Saturday, April 20, 2024

-->

साउदी जालान् मेस्सी?

अल नसरबाट खेलिसकेका मेस्सीका प्रतिद्वन्द्वी रोनाल्डो साउदी प्रो–लिग विश्वकै उत्कृष्ट लिगमा पर्न सक्ने दाबी गर्छन्। त्यसका लागि साउदीले मेस्सीजस्ता ठूला नामका खेलाडीलाई भित्र्याउनुपर्ने उनको तर्क छ।

साउदी जालान् मेस्सी

साउदी अरब एफए अध्यक्ष यासेर अल–मिसेहलले अर्जेन्टिनाका सुपरस्टारलाई मध्यपूर्वमा ल्याउने आफ्नो रुचि सार्वजनिक गरेसँगै लिओनल मेस्सीको ट्रान्सफर गाथाले यस समरमा मोड लिएको छ।

गोल डटकमको रिपोर्टअनुसार यासेरले एसएससी न्यूजसँग कुरा गर्दै मेस्सीलाई साउदी प्रो–लिगमा ल्याउन इच्छुक रहेको बताएका छन्। "व्यक्तिगत रूपमा म मेस्सीलाई साउदी अरबको लिगमा हेर्न चाहन्छु। यसले क्रिस्टियानो रोनाल्डोले बनाएको ठूलो छलाङ पूरा हुने छ," उनले भनेका छन्।

फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)का प्रशिक्षक क्रिस्टोफ गाल्टियरले विश्वविजेता मेस्सी आफ्नो क्लबमा अर्को सिजन नरहने प्रष्ट पारिसकेका छन्। अन्तिम पटक मेस्सीले शनिबार क्लेमोन्टविरुद्ध फ्रान्सेली लिग वानमा खेल्ने उनको भनाइ छ। विश्वकै सबैभन्दा उत्कृष्ट खेलाडीलाई प्रशिक्षण दिन पाएकोमा आफूले गर्व महसुस गरेको सुनाएका थिए।

कीर्तिमानी सात बालोन डी’ओर अवार्ड जितेका ३५ वर्षीय मेस्सी सन् २०२१ मा क्याट्लान क्लब बार्सिलोना छाडेर पीएसजी भित्रिएका थिए। उनले अर्जेन्टिनालाई कतारमा विश्वकपको उपाधि दिलाएका थिए। पीएसजीलाई उनले दुई पटक फ्रान्सेली लिग वानको उपाधि पनि जिताइसकेका छन्। पीएसजीका लागि यस सिजनमा मेस्सीले २० गोल गरे भने त्यति नै एसिस्ट दिएका छन्। मेस्सीसँग पीएसजीले गरेको अनुबन्ध सम्झौता जुन ३० सम्म कायम छ।

सम्झौता सकिनुअघि नै मेस्सीले आफ्नो झुकाव साउदीतिर रहेको देखाइसकेका थिए। गत महिना साउदीको अनधिकृत यात्रा गरेपछि उनलाई दुई हप्ताका लागि निलम्बन गरिएको थियो। स्रोतलाई उल्लेख गर्दै रोयटर्स अर्जेन्टिनी कप्तान मेस्सीलाई अर्को सिजन साउदीको क्लब अल–हिलालले अनुबन्ध गर्न औपचारिक प्रस्ताव गरेको समाचार प्रकाशित गरिसकेको छ।

यदि, मेस्सी साउदी पुगे भने त्यो फुटबल इतिहासमा महत्त्वपूर्ण क्षण हुने छ। उनले रोनाल्डोको पाइला पछ्याउने छन् र मध्यपूर्वमा एक ठूलो खेलाडी थप हुने छ। यस क्षेत्रको फुटबल परिदृश्य पनि परिवर्तन हुने छ। यसले साउदीको बढ्दो आर्थिक शक्तिलाई पनि बढवा दिन सक्छ, जसले हालका वर्षहरूमा तेल बेचेर कमाएको धन खर्चेर फुटबलमा ठूलो लगानी गरिरहेको छ।

मेस्सीको सम्भावित आगमनले अन्य शीर्ष खेलाडीहरूलाई पनि साउदी लिगमा आकर्षित गर्न सक्छ। ३८ वर्षीय रोनाल्डो इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडसँगको सम्झौता अन्त्य गर्दै गत वर्ष साउदीको क्लबमा अबद्ध भएका थिए। रोनाल्डोले साउदीको क्लबसँग साढे दुई वर्षको सम्झौता गरेका छन्। रोनाल्डो २०२५ सम्म साउदी अरब क्लबमा रहने छन्।

अल नसरबाट खेलिसकेका मेस्सीका प्रतिद्वन्द्वी रोनाल्डो साउदी प्रो–लिग विश्वकै उत्कृष्ट लिगमा पर्न सक्ने दाबी गर्छन्। तर, त्यसका लागि साउदीले मेस्सीजस्ता ठूला नामका खेलाडीलाई भित्र्याउनुपर्ने उनको तर्क छ।

"गर्न चाहेको काम जारी रहन्छ भने साउदी लिग विश्वकै शीर्ष पाँच लिगमा एक हुन सक्छ भन्ने मलाई लाग्छ,' रोनाल्डोले भनेका छन्। मेस्सीसँगै रियल मड्रिडमा १४ वर्ष बिताइसकेका अर्का सुपरस्टार करिम बेन्जेमाले पनि यसै सिजनको अन्त्यमा स्पेन छाड्ने निश्चित भएको बताइएको छ। सन् २००९ मा लियोनबाट रियल पुगेका उनको पनि अबको गन्तव्य साउदी नै रहने समाचारहरू प्रकाशित भइरहेका छन्।

उनीहरूसँगै रियलका मिडफिल्डर लुका मोड्रिच पनि साउदी क्लबमा आबद्ध हुने चर्चा चलिरहेको छ।


सम्बन्धित सामग्री