Tuesday, April 23, 2024

-->

कमला नदी दोहनविरुद्धको आन्दोलनलाई ‘निर्णायक’ बनाउन जाग्दैछन् स्थानीय

अघिल्लो वर्ष भएको यस्तै आन्दोलनले नौ महिनासम्म उत्खनन् रोकिए पनि यसपटक फागुनदेखि दोहन गर्नेहरू डोजर लिएर नदीमा पसेको देखेपछि स्थानीयहरू अझ व्यवस्थित योजना र फराकिलो एकताका साथ आन्दोलित भएका हुन्।

कमला नदी दोहनविरुद्धको आन्दोलनलाई ‘निर्णायक’ बनाउन जाग्दैछन् स्थानीय

काठमाडौँ– मधेश प्रदेशको राजधानी जिल्ला धनुषा र त्यसको पूर्वतर्फको छिमेकी सिरहाको बीचबाट बगेर भारत पस्ने नदी हो कमला। ढुंगा, गिट्टी र बालुवाको अनियन्त्रित उत्खननले नदीसँगै स्थानीय जनजीवन संकटमा परेपछि दुवै जिल्लाका वासिन्दाले केही दिनयता नदी दोहनमा लाग्ने र तिनलाई सघाउनेहरू विरुद्धको आन्दोलनलाई तीव्रता दिएका छन्। 

लामो समयदेखि कमला नदी र यससँग जोडिएको प्राचीन सभ्यता जोगाउन लागिपरेका स्थानीयहरूले यसपटकको आन्दोलनलाई ‘निर्णायक’ भनेका छन्। त्यसअन्तर्गत कमलापूर्वको सिरहाबाट वैशाख २५ गतेदेखि थालिएको आन्दोलन चर्किंदै गएको छ। यसैक्रममा जेठ २ गते धनुषाको गणेशमान चारनाथ नगरपालिकातर्फबाट नदी खन्न पसेका दुई एक्साभेटरलाई स्थानीयले नियन्त्रणमा लिएर कमला सबडिभिजन वन कार्यालय गोदारमा बुझाइदिए। 

नदी दोहनबाट पीडित सिरहातर्फको कर्जन्हा नगरपालिकाका वासिन्दाले अझै जुर्मराउँदै जेठ ५ गते बिहान ९ देखि ११ बजेसम्म पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेर विरोध जनाए। भोलिपल्ट राँके जुलुस निकालेका कर्जन्हावासीले इजाजतभन्दा अधिक मात्रामा उत्खनन गरी स्थानीय बल्टिनिया नजिकै कमलाको बगर छेउमा अघिल्लो वर्षदेखि थुपारिएको बालुवागिट्टीको ढिस्कोमाथि रातो झण्डा गाडे। नदी मासेर थुपारिएको त्यो बालुवागिट्टी उठाउन नदिने घोषणा पनि उनीहरूले गरे।

कमला नदीमा वर्षौंदेखि जारी अवैध उत्खननले पानी सुकेर सिंचाइ प्रणाली नै बिथोलिएपछि स्थानीयहरू त्यसविरुद्ध अघिल्ला वर्षहरूमाभन्दा बढी जागरुक देखिएका छन्। नदी जोगाउनका लागि पहिलेदेखि नै आवाज उठाउँदै आएका उनीहरू यस पटक उत्खनन नरोकिएसम्म थकाइ नमार्नेगरी नदीकिनार र राजमार्गमा आएको बताउँछन्। 

नदीको दायाँवायाँ दुवैतर्फ चालु नहरबाट सिंचित हराभरा फाँटको उब्जनीले पुस्तौँदेखि सहजसँग जीविकोपार्जन गर्दैै आएका स्थानीय वासिन्दाहरूले नदी मासिँदा जमिन र बस्ती पूरै मरुभूमि बन्ने खतरा देख्न थालेका छन्। त्यही कारण उनीहरू यसपालिको आन्दोलनमा ठूलो संख्यामा एकत्रित भएका छन्। सिरहाको कर्जन्हा र धनुषाको गणेशमान चारनाथ नगरपालिकाको संरक्षण र स्थानीय प्रहरी प्रशासनको मिलोमतोमा कारोबारीहरूले मनोमानी तवरबाट एक्साभेटर र डोजर लगाएर गिट्टी र बालुवा निकाल्दा जनजीवन संकटतर्फ धकेलिएको उनीहरू बताउँछन्। 

