काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधन गर्न हतार गर्न नहुने बताएका छन्।
संविधान दिवसको पूर्वसन्ध्यामा मंगलबार नेकपा एमालेद्वारा च्यासलमा आयोजित ‘सुवास र संविधान’ विषयक प्रवचन कार्यक्रममा अध्यक्ष ओलीले अहिले हतार गरेर संविधान संशोधन गर्नुपर्ने अवस्था नरहेको बताएका हुन्। हतारमा भन्दा पनि केही समय लिएर गम्भीर रूपमा छलफल गरेर मात्रै संविधान संशोधन गर्नुपर्ने उनको भनाइ थियो।
“एउटा हिसाबले संविधान संशोधन गर्ने बेला भएको छ कि छैन भन्ने कुरामा के लाग्छ भने, अहिले पनि गम्भीरताभन्दा बढी भावना, आफ्नै विचारभन्दा प्रायोजित र आयातित कुराहरूबाट प्रेसर गर्ने खालका प्रवृत्तिहरू देखिइरहेका हुनाले र अनेक प्रकारका बेठिक उद्देश्यहरू देखिएको हुनाले तत्काल समुचित ढंगले संविधान संशोधन गर्न सकिन्छ कि सकिँदैन भन्ने प्रश्नचाहिँ बिर्सन हुँदैन। त्यसकारण यसमा कुनै हतारो गर्नुपर्ने अवस्था आएको छैन,” उनले भने।
दबाब र भावनामा बगेरभन्दा आवश्यकता र औचित्य पुष्टि गर्ने गरी संविधान संशोधन गर्नुपर्नेमा उनको जोड छ। तर, संविधान संशोधन नै गर्न नहुने भन्नेमा आफूहरू नरहेको ओलीको भनाइ छ।
“तत्कालीन आवश्यकतालाई हेरेर हामीले दुईचोटि एउटा एउटा विषयमा मात्रै संविधान संशोधन गर्यौँ। अब संविधान संशोधन गर्दा हामीले अलि मिहिनेत गरेर तत्काल चाहिएको एउटा विषय मात्र होइन केही विषयहरू जो राम्रै छलफल गरेर संविधान संशोधन गर्नुपर्ने हुन्छ,” उनले भने।
‘नेम्वाङ निष्ठाको राजनीति गर्ने देशभक्त नेता’
ओलीले संविधानसभा अध्यक्ष एवं एमाले उपाध्यक्ष स्व. सुवासचन्द्र नेम्वाङ देश र जनताप्रति असाधारण निष्ठा बोकेको देशभक्त र मनैदेखि सम्मान भाव उर्लिएर आउने नेता भएको बताए। उनले सुवासलाई आत्मकेन्द्रित नभएर देश र जनता र उनीहरूको भलाइलाई केन्द्रमा राखेर निष्ठाको राजनीति गर्ने देशभक्त नेताको रूपमा स्मरण गरे।
ओलीले नेम्वाङको पाँच दशकभन्दा बढी सक्रिय राजनीतिबारे चर्चा गर्दै भने, “उहाँको निष्ठा र देशकेन्द्रित, जनकेन्द्रित र न्यायकेन्द्रित राजनीतिबाट हामीले बढी सिक्नुपर्छ। उहाँ मीठो बोल्नुहुन्थ्यो, त्यो राम्रो कुरा हो। मीठो बोल्ने मान्छे पनि बेइमान भइदियो भने? तर, उहाँ बेइमान हुनुहुन्नथ्यो। मीठो बोल्नेभन्दा ठूलो कुराचाहिँ उहाँको देशप्रति असाधारण निष्ठा थियो। देशभक्त हुनुहुन्थ्यो उहाँ। कहिल्यै पनि असान्दर्भिक र स्वार्थी कदमहरू चाल्दै चाल्नभएन। त्यस्ता कदमबाट जहिल्यै अलग रहनुभयो। देशको हितमा उहाँ अडिग रहनुभयो।”