काठमाडौँ– काठमाडौँ र ललितपुरका केही स्गानमा शुक्रबारदेखि लगातार तीन दिन विद्युत् सेवा अवरुद्ध हुने भएको छ।
नेपाल विद्युत् प्राधिकरणले शुक्रबार सूचना जारी गर्दै सेवा अवरुद्ध हुने जानकारी दिएको हो।
टेकु सबस्टेशन स्तरोन्नती गरी टेकु–स्युचाटार ६६ केभी लाइनमा चार्ज गर्नेगरी काम भइरहेको प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार त्यसका लागि ६६ केभी स्युचाटार–टेकु लाइन शुक्रबार बिहान ८ देखि सोमबार बिहान ८ बजेसम्म ‘सटडाउन’ गर्नुपर्नेछ।
त्यसैगरी ६६ केभी स्युचाटार–पाटन प्रसारण लाइन शनिबार बिहान ९ देखि साँझ ५ बजेसम्म र ६६ केभी स्युचाटार–के३ लाइन शनिबार दिउँसो ३ देखि साँझ ५ बजेसम्म सटडाउन गरिने प्राधिकरणले जनाएको छ।
तीन वटा प्रसारण लाइन सटडाउन गर्दा काठमाडौँ र ललितपुरका विभिन्न क्षेत्रमा विद्युत् प्रसारण प्रभावित हुने भएको छ।