Thursday, March 28, 2024

-->

गलकोट दरबार संरक्षणमा स्थानीयको चासो, पर्यटकीयस्थल बनाउने योजना

बागलुङको पुरानो सदरमुकाम, गलकोट दरबार र खुला मूर्तिकला संग्रहालयका कारण हरिचौर चर्चामा छ। इतिहास बोकेको गलकोट दरबार पर्यटक बोलाउने प्रमुख माध्यम बनेको छ।

गलकोट दरबार संरक्षणमा स्थानीयको चासो पर्यटकीयस्थल बनाउने योजना

गलकोट– बागलुङको पुरानो सदरमुकाम रहेको गलकोटको हरिचौर बजारमा तत्कालीन मल्ल राजाले राज्य गरेको गलकोट दरबार पर्यटकीय हब बनेको छ।

हरिचौरको मुख्य आकर्षक भनेको गलकोट राज्य सञ्चालन भएको गलकोट दरबार नै हो। पुरानो सदरमुकाम, गलकोट दरबार र पर्यटकीय गन्तव्यका रूपमा थपिएको टेउवाको खुला मूर्तिकला संग्रहालयका कारण अहिले हरिचौर चर्चामा रहेको छ।

तत्कालीन राजा भरतबम मल्लका नाति मञ्जेशबम मल्लका अनुसार जीर्ण बन्दै गएको दरबारका पाँचवटा झ्याल पुरानै शैलीमा फेरिएको छ। वरपर फैलिएको बगैँचामा अहिले सुन्तलाका बोटसमेत हुर्किरहेका छन्। “दरबार १०२ वर्ष पुरानो हो। सिमेन्टको प्रयोग गरिएको छैन।

नितान्त स्थानीय कच्चा सामग्रीको प्रयोग गरेर बनाइएको छ,” मल्लले भने, “दरबारको विषय समेटिएको सूचना पार्टी राख्ने, पुरानो पोखरी पुनः निर्माण गर्ने र दरबार क्षेत्रमा भएको फलफूलको बोटलाई व्यवस्थित गर्ने योजना छ।” बिदाको समयमा दरबार घुम्न आउनेहरू बढिरहेको उनले बताए। हरिचौर बजारको इतिहास बोकेको गलकोट दरबार पर्यटक बोलाउने प्रमुख माध्यम बनेको छ।

अहिले गलकोट दरबारमा आउने पर्यटकको संख्या वृद्धि भएको छ। पछिल्लो समय दरबार संरक्षणमा स्थानीय अग्रसर बनेका छन्। हजुरबाले राज्य गरेको स्थानलाई पर्यटकीय केन्द्र बनाउन आफूले काम गरिरहेको र गाउँलेले पनि सहयोग गरिरहेको उनको भनाइ छ।

“दरबार नजिकै माछापोखरी थियो रे, त्यसैले अहिले सम्झनाका लागि माछापोखरी बनाएको हुँ। यहाँ रंगिन माछा छन्, जुन खानका लागि भन्दा पर्यटक आकर्षित गर्नका लागि हो,” मल्लले भने, “दरबारको रेखदेख गर्ने जिम्मा मेरै काँधमा छ, दरबारलाई पुरानै अवस्थामा राख्न व्यक्तिगत खर्चमा काम गरिरहेको छु।”

गलकोट दरबार र जग्गा मल्लकी आमा सरोजा मल्लको नाममा छ। २०३९ मा राजा भरतबमको निधन भएको थियो। त्यसपछि दरबार संरक्षणको जिम्मा छोरा माधवबम मल्लको काँधमा आएको थियो। परिवारसहित दरबारमा बस्दै आएका मल्लको २०५९ वैशाखमा हत्या भएको थियो। त्यसपछि मल्ल परिवार विस्थापित भएर काठमाडौँ गएका थिए।

१९७९ सालमा ढुंगा, माटो, इँटा र काठ प्रयोग गरेर कलात्मक शैलीमा बनेको यो दरबार हेर्न, फोटो खिच्न र टिकटक बनाउनका लागि बागलुङ बजार, चितवन, काठमाडौँ र नेपालका विभिन्न क्षेत्रबाट घुम्न आउने गरेका छन्। तस्वीरमा मात्रै देखिएको गलकोट दरबार प्रत्यक्ष अवलोकन गर्दा निकै फरक अनुभूति भएको दीलिप प्रतेलले सुनाए।

“टिकटक र सामाजिक सञ्जालमा देखिएको गलकोट दरबार प्रत्यक्ष अवलोकन गर्ने अवसर मिल्यो,” प्रतेलले भने, “यसको पुनः निर्माण गर्न आवश्यक देखेँ। दरबार संरक्षण र प्रचार गर्न सके धेरै पर्यटक बोलाउन सकिने सम्भावना रहेछ।” २०१७ सालसम्म राज्य सञ्चालन गरिरहेको गलकोट राज्य सञ्चालनसमेत भएको स्थानमा पछि बागलुङको जिल्ला सदरमुकाम रहेको थियो।

२०१९ सालमा सदरमुकाम हरिचौर बजारबाट बागलुङ बजार सारिएको हो। पर्यटकीयस्थल घुम्टेपहाडको काँधमा रहेको गलकोट दरबार, हरिचौर बजार, गाईघाट झरना र गलकोटकै सहस्राधारा झरनाले गलकोटमा पर्यटकलाई आकर्षित गरिरहेको गलकोट नगरपालिकाका प्रवक्ता हेमन्त भण्डारीको भनाइ छ। 


सम्बन्धित सामग्री