काठमाडौँ– चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो महिनामा चालु खाता १२ अर्ब रुपैयाँ बढीले बचतमा देखिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो महिनाको वित्तीय प्रतिवेदनअनुसार साउनमा १२ अर्ब ९९ करोड रुपैयाँ बचतमा रहेको हो।
अघिल्लो वर्षको सोही अवधिमा चालु खाता १५ अर्ब १३ करोडले घाटामा रहेको थियो। अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ११ करोड ८८ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा ९ करोड ८५ लाखले बचतमा रहेको केन्द्रीय बैंकले जनाएको छ।
समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर ६५.९ प्रतिशतले कमी आई २७ करोड २६ लाख रुपैयाँ कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी २ अर्ब ६५ करोड रुपैयाँले धनात्मक रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ८० करोड ३ लाख रुपैयाँ कायम भएको थियो भने खुद प्रत्यक्ष वैदेशिक लगानी १ अर्ब ४० करोड ऋणात्मक रहेको थियो।
त्यस्तै, साउनमा शोधनान्तर स्थिति ३२ अर्ब ९० करोड रुपैयाँले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १९ अर्ब ७६ करोडले घाटामा रहेको थियो। अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १५ करोड ५२ लाखले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा २४ करोड ९५ लाखले बचतमा रहेको केन्द्रीय बैंकले जनाएको छ।
त्यस्तै, विप्रेषण आप्रवाह (रेमिट्यान्स) २५.८ प्रतिशतले वृद्धि भएको छ। साउनमा १ खर्ब १६ अर्ब २ करोड रुपैयाँ भित्रिएको हो।
राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २०.३ प्रतिशतले बढेको थियो। अमेरिकी डलरमा विप्रेषण आप्रवाह २१.५ प्रतिशतले वृद्धि भई ८७ करोड ९८ लाख पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह १२.५ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ।
वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या १२.१ प्रतिशतले कमी आई ३९ हजार १५२ कायम भएको छ। त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या १९.५ प्रतिशतले कमी आई १६ हजार ४२३ कायम भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७५.४ प्रतिशतले बढेको थियो।