आन्दोलनको क्रममा पूर्व-पश्चिम राजमार्ग अवरुद्ध गर्दै स्थानीय।

त्यसरी निर्वाधसँग नदीजन्य पदार्थ झिक्न दिनेगरी ठेक्कापट्टा लगाउने र भारी उपकरण लगेर नदी खन्ने कार्य सधैंको लागि बन्द नभएसम्म पछि नहट्ने अठोट यसपालिको आन्दोलनरत स्थानीयहरूले गरेका छन्। नदी उत्खननका विरुद्ध आवाज उठाउनेहरूलाई विगतमा प्रहरीले नियोजित रूपमा विभिन्न मुद्दा लगाएर फसाइदिने गरेकाले यसपालि संगठित रूपमा आन्दोलन थालिएको ‘कमला बचाउ, पर्यावरण जोगाउ संघर्ष समिति’का संयोजक प्रभात महतोले बताए। 

‘ढुंगा, गिट्टी, बालुवा उत्खनन बिक्री तथा व्यवस्थापन मापदण्ड, २०७७’ ले पाँच फिटभन्दा गहिरोमा र भारी मेशिनहरू लगाएर उत्खनन गर्न रोकेको छ। तर कमलामा भने एक्साभेटर र डोजर लगाएर हाकाहाकी उत्खनन गर्ने गरिएको स्थानीयले देखेका छन्। अघिल्लो वर्षको जेठमा भएको यस्तै आन्दोलनले नौ महिनासम्म उत्खनन रोकिए पनि यसपटक फागुनदेखि नदी दोहन गर्नेहरू डोजर लिएर नदीमा पसेको देखेपछि उनीहरू अझ व्यवस्थित योजना र फराकिलो एकताका साथ आन्दोलित भएका हुन्। 

सिरहाको कर्जन्हा नगरपालिकातर्फ पुरानो उत्खनन क्षेत्रभन्दा माथि कमला नदीको उत्तरवाहिनी भन्ने ठाउँनजिक रातिको समय पारेर एकैसाथ धेरै एक्साभेटर लगाई उत्खनन गर्ने शृंखला गत फागुनदेखि पुनः चलिरहेको स्थानीय प्रत्यक्षदर्शीहरू बताउँछन्। त्यस्तै धनुषाको गणेशमान चारनाथ नगरपालिका तर्फबाट सयौँको संख्यामा पस्ने ट्रयाक्टरहरूले नदीको बीचमै पसेर उत्खनन गरिएका गिट्टीबालुवा ओसार्न थालेपछि आफूहरू सडकमा आउन बाध्य भएको संघर्ष समितिका संयोजक महतोले बताए। 

त्यहाँबाट खनिएको गिट्टीबालुवा करिब दुई दर्जन ट्रिपरमा ढुवानी गरी धनुषा जिल्लाको पोर्ताहा भन्ने ठाउँमा लगेर थुपारिन्छ। त्यो उत्खनन र ओसारपसारमा बेचन शर्मा नेतृत्वको गिरोह सक्रिय रहेको र फागुनयता मात्र करिब डेढ लाख घन मिटर गिट्टीबालुवा भण्डारण गर्न भ्याएको महतोले जानकारी दिए।  

आन्दोलनकारीका माग
बालुवा उत्खननको ठेक्कापट्टा भएपछि त्यसै निहुमा त्यहाँ अवैध उत्खननका लागि एक्साभेटर र डोजर परिचालनको काम हुने गरेको छ। पानी, प्रकृति, पर्यावरण र प्राणीको अस्तित्व नै संकटमा पार्नेगरी नदीजन्य पदार्थ बेच्न टेन्डर लगाउने परिपाटी नहोस् र स्थानीयलाई आवश्यक परे बेल्चा लगाएर बालुवा झिक्न दिने व्यवस्था गरियोस् भन्ने आफूहरूको प्रमुख माग भएको संयोजक महतो बताउँछन्। 

कमलामा पानी घटेर शुरू भएको सिंचाइ संकट समाधानको योजना ल्याइनुपर्ने र यसअघि अवैध उत्खननमा संलग्न भएकाहरूमाथि छानबिन गरी आवश्यक कारवाही गर्नुपर्ने माग पनि स्थानीयले राखेका छन्। 

