काठमाडौँ– सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले चिकित्सकमाथि आक्रमण गर्नेलाई सरकारले कडाभन्दा कडा कारबाही गर्ने बताएकी छिन्। मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले डाक्टरहरूको विषयमा आवश्यक छलफल गरेर छानबिन अगाडि बढ्नु पर्ने भन्दै सरकारले कानूनी कारबाही गर्ने प्रतिबद्धता जनाएकी छिन्।
बुधबार हेटौँडाको सञ्चो अस्पतालमा कार्यरत डा. विकास थापा र डा. प्रशान्त विडारीमाथि आक्रमण भएको थियो। बिरामीका आफन्तबाट भएको कुटपिटको घटनामा संलग्नलाई कारबाही गर्न माग गर्दै नेपाल चिकित्सक संघको आह्वानमा डाक्टरहरू आन्दोलित छन्। आइतबार मन्त्री शर्माले चिकित्सकमाथि आक्रमण गर्नेले कानूनबमोजिम सजाय पाउनुपर्ने भन्दै सरकार त्यसका लागि अगाडि बढ्ने बताइन्।
“हस्पिटलले आफ्नो मर्यादामा रहेर काम गर्दा पनि जनताको आक्रोशको सिकार हुनुपर्ने र डाक्टरहरूलाई शारीरिक रूपमा नै आक्रमण गर्ने जुन अराजकपूर्ण अवस्था देखिएको छ, यो आफैँमा बेठिक छ। यो समस्याको समाधान हुनुपर्छ। नेपालको कानूनबमोजिम दोषीले सजाय पाउनु पर्छ,” उनले भनिन्, “यो डाक्टरहरूको विषयमा आवश्यक छलफल गरेर छानबिन गरेर अगाडि बढ्नु पर्छ। कानूनी कारबाहीको लागि सरकार अगाडि बढ्छ।”
यस्तै, उनले भदौ २९ गते बसेको मन्त्रिपरिषद्को बैठकले अपर अरूण जलविद्युत् परियोजनाका लागि विश्व बैंकबाट प्राप्त हुने ६ मिलियन अमेरिकी डलरको सहायता स्वीकार गर्ने निर्णय भएको पनि जानकारी दिइन्। उनका अनुसार बैठकले कर प्रणालीको सुधारका लागि पूर्वमन्त्री विद्याधर मल्लिकको संयोजकत्वमा एक समिति गठन गर्ने, मोरोकोको मारकेसमा आयोजना हुने विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्राको कोषको संयुक्त वार्षिक बैठकमा भाग लिन अर्थमन्त्री नेतृत्वको प्रतिनिधि मण्डललाई स्वीकृत दिने निर्णय भएको छ।
बैठकले राष्ट्रिय सिँचाइ नीति, २०८० स्वीकृत गर्ने र नेपाल नागरिकता (तेस्रो संशोधन) नियमावली, २०८० स्वीकृत गर्ने निर्णय गरेको छ। उनका अनुसार सरकारले साल्ट ट्रेडिङ कर्पोरेसन र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई ५० प्रतिशत भन्सार महसुल छुट गरी १०/१० हजार मेट्रिक टन चिनी आयात गर्न स्वीकृति दिएको छ। गृह मन्त्रालयअन्तर्गत अध्यागमन विभाग, राष्ट्रिय परिचयपत्र विभागमा २०८०/८१ का लागि २१ वटा अस्थायी दरबन्दी स्वीकृत गर्नेलगायतका निर्णय भएको उनले जानकारी दिइन्।