मेलम्ची– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाको स्थलगत अवलोकन गर्न शनिबार मेलम्ची आइपुगेका छन्।
प्रधानमन्त्री दाहाललाई मेलम्चीमा स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत, बागमतीका भौतिक पूर्वाधार मन्त्री युवराज दुलाललगायतले स्वागत गरेका थिए। गौरवको आयोजनाको प्रभावकारी सञ्चालन तथा निर्माणमा तीव्रता ल्याउन स्थलगत अवलोकनका लागि आएको उनले बताएका छन्।
आयोजनाको स्थलगत अवलोकनपछि प्रधानमन्त्री दाहालले स्थानीय जनप्रतिनिधि र नागरिकसँग अन्तरक्रिया गरेका छन्। २०७८ असार १ गते मेलम्ची खोलामा बाढी र पहिरो आउँदा खानेपानी आयोजनाको मुहानमा क्षति पुगेको थियो।
बर्खा सकिएपछि मुहान क्षेत्र मर्मत गरेर आयोजना पुनः सञ्चालन गरिएको थियो। काठमाडौँमा खानेपानी अभावको दिगो एवं दीर्घकालीन समाधान गर्ने उद्देश्यले मेलम्ची खानेपानी आयोजना निर्माण गरिएको हो। सिन्धुपाल्चोकको हेलम्बुअन्तर्गत मेलम्ची खोलामा मुहान (हेडवर्क) निर्माण गरी सुन्दरीजलसम्म २६.५ किलोमिटर लामो सुरुङ निर्माण गरेर पानी उपत्यकामा लगिएको छ।
सुरुङबाट दैनिक १७ करोड लिटर पानी काठमाडौँमा झर्ने गरेको छ। २०७७ चैतमा मेलम्चीको पानी काठमाडौँ उपत्यकामा वितरण थालिएको थियो। २०७८ असारमा मेलम्ची खोलामा आएको बाढी र पहिरोले क्षति गरेपछि पानी वितरण रोकिएको थियो।
मुहान मर्मत गरेर २०७८ चैतदेखि पुनः मेलम्चीको पानी वितरण थालिएको थियो।