Thursday, April 25, 2024

-->

सरकारको आर्थिक सर्वेक्षण भन्छ– पुँजीगत खर्च नबढ्दा आर्थिक विषमता

सरकारको आर्थिक सर्वेक्षण २०७९/८० का अनुसार चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर २.१६ प्रतिशत हुनेछ। वस्तु आयातमा भएको संकुचन र समष्टिगत मागमा आएको कमीको कारण आर्थिक गतिविधिमा सुस्तता आएको छ।

सरकारको आर्थिक सर्वेक्षण भन्छ– पुँजीगत खर्च नबढ्दा आर्थिक विषमता

काठमाडौँ– अर्थमन्त्री प्रकाशशरण महतले आइतबार प्रतिनिधिसभामा आर्थिक सर्वेक्षण २०७९/८० प्रस्तुत गर्दै चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर २.१६ प्रतिशत हुने उल्लेख गरेका छन्। चालु वर्षमा पुँजीगत खर्च नबढ्दा अर्थतन्त्रका धेरै पक्ष प्रभावित भएको र आर्थिक विषमता सिर्जना भएको महतले उल्लेख गरेका छन्।

वस्तु आयातमा भएको संकुचन र समष्टिगत मागमा आएको कमीको कारण आर्थिक गतिविधिमा सुस्तता आएको र व्यवस्थापनमा समेत दबाब सिर्जना भएको महतले उल्लेख गरेका छन्। 

मूल्यमा परेको दबाब कम गर्न पेट्रोलियम वस्तुको मूल्यमा निर्भर रहने सर्वेक्षणमा उल्लेख छ। “हाल पेट्रोलियम वस्तुको मूल्य खासगरी कम हुँदै गएको र सोको निरन्तरता कायम रहेमा मूल्यमा परेको दबाब कम हुँदै जाने अपेक्षा गरेको छु,” अर्थमन्त्री महतले भने, “गत आर्थिक वर्षमा बाह्य क्षेत्रमा देखिएको दबाब, व्यवस्थापनको लागि अवलम्बन गरेको आयात नियमन र नियन्त्रण नीतिको पुनरावलोकन र विप्रेषण आप्रवाहमा भएको उल्लेख्य वृद्धिको फलस्वरूप बाह्य क्षेत्र सन्तुलनमा सुधार देखिएको छ।” 

देशको आर्थिक अवस्थामा देखिएको विसमताका लागि आर्थिक सर्वेक्षणले अन्तर्राष्ट्रिय परिस्थितिलाई जिम्मेवार मानेको छ। चालु आर्थिक वर्षको शुरूमै अन्तर्राष्ट्रिय विषम परिस्थितिका कारण आपूर्ति श्रृंखलामा अवरोध, आयातीत खाद्यान्न र इन्धनको मूल्यवृद्धि भएको बताइएको छ। मूल्यवृद्धि तथा आन्तरिक संरचनागत समस्याका कारण नेपालको समग्र अर्थतन्त्र तथा मूल्यको स्तरमा चाप परेका आर्थिक सर्वेक्षणले भनेको छ।

आर्थिक विश्लेषकहरूले औँल्याएजस्तै आर्थिक सर्वेक्षण २०७९/८० मा पनि कुल गार्हस्थ्य उत्पादन तथा स्थिर पुँजीको अनुपातमा कमी आएको उल्लेख गरिएको छ। सरकारी नीतिका कारण अर्थतन्त्रमा देखिएको चाप कम भएको, उच्च व्याजदर तथा आर्थिक गतिविधिमा भएको शिथिलतामा सुधार भएको, बाह्य क्षेत्र सन्तुलन कायम हुँदै गएको, शोधान्तर स्थिती वचतमा रहेको, चालु खाता घाटामा सुधार भएको र विदेशी विनिमय संचिति बढेको जनाइएको छ।

चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्रको विस्तार न्यून रहने आर्थिक सर्वेक्षणमा औँल्याइएको छ।  बाह्य क्षेत्र असन्तुलनलाई सम्बोधन गर्नका लागि अवलम्बन गरिएको आयात नियमनले राजस्व संकलनमा आएको कमी र चालु खर्चमा भएको वृद्धिका कारण स्रोत व्यवस्थापनमा कठिनाइ हुदा आर्थिक गतिविधि अपेक्षाकृत हुन नसकेको सर्वेक्षणमा औँल्याइएको छ।

तीनै तहका सरकारको पुँजीगत खर्चमा आशातीत वृद्धि हुन नसक्दा पुँजी निर्माण, रोजगारी सिर्जना, उत्पादन र उत्पादकत्व वृद्धि अपेक्षित रूपमा हुन नसकेको पनि उल्लेख गरिएको छ। “थोक तथा खुद्रा व्यापार, निर्माण र घरजग्गाको कारोबारमा आएको शिथिलतासँगै सम्पूर्ण आर्थिक गतिविधिमा कमी आएको हुनाले उद्योग तथा सेवा क्षेत्रको विस्तार कम हुने अनुमान छ,” आर्थिक सर्वेक्षण २०७८/७९ मा भनिएको छ।


सम्बन्धित सामग्री