काठमाडौँ– नेपाली राष्ट्रिय पुरुष भलिबल टोली १९औँ एशियन गेम्सको पहिलो खेलमै पराजित भएको छ।
मंगलबार सम्पन्न समूह ‘बी’को पहिलो खेलमा नेपाल बहराइनसँग ३–१ सेटले पराजित भएको हो। नेपालले पहिलो सेट २५–२० ले जितेको थियो। तर, त्यसपछि ३ सेट लगातार गुमाउँदै पराजय बेहोरेको हो। नेपालले त्यसपछिका सेट २०–२५, १८–२५ र १५–२५ ले गुमाएको थियो।
चीनको हाङझाउमा एशियन गेम्स शनिबारदेखि शुरू हुँदै छ। तर, भलिबलसहित केही समूहगत खेल भने मंगलबारदेखि शुरू भएको हो। अब नेपालले दोस्रो खेल बुधबार इरानसँग खेल्ने छ। उक्त खेल नेपालको लागि गर या मरको स्थितिमा रहने छ।