Thursday, April 25, 2024

-->

जुन्टा सरकारको आलोचना गरेको आरोपमा म्यानमारका चर्चित र्‍यापर पक्राउ

सैनिक शासनविरुद्ध लगातार गीत बनाइरहेका गायक ब्यु हारले पछिल्लो भिडियोमा जुन्टाविरुद्ध आक्रोश पोखेका थिए। उनले भिडियोको क्याप्सनमा आफ्नो घरको ठेगाना दिँदै आफूलाई पक्राउ गर्न चुनौती पनि दिएका थिए।

जुन्टा सरकारको आलोचना गरेको आरोपमा म्यानमारका चर्चित र्‍यापर पक्राउ

फेसबुकमार्फत म्यानमारको सैनिक सरकार जुन्टाको आलोचना गरेको आरोपमा त्यहाँका चर्चित र्‍यापर ब्यु हार पक्राउ परेका छन्। उनले म्यानमारमा भइरहेको देशव्यापी बिजुली कटौतीको आलोचना गरेका थिए।

सन् २०२१ मा सैनिक ‘कू’मार्फत आङ सान सुकी नेतृत्वको नागरिक सरकारलाई हटाएपछि म्यानमारले ग्यासबाट चल्ने प्लान्टहरूबाट उत्पादित बिजुलीको सुरक्षित प्रसारण गर्न सकिरहेको छैन। पुरानो राजधानी याङ्गुनमा बस्ने गायक हारले गएको मंगलबार राति फेसबुकमा भिडियो पोस्ट गर्दै त्यहाँका ऊर्जामन्त्रीलाई ‘मुर्ख’ र ‘अक्षम’ भनेको बीबीसीले जनाएको छ।

“पछिल्लो पाँच वर्षको अवधिमा वृद्ध महिलाको नेतृत्व छँदा हामीसँग २४ घन्टा नै बिजुली थियो। त्यति मात्र होइन कि, बिजुलीको बिल पनि सस्तो भइरहेको थियो,” उनले लोकतान्त्रिक नेतृ सुकीलाई सम्झँदै भनेका छन्।

पक्राउपछि उनलाई नजरबन्दमा राखिएको छ। तर, उनको अवस्था अज्ञात छ। उनीमाथिको कारबाही म्यानमारमा नागरिकको अधिकार संकुचन गर्ने पछिल्लो कदम भएको समाचारमा जनाइएको छ। 

गायक हारले पछिल्लो भिडियोमा जुन्टा सरकारविरुद्ध आक्रोश पोखेका थिए। उनले भिडियोको क्याप्सनमा आफ्नो घरको ठेगाना उल्लेख गर्दै आफूलाई पक्राउ गर्न चुनौती पनि दिएका थिए।

उनलाई याङ्गुनको नर्थ डागोन टाउनसिप पुलिसले बुधबारदेखि बेपत्ता बनाएको हा। उनलाई कहाँ राखेको छ भन्ने जानकारी सरकारले दिएको छैन।

गायक हार साथीहरू र परिवारको सम्पर्कबाट अचानक हराएपछि खोजी शुरू भएको थियो। तर, उनी थुनामा रहेको घटनामा सम्बद्ध स्रोतबाट पुष्टि भएको बीबीसीले उल्लेख गरेको छ। उनलाई कहाँ राखिएको छ भन्ने समाचारमा उल्लेख छैन।

हारलाई गिरफ्तारी गर्नुअघि जुन्टा सरकारको आलोचना गरेर गीत नगाउन उनलाई त्यहाँका अधिकारीले धेरैपटक चेतावनी दिएका थिए। तर, उनले निरन्तर रूपमा त्यहाँको सरकारको आलोचना गरेर हिप–हप गीतहरू बनाएका थिए।

म्यानमार सरकारले राजनीतिक कारणले पक्राउ परेकालाई चरम यातना दिने गर्छ। यस्तो यातनाबारे एम्नेस्टी इन्टरनेसनेलले पटकपटक जानकारीहरू सार्वजनिक गर्ने गरेको छ।

हार दक्षिणपूर्वी एशियाली राष्ट्रहरूमा ख्याति कमाएका संगीतकार नाइङका छोरा हुन्। नाइङको गीत ‘द वर्ल्ड विल नट एन्ट’ सन् १९८८ मा भएको तत्कालीन सैनिक शासनविरुद्धको क्रान्तिको गीत बनेको थियो।

यो गीत २०२१ फ्रेब्रुअरीमा भएको ‘कू’ पछि चलिरहेको गृहयुद्धमा पुनः क्रान्ति–गीतको रूपमा बजाउन थालिएको छ। र्‍यापर हार बाबुको बाटो पछ्याउँदै सैनिक शासनविरुद्ध गीत बनाइरहेका थिए।


सम्बन्धित सामग्री