Thursday, April 25, 2024

-->

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा श्रमदान अभियान

नगरपालिकाले शुरू गरेको श्रमदान अभियानमा जिल्लाका सरोकारवालाहरू स्वतःस्फूर्त सहभागी भएका छन्। पहिलो चरणमा ग्रामीण सडक निर्माण तथा मर्मत गरिने नगरपालिकाले जनाएको छ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा श्रमदान अभियान

खोटाङ– दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले श्रमदान अभियान शुरू गरेको छ। जिल्लास्थित विभिन्न संघसंस्थासँगको सहकार्यमा शनिबारदेखि औपचारिक रूपमा श्रमदान अभियान थालेको हो।

श्रमदान अभियानअन्तर्गत पहिलो चरणमा ग्रामीण सडक निर्माण तथा मर्मत गरिने नगर उपप्रमुख विशन राईले बताए।

“देश आर्थिक संकटमा फस्दै गएको छ। सानातिना सबै विकासे कामका लागि नगरपालिकाले बजेट उपलब्ध गराउन सक्ने अवस्था छैन,” उनले भने, “जसरी भए पनि नागरिकलाई सेवा दिनु हाम्रो कर्तव्य हो। नगरभित्रका सबै ग्रामीण सडक वर्षा हुनेबित्तिकै अवरुद्ध हुने गरेका छन्। ती सबै ग्रामीण सडकलाई बाह्रै महिना सञ्चालन गर्ने गरी श्रमदान अभियान थालिएको हो।”

अभियानमा उद्योग वाणिज्य संघ, खोटाङ यातायात प्रालि खोटाङ, ट्याक्टर तथा टिप्पर व्यवसायी संघ, टोल विकास समिति, स्थानीय बासिन्दालगायतको सहभागिता छ। एक जनाले कम्तीमा ४० हजार रुपैयाँ बराबरको श्रमदान उपलब्ध गराउने गरी अभियानमा सहभागी भएका छन्।

पहिलो दिन दिक्तेल–खार्मी–पाथेका सडकखण्डको सोल्मामा श्रमदान गरिएको छ। जिल्लाको उत्तरी क्षेत्र जोड्ने उक्त सडकखण्डमा सडकमाथिबाट झरेको पहिरो हटाउने, खाल्डाखुल्डी पुर्ने, नाली निर्माण गर्ने, झाडी सफा गर्नेलगायतका काम भएको २ नम्बर वडाका अध्यक्ष ध्रुवविक्रम राईले बताए। आइतबार दिक्तेल–खार्मी–पाथेका सडकखण्डको सोल्मामा बगरेभञ्ज्याङबाट रोडा (ढुंगाको मसिनो टुक्रा) ल्याएर खाल्डाखुल्डी पुर्ने काम भइरहेको छ।

नगरपालिकाले थालेको श्रमदान अभियानमा ट्याक्टर व्यवसायी स्वतःस्फूर्त सहभागी भएको मेरुङ कन्स्ट्रक्सन सञ्चालक भलकाजी पुरीले बताए। दिक्तेल बहुमुखी क्याम्पसलगायत जिल्लाका अन्य शैक्षिक संस्थामा उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीसमेत सहभागी हुने भएका छन्। जिल्लास्थित सरकारी कार्यालय तथा सुरक्षा निकायलाई समेत श्रमदान अभियानमा सहभागी गराइने नगरपालिकाले जनाएको छ।

सानातिना विकासे योजनाका लागि समेत सरकारको मुख ताक्ने संस्कृतिको विकास भइरहेको अवस्थामा नगरपालिकाले श्रमदान अभियान गरेर राम्रो सन्देश दिएको जिल्लाका पुराना पत्रकार कृष्ण आचार्यले बताए। श्रमदान अभियानलाई कार्यकालभरि निरन्तरता दिने योजना बनाइएको नगरप्रमुख तीर्थराज भट्टराईले बताए।  

“पहिलो चरणमा नगरपालिकाभित्र पर्ने ग्रामीण सडक मर्मत गर्ने कामबाट सुरु गरिएको श्रमदान अभियान हाम्रो कार्यकालभरि जारी राख्ने छौँ। नगरपालिकाभित्रका सडक, सार्वजनिकस्थल मर्मत तथा सरसफाइ लगायतका क्रियाकलाप गरिनेछ,” उनले भने, “श्रमदान अभियानले नागरिकमा श्रम संस्कृतिको विकास हुने अपेक्षा गरिएको छ।”


सम्बन्धित सामग्री