कमला धार्मिक र सांस्कृतिक महत्व बोकेको नदी भएको र यसलाई ‘कमला माई’ भनेर आमाको दर्जा दिइएको हुनाले नियम कानूनको धज्जी उडाउँदै भएको दोहनले मन दुखेपछि आफूहरू स्वस्फूर्त रूपमा विरोधमा उत्रिएको आन्दोलनरत सिरहा, बन्दीपुरका भरत महतोले बताए। 

 स्थानीयबाट नियन्त्रणमा लिई वन कार्यालयमा बुझाइएको नम्बर प्लेट बिनाको एक्साभेटरको हकदाबीसम्बन्धी सातदिने सूचना। 

सिरहामा चर्केको नदी उत्खनन विरुद्धको आन्दोलनलाई कमलापश्चिमको धनुषामा पनि स्थानीयले विस्तार गरेका छन्। यसै क्रममा जेठ २ गते धनुषा, बरमझियाका बाली शर्मा र ज्याक्सन हमाल नेतृत्वको समूहले नियन्त्रणमा लिएर बुझाएका दुई वटा एक्साभेटरबारे अनुसन्धान भइरहेको कमला सबडिभिजन वन कार्यालय गोदारले जनाएको छ। दुवै एक्साभेटरलाई नियन्त्रणमै राखी मुद्दा चलाइएको कार्यालयका अनुसन्धान अधिकारी, सहायक वन अधिकृत भगलु मण्डलले बताए। 

“स्थानीय मानिसहरूले उत्खनन गरिरहेको अवस्थामा नियन्त्रणमा लिई दुईवटा एक्साभेटर हामीलाई बुझाएपछि हामीले त्यसबारे अनुसन्धान थालेका छौँ,” मण्डलले उकालोलाई भने, “दुईवटै एक्साभेटरहरूमा नम्बर प्लेट छैन, हामीले अहिले नियमअनुसार हकदाबी गर्न आउनू भन्ने सातदिने सूचना सार्वजनिक गरेका छौँ, स्वामित्वको दाबी गर्न आउनेहरूसँग सोधपुछ गर्छौं।” 

कृषिमा आधारित आजीविका स‌कटमा
“जथाभावी उत्खननले गर्दा नदीमा पानीको स्तर सतहभित्र पसेको छ। कमला बाँधमा पानी हुँदैन। पानीविनाका नहरहरू सुख्खा हुन थालेका छन्। सिंचाइको स्रोत मासिँदा कृषिमा नराम्रो असर परेको छ,” संघर्ष समितिका संयोजक महतो भन्छन्, “सिचाइमा परेको यो संकट प्राकृतिक होइन, मानवीय बदमासीले हो।”

यसअघि प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख र स्थानीय तहलाई ज्ञापनपत्र बुझाउने, समस्या सुनाउने जस्ता आन्दोलनको कार्यक्रम गरिएको भए पनि त्यसमाथि कुनै सुनुवाइ नभएकाले यसपालि कमलामा उत्खनन रोक्न र आफ्नो जीवनसँग गाँसिएको पर्यवरणको रक्षाका लागि निर्णायक आन्दोलन गर्न बाध्य हुनुपरेको महतो बताउँछन्। 

स्थानीयले यसपालि वैशाखको पहिलो सतादेखि समाजिक सञ्जालमा लेख्ने, नदीको बगरमा उभिएर खबरदारी गर्नेजस्ता सांकेतिक आन्दोलन शुरू गरेका थिए। नदीमा फेला परेका एक्साभेटर जलाइदिने र उत्खनन गर्नेहरूको प्रतिकार गर्ने घोषणा सहितको आन्दोलन वैशाख २५ गतेदेखि निरन्त जारी छ। सिरहातर्फ पेतँहा, मरेवा, बल्टिनिया, बन्दीपुर, त्रिवेणीरोड, कल्याणपुर, बस्तीपुर, कर्जन्हा लगायतका ठाउँका वासिन्दाहरूले आन्दोलनमा भाग लिएका छन्। 

कमला सिंचाइ योजनाबाट निस्केका दुई मुख्य नहरमा आलोपालो गरेर पठाउँदा पनि अहिले पानी अपुग भइरहेको योजनाका सुपरभाइजर अशेसर यादवले बताए। 

कमला सिंचाइको नहरमा पानी घटेपछि सुख्खा भएको खेत सिंचाइ गर्ने कुलोमा पानी लैजान नहरको प्रशाखा बाँधमा किसानले छेकबार राखेर बनाएको कच्ची बाँध। 

