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन्। दुवै सेमिफाइनल खेल असोज १० र फाइनल खेल असोज १३ गते हुनेछ। सबै खेल दशरथ रंगशाला हुने एन्फाले जनाएको छ।
प्रतियोगिता सञ्चालनका लागि दुई करोड ७७ लाख ३२ हजार ८०० रुपैयाँ बजेट लाग्ने एन्फाको अनुमान छ।