Friday, April 19, 2024

-->

प्रधानमन्त्री दाहाल भारत भ्रमणमा जाँदै, बिहीबार मोदीसँग भेटवार्ता

भ्रमणका क्रममा नेपालको ऊर्जा तथा जलविद्युत्‌को क्षेत्रमा भारतीय लगानीको प्रवर्द्धन गर्ने, व्यापार तथा पारवहन एवं हवाई मार्गलगायत विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।

प्रधानमन्त्री दाहाल भारत भ्रमणमा जाँदै बिहीबार मोदीसँग भेटवार्ता

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज चारदिने भारत भ्रमणमा जाँदैछन्। दिउँसो २:५० बजे नेपाल एयरलाइन्सको नियमित उडानबाट भारत जान लागेका हुन्।  

पुस १० मा तेस्रो पटक प्रधानमन्त्री बनेपछि दाहालको यो पहिलो विदेश भ्रमण हो। प्रधानमन्त्री दाहालको भ्रमण टोलीमा ५ मन्त्री, सरकारी कर्मचारी ४७ जना, उद्योगी व्यावसायी ४१ जना, डेढ दर्जन सचिव तथा सहसचिव र मिडिया प्रतिनिधि सहभागी हुनेछन्।

दिल्लीस्थित होटल आईटीसी मौर्यमा आजै भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल र विदेश सचिव विनयमोहन क्वात्रासँग छुट्टाछुट्टै भेटवार्ता हुनेछ। प्रधानमन्त्री दाहाल र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच बिहीबार बिहान ११ बजे हैदराबाद हाउसमा भेटवार्ता हुने तालिका छ।

त्यसपछि प्रतिनिधिमण्डलस्तरको बैठकमा दुवै प्रधानमन्त्री सहभागी हुनेछन्। प्रधानमन्त्री दाहालले भोलि नै भारतका राष्ट्रपति द्रौपदी मुर्मू र उपराष्ट्रपति जगदीप धनखडसँग पनि भेटवार्ता गर्नेछन्।

शुक्रबार प्रधानमन्त्री दाहाल मध्यप्रदेशको उज्जैन र इन्दोर जानेछन्। चौथो दिन शनिबार इन्दोरमा रहेको विशेष आर्थिक क्षेत्रको भ्रमण गर्नेछन्। अपराह्न १ बजे उनी त्यहाँबाट दिल्ली र दिल्लीबाट अपराह्न ४:२० मा नेपाल एयरलाइन्सको विमानबाट काठमाडौँ फर्कने कार्यक्रम छ। 

भ्रमणका क्रममा नेपालको ऊर्जा तथा जलविद्युत्को क्षेत्रमा भारतीय लगानीको प्रवर्द्धन गर्ने, व्यापार तथा पारवहन एवं हवाई मार्गका बारेमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ। महाकाली नदीमा नेपाल र भारत जोड्ने मोटरेबल तथा केही झोलुंगे पुल निर्माणका बारेमा पनि सहमति हुनेछ।

यस्तै, नेपाल र भारतबीचको व्यापार घाटालाई कम गर्ने तथा कृषि उपजलाई विना अवरोध भारतीय बजारमा प्रवेश गराउने विषयमा पनि महत्त्वपूर्ण सहमति गर्ने तयारी छ। 


सम्बन्धित सामग्री