Saturday, September 30, 2023

-->

अस्पतालमा बिरामीको चाप: स्वास्थ्य उपकरण भने डेढ वर्षदेखि प्रयोगविहीन

बिरामीको उपचारका लागि आवश्यक पर्ने करिब १७ करोड रुपैयाँ बढीका स्वास्थ्य उपकरण भने अस्पतालका कोठामा थन्काइएको छ। जनशक्ति नहुँदा डेढ वर्षदेखि ती उपकरण प्रयोगमा आउन सकेका छैनन्।

अस्पतालमा बिरामीको चाप स्वास्थ्य उपकरण भने डेढ वर्षदेखि प्रयोगविहीन

लुम्बिनी– लुम्बिनी प्रादेशिक अस्पतालले प्रदान गर्ने विशेषज्ञ सेवासहितको सेवा नाम मात्रैको बनेको छ।

यस अस्पतालमा बहिरंग (ओपीडी) विभागमा दैनिक ५०० बिरामीको परीक्षण र उपचार गर्ने क्षमता छ। तर, यहाँ दैनिक दुई हजार ५०० जनासम्म बिरामी उपचारका लागि आउछन्। 

अस्पतालले विशेषज्ञ सेवासहित दुई दर्जन बढी स्वास्थ्य सेवा दिने जनाएको छ। यहाँ स्वास्थ्य सेवाका लागि मुटु, मिर्गौला, पाचन प्रणाली, कलेजो, आन्द्रा र पेटको समस्या भएका बिरामी धेरै आउँछन्। तर, उनीहरूले सहज रूपमा उपचार पाउन सकेका छैनन्। बिरामीको उपचारका लागि आवश्यक परीक्षण र उपचारको समेत सहज प्रबन्ध नहुँदा निजी तथा जिल्ला बाहिरका अस्पतालमा पुगेर महँगो सेवा लिनुपर्ने बाध्यता छ। 

यस्ता बिरामीको उपचारका लागि आवश्यक पर्ने करिब १७ करोड रुपैयाँ बढीका स्वास्थ्य उपकरण भने अस्पतालका कोठामा थन्काइएको छ। आवश्यक जनशक्ति र सञ्चालनका लागि आवश्यक पर्ने थप उपकरणको व्यवस्था नहुँदा डेढ वर्षदेखि प्रयोगमा आउन सकेका छैनन्।

अस्पतालले मुटुसम्बन्धी उपचार पनि शुरू गरेको छ। यो जटिल रोगका लागि अस्पतालमा विशेषज्ञ चिकित्सकले सेवा दिँदै आएका छन्। तर मुटुको उपचारका लागि परीक्षण र थप उपचारका लागि महत्वपूर्ण मानिएको ‘क्याथल्याब’ मेसिन विगत १० महिनादेखि अस्पतालको एउटा कोठामा थन्काएर राखिएको छ।

लुम्बिनी प्रदेश सरकारले गत वर्ष १० करोड रुपैयाँमा खरिद गरेर प्रादेशिक अस्पताललाई उपलब्ध गराएको मुटुको उपचारमा प्रयोग हुने ‘क्याथल्याब’ मेसिन सञ्चालनका लागि आवश्यक जनशक्ति व्यवस्थापन नहुँदा थन्किएको हो ।

यससँगै प्रादेशिक अस्पतालमा ‘ग्यास्ट्रोइन्टेरोलोजिस्ट’को सेवा प्रदान गर्ने उद्देश्यले करिब डेढ वर्षअघि नै ‘ईआरसीपी’ मेसिन र ‘मोटराइज्ड स्पाइलर इन्टेरोसेपी’ मेसिन पनि खरिद गरेर राखिएको छ। यी स्वास्थ्य उपकरणमध्ये ईआरसीपी मेसिन बिरामीको पित्त तथा कलेजोबाट निस्कने नलीको भागलाई रोग पहिचानका लागि दूरविनबाट हेर्ने र कुनै ठाउँमा पत्थरी रोकिएको रहेछ भने निकाल्ने तथा उपचार गर्ने प्रविधि हो। यस्तै मोटराइज्ड स्पाइलर इन्डोसकोपी भने बिरामीको आन्द्राको पूरै भागबाट हेरेर रोग पत्ता लगाउने हो। यी उपकरण संघीय सरकारको सहयोगमा छ करोडभन्दा बढी लागतमा खरिद गरिएका हुन्।

