काठमाडाैँ– प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले अवैध सुन तस्करीको सम्बन्धमा पूर्वसहमतिअनुसार उच्चस्तरीय छानबिन आयोग बनाउने प्रक्रिया अघि बढेको बताएका छन्।
शुक्रबार प्रतिनिधिसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन्। उनले अवैध सुन तस्करीको सम्बन्धमा सीआईबीले अनुसन्धान पूरा गरी प्रतिवेदन बुझाइसकेको बताउँदै यसअघि भएको सहमतिअनुसार उच्चस्तरीय छानबिन आयोग बनाउने प्रक्रिया अघि बढेकोसमेत जानकारी गराए। उनले शिर्ष राजनीतिक दलहरूबीच यसअघि असोज ५ गतेबाट सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन गर्न उच्चस्तरीय छानबिन आयोग बनाउने सहमति भएको थियो।
उनले भने, "अवैध सुन तस्करीको सम्बन्धमा सीआईबीले अनुसन्धान पूरा गरी प्रतिवेदन बुझाइसकेको छ। यसअघि भएको सहमतिअनुसार उच्चस्तरीय छानबिन आयोग बनाउने प्रक्रिया अघि बढेकोसमेत यस सम्मानित सदनलाई जानकारी गराउन चाहन्छु।"
याे पनि: सीआईबीको सुनकाण्ड अनुसन्धानः दावाको राजनीतिक कनेक्सन ‘हेर्दै नहेरी’ बुझाइयो प्रतिवेदन
प्रधानमन्त्री दाहालले नेपाली कांग्रेसका नेता महेन्द्र यादवमाथि भएको सांघातिक खुकुरी प्रहारलाई सरकारले गम्भीर रुपमा लिएको भन्दै आक्रमणकारीलाई प्रचलित कानूनबमोजिम कारबाही प्रक्रिया अघि बढेकोसमेत जानकारी गराए। उनले यस प्रकारका आक्रमणका घटना दोहोरिन नदिन र शान्ति सुव्यवस्था मिलाउन सरकार दृढ र प्रतिबद्ध रहेको पनि बताए।
प्रधानमन्त्री दाहालले कान्ति बाल अस्पतालमा भदौ १८ गते बेलुकी उपचारका लागि भर्ना भएकी मकवानपुर स्थायी ठेगाना भइ हाल कामनपाको बाफल बस्ने पाँच वर्षीया बालिका रेजिशा गोपालीको आकस्मिकमा उपचारका क्रममा मृत्यु भएको सम्बन्धमा पनि सदनलाई जानकारी गराए। उनले घटनाको छानबिन सम्बन्धमा बनेको तीन सदस्यीय छानबिन समितिको प्रतिवेदनले अस्पतालको आकस्मिक कक्षमा खटिएका जनशक्तिकै भरमा पनि विषयवस्तुप्रति संवेदनशीलता प्रदर्शन हुन नसकेको देखाएको बताए। साथै,उनले सरकारको तर्फबाट यस्ता घटनामा दोषी पाए कारबाहीको दायरामा ल्याइने तथा आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन थप कदम चालिने विश्वास व्यक्त गरे।