“हिउँदमा अरू नदीहरूमा पानी कम भएको बेला पनि पहिला कमलामा पानी घट्दैनथ्यो, मजाले सिंचाइ हुन्थ्यो। अब कमला बराजमा पानी जम्मा गर्न र नहरबाट कुलोतिर पानी लैजान पक्की बाँधमाथि छेकबार हालेर कच्ची बाँध लगाउनुपर्छ,” बल्टियाका किसान विनोद श्रेष्ठले चिन्तापूर्वक भने, “भारी मात्रामा बालुवा र गिट्टी निकाल्दा पानी सुक्दै गयो। हामीले हेर्दाहेर्दै एक दशकमा आएको भयानक परिणाम हो यो।” आफ्नो साढेदुई बिघा खेति सिंचाइ समस्याले बर्बाद भइसकेको दुखेसो उनले पोखे।

श्रेष्ठका अनुसार त्यसभेगका मानिसहरूको खेतिकिसानी र हजारौँ विघा खेत सिंचाइ अभावले प्रभावित छ। २०१९ सालमा तत्कालीन सिंचाइमन्त्री गणेशमान सिंहले शुरू गरेको कमला सिंचाइ आयोजनाले पश्चिम सिरहा र पूर्वी धनुषाको २५ हजार हेक्टर जमिनमा सिंचाइ सुविधा दिँदै आएको थियो। कमलामा भएको अनियन्त्रित उत्खननकै कारण अहिले त्यस क्षेत्रको सिंचाइमा संकट आएको छ। यही कारण यसपालि भएको आन्दोलनमा नयाँ नारा थपिएको छ– ‘जय किसान’। 

के हो मुख्य मुद्दा?
सिरहामा पर्ने पूर्व–पश्चिम राजमार्गको बन्दीपुरदेखि कन्चनपुर खण्डको स्तरोन्नति योजनाका लागि आर्थिक वर्ष २०७८/७९ मा ८० हजार घनमिटर बालुवा गिट्टी कमला नदीबाट निकाल्ने अनुमति कर्जन्हा नगरपालिकाले दिएको थियो। त्यही निहुँमा त्यहाँ झण्डै डेढ लाख घनमिटर बालुवागिट्टी उत्खनन भयो। चाइना रेल्वे ग्रुप–२ निर्माण कम्पनीसँग मिलेर क्रसर उद्योग सञ्चालक तथा बालुवागिट्टी कारोबारी बेचन शर्माले भारी उपकरण लगाएर कमलाबाट गिट्टीबालुवा झिकेको स्थानीयको आरोप छ। 

कमलाको बगरनजिक बालुवागिट्टीको पहाडजस्तै थुप्रो छ। त्यही भण्डारणबाट ओसारेर बालुवागिट्टी क्रसर तथा प्रसोधन केन्द्रहरूसम्म पुर्‍याउन थालियो। चालु आर्थिक वर्षको ४० दिन बाँकी रहँदा भएको अनुगमनमा त्यहाँ १ लाख २६ हजार घनमिटर गिट्टीबालुवाको थुप्रो अझै भण्डारण भएको पाइयो। अघिल्लो आन्दोलनताका स्थानीयले उठाउन रोकेको ६२ हजार घनमिटर बालुवागिट्टीको थुप्रो त्यहाँ अहिले पनि छ। त्यही थुप्रोमाथि जेठ ६ गते स्थानीयले रातो झण्डा गाडेर उठाउन नदिने घोषणा गरेका हुन्। 

त्यहाँ हुँदै आएको अवैध र अनियन्त्रित उत्खननलाई तुरुन्त नियन्त्रण गर्न माग राखी चुरे संरक्षण तथा पर्यटन प्रवद्र्धन फाउन्डेसन नेपाल नामको संस्थाले जेठ ८ गते जिल्ला प्रशासन कार्यालय सिरहामा ज्ञापनपत्र बुझाएको थियो। मापदण्ड विपरीत भएको उत्खननले वातावरणमा नराम्रो प्रभाव पारेकाले त्यसलाई रोक्न आग्रह गर्दै विष्णुकुमार साहसहितको टोलीले प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडालाई ज्ञापनपत्र बुझाएको हो। 

दैनिक जनजीवनमै असर देखिएकाले यसपटक फैलिएको आन्दोलन साँच्चै निर्णयक हुने कमला नदी आसपासका स्थानीय वासिन्दाको विश्वास छ। 
 


सम्बन्धित सामग्री