यी उपकरण सञ्चालनमा ल्याउन थप केही उपकरण आवश्यक पर्ने र ती उपकरण आएपछि जनशक्तिको व्यवस्थापन गरेर सञ्चालनमा ल्याइने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट सुदर्शन थापाले बताए। आधुनिक प्रकारका यी उपकरणसहितको यो सेवा सञ्चालन गर्न ईआरसीपी, इन्स्टरोस्कोपी विषयमा तालिम लिएको डीएम ग्यास्ट्रोइन्टेरोलोजिस्ट आवश्यक हुन्छ। 

अहिले नयाँ समिति आएर यसका सरोकारवालासँग ताकेता गरेपछि अबको केही महिनामा क्याथल्याब सञ्चालन ल्याउने गरी तयारी भएको अस्पताल विकास समितिका अध्यक्ष अजयमान श्रेष्ठले बताए। क्याथल्याब सञ्चालनका लागि कार्डियोलोजिस्टसहितका स्वास्थ्यकर्मीको व्यवस्थापन भएको तर आपत्कालीन अवस्थाको सेवा यसबाट तत्काल दिन सकिने अवस्था नभएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट थापाको भनाइ छ। “मुटुको उपचार गर्ने विशेषज्ञ डाक्टरले केही समयदेखि सेवा दिइरहनुभएको छ, अझै एकजना विशेषज्ञ प्रदेश सरकारबाट प्रबन्ध हुँदैछ,” उनले भने, “प्रदेश लोकसेवा उत्तीर्ण गरेर आएका स्टाफ नर्सको जनशक्तिलाई थप तालिमको व्यवस्था गरेर क्याथल्याब छिट्टै नै सञ्चालन गर्ने तयारीमा छौँ।”

हृदयाघात भएर सामान्य अवस्थामा फर्केका र हृदयाघातको सामान्य लक्षण देखिएका बिरामीको परीक्षण गर्नेगरी क्याथल्याब चलाउने तयारी भइरहेको मेसु थापाको भनाइ छ। “क्याथल्याब मेसिन सञ्चालनमा ल्याउँदा तत्काल एन्जिओप्लास्ट र एन्जिओग्राफको सेवा विस्तार गर्ने तयारीमा छौँ,” उनले भने, “यसबाट मुटुको ब्लक खोल्ने र पेसमेकर राख्ने सम्मको सेवा सञ्चालन हुनेछ।” 

बिरामीको उपचारका लागि क्याथल्याब खरिद गरेर लामो समयसम्म पनि सञ्चालनमा आउन नसक्नुको मुख्य कारण आवश्यक जनशक्तिको अभाव रहेको प्रदेश सरकार, स्वास्थ्य मन्त्रालयका सचिव डा. जनार्दन पन्थ‍ीले बताए। उक्त सेवा सञ्चालनका लागि केही जनशक्ति व्यवस्थापन भइसकेको र अपुग थप जनशक्ति पनि प्रदेश सरकारका तर्फबाट व्यवस्थापनका लागि प्रक्रियाअघि बढिसकेकाले करिब छ महिनाभित्रमा सञ्चालन गर्नेगरि थप प्रक्रिया अगाडि बढाउन निर्देशन दिइसकेको उनको भनाइ छ। 

“म सचिवको जिम्मेवारीमा आएपछि क्याथल्याब सञ्चालनका लागि आवश्यक प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको छु”, उनले भने, “बजेट नपुग भएको भन्ने जानकारी भएपछि बजेटको प्रबन्ध गरेर पठाइ सकिएको छ, छिट्टै नै सञ्चालनमा आउँछ।”

सर्वसाधारणका लागि निःशुल्क ओपीडी सेवा, अति विपन्नलाई बेडमा समेत छुट र बीमाको समेत प्रबन्ध गरिएकाले अहिले लुम्बिनी प्रादेशिक अस्पतालमा सर्वसाधारणको आकर्षण बढाएको छ। यद्यपि नसर्ने प्रकारका गम्भीर रोगको परीक्षण र उपचार दुवै प्रभावकारी हुन सकिरहेको छैन।


सम्बन्धित सामग्री