काठमाडौँ– काठमाडौँ महानगरपालिका–३२ तीनकुनेस्थित गैह्रीगाउँको दिव्य सःमिलभित्रको कटेरोमा शुक्रबार राति एकै परिवारका तीनसहित चार जनाको बीभत्स हत्या भएको छ।
टाउको र शरीरका विभिन्न भागमा धारिलो हतियारले प्रहार भएको अवस्थामा प्रहरीले चार जनाको शव फेला पारेको थियो। सोही काष्ठ मिलमा गेटपालेको काम गर्ने दोलखाका ५५ वर्षीय कुमार भुजेल, उनकी श्रीमती ५२ वर्षीय अम्बिका भुजेल, कुमारकी आमा ७६ वर्षीय सुभद्रा भुजेल र मोरङ बेलबारीका २० वर्षीय नवीन राईको हत्या भएको छ।
हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले सोही घरमा बस्ने २८ वर्षीय दीपेन्द्र राईलाई पक्राउ गरेको छ। राई मृतक नविनका साथी रहेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उनी शरीरमा रगत लागेको अवस्थामा ट्याक्सी चढेर आफैँ प्रहरीमा पुगेका थिए।
वीभत्स रूपमा गरिएको हत्याको कारण खुलिसकेको छैन। प्रहरीले यस घटनामा काबिल अनुसन्धान अधिकृत र तालिमप्राप्त कुकुर परिचालन गरेको र सबै नाकामा निगरानी बढाएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापाले बताए।
सामान्य मानिसको हत्या भएकाले ठूलो गिरोह तथा कुनै आर्थिक लाभका लागि हत्या नभएको प्रारम्भिक निष्कर्ष निकालिएको प्रमुख थापाले बताए। यद्यपि यस्ता सामान्य मानिसको हत्या पछिल्ला समयमा देखिँदै आएको छ।
गएको वैशाख ७ गते पनि एउटा यस्तै घटना काठमाडौँमै घट्यो। कपनस्थित सरस्वतीनगरमा भाँडा व्यवसाय गर्दै आएकी ३५ वर्षीया नीरा पाण्डे आचार्यको हत्या भएको थियो। उक्त हत्यामा पनि ठूलो गिरोह संलग्न थिएन। सामान्य लुटपाटका लागि उनको हत्या भएको थियो।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले घटनाको ११औँ दिनमा झापामा पक्राउ परेका भक्तपुर बस्ने विनोद विकले उनको हत्या गरेको पत्ता लगायो।
सीआईबीका एसएसपी दिनेश आचार्य लुटपाटका क्रममा निराले प्रतिकार गरेपछि भाँडा पसलमै भएको चक्कुले शरीरका विभिन्न ठाउँमा घोचेर विकले उनको हत्या गरेको बताउँछन्। शुरूमा आरोपी विक क्यासिनोमा काम गर्ने गरेका थिए। पछि काठमाडौँमा बाउन्सरको रूपमा जागिर खाए। जुवा खेल्ने क्रममा ऋण लागेपछि उनी लुटपाटमा संलग्न भएको र त्यही क्रममा नीराको पसलमा पुगेर हत्या गरेका थिए।
अघिल्लो वर्ष पुसमा अर्को एउटा बीभत्स हत्याले मानिसको मन नै अमिलो बनाएको थियो। मानिसले पैसाको लोभमा जस्तो पनि हर्कत गर्नसक्छ भन्ने प्रमाण हो काठमाडौँको तारकेश्वर नगरपालिकाका ९० वर्षका व्यक्तिको हत्या। त्यसको अघिल्लो महिना मंसिर २० गते नगरपालिका–६ पुसलबाट ९० वर्षका डिल्ली पुतुवार हराएको भन्ने सूचना नेपाल प्रहरीमा आइपुग्यो।
उक्त सूचनाका आधारमा तत्कालै प्रहरी टोली परिचालन गरेर खोजतलास गर्दा नगरपालिका–३ पारीवनपाखा सामुदायिक वनको खोल्सामा वृद्धाको शव फेला पर्यो। टाउको र मुखमा चोटैचोट भएको अवस्थामा शव फेला परेको थियो। गम्भीर प्रकृतिको घटना भएकाले सूक्ष्म अध्ययन गरी काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले घटनाको सफल अनुसन्धान गर्यो।
उनको हत्यामा सोही नगरपालिका–६ का ३९ वर्षीय नरेन्द्र शिवभक्ति संलग्न भएको खुल्यो। उनलाई पक्राउ गरी अनुसन्धान थालिएको थियो। उनले चिसापानी चप्पल कारखानामा राहत दिइराखेको छ भनेर लोभमा पारेर जङ्गलमा लगी हत्या गरेको खुल्नेको प्रहरीले सार्वजनिक गरेको थियो।
उक्त सामुदायिक वनको खोँचमा पुगेपछि नरेन्द्रले एकछिन बसेर चुरोट खाउँ भनेपछि सँगै बसेको र सोही क्रममा उनको ढुङ्गाले टाउको र गर्धनमा हानेर हत्या गरेका प्रहरी बताउँछन्। उनीसँग भएको ४५ हजार लिएर नरेन्द्र फरार भएका थिए।
यी तीन घटना प्रतिनिधिमूलक हुन्। यी घटनामा सामान्य नागरिक हत्याका शिकार भएका छन्। धेरैजसो घटना रिसिइबी र सामान्य कुरा सहन नसक्दा भएका प्रहरी प्रवक्ता डीआईजी कुवेर कडायतले बताए। शनिबारको घटना पनि प्रारम्भिक अनुसन्धानमा रिसिइबीले भएको हुनसक्ने उनले बताए।
त्यसका अलावा आर्थिक समस्याले पनि घटना घटिएका कतिपय घटनाले देखाएका प्रहरीको दाबी छ। काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले भने, “अहिले मानिस सानो कुरा पनि सहन नसक्ने अवस्थामा देखिएका छन्। मान्छेलाई धेरै कुराले गाँजेको छ, वैदेशिक रोजगार बढ्दो छ, आर्थिकसँगै शिक्षा तथा धेरै कारणले असर गरिरहेको छ। सामाजिक सञ्जालका कारण संसारको पहुँचमा पुगेकाले मान्छेले राम्रो कुरा ग्रहण गर्दैन र नराम्रो कुरा ग्रहण गर्ने अवस्थाले पनि घटना बढ्दो छ।” उनी आवेगमा आएर गरिने क्रियाकलापले समाज गाल्दै गएको बताउँछन्। नैतिक शिक्षा बढाउन जरुरी रहेको पनि उनले बताए।
प्रहरीको तथ्यांकमा आर्थिक वर्ष २०७९/८० मा ५०१ जनाको हत्या भएको छ। जसमा ३८ वटा घटना काठमाडौँ उपत्यका भएका थिए। ९८२ वटा व्यक्ति हत्या प्रयासका घटना भएको छ। त्यसमध्ये ज्यान मार्ने उद्योगका १३६ घटना काठमाडौँमा भएका पाइएको छ।
त्यसको अघिल्लो वर्ष आव २०७८/७९ मा ५९० वटा व्यक्ति हत्याका घटना भएको छ। त्यसमा सबैभन्दा बढी धारिलो हतियार प्रहार गरेर भएको छ। काठमाडौँमा मात्रै ५० वटा घटना भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। ज्यान मार्ने उद्योगतर्फ एक हजार ७९ घटनामध्ये उपत्यकामा मात्रै १३६ घटना भएको पाइएको छ।