Friday, March 29, 2024

-->

पर्यटक लोभ्याउँदै अन्नपूर्ण पदमार्गका मनोरम झरना

पदमार्गमा फुतफुते झरना, पञ्च झरना, रातो झरनालगायत आधा दर्जन बढी झरना छन्। झरना र फेदीमा रहेका तलाउमा अधिकांश पर्यटकले तस्वीर र भिडियो खिचेर रमाउने गर्छन्।

पर्यटक लोभ्याउँदै अन्नपूर्ण पदमार्गका मनोरम झरना 

बेनी– अग्ला पहाडबाट खस्ने झरना। फेदीमा बनेका सफा तलाउ। वरिपरि वनजंगल। अन्नपूर्ण पदयात्राका क्रममा देखिने यस्ता मनमोहक दृश्यले थकान मेटाइदिने गर्छ।

पदमार्गस्थित म्याग्दीको अन्नपूर्ण गाउँपालिका क्षेत्रमा रहेका आधा दर्जन बढी झरनाले पर्यटकलाई लोभ्याउने गरेका छन्। अन्नपूर्ण हिमालका प्रथम आरोही मौरिस हर्जोगले आरोहण गर्दा प्रयोग गरेकै पदमार्ग (मौरिज हर्जोग पदमार्ग)मा पर्ने फुतफुते झरना, पञ्च झरना, रातो झरनालगायत आधा दर्जन बढी मनमोहक झरना छन्।

पदमार्गमा सबैभन्दा आकर्षणका रूपमा पहाडबाट निस्कने फुतफुते झरनाले पर्यटकलाई आकर्षित गर्ने गरेको छ। कडा चट्टानलाई बीचमा काटेर झर्ने पानीको दृश्यले यात्रालाई रोमाञ्चक बनाएको पर्यटक प्रदीप पुनले बताए। “सबै झरना पहाडबाटै बग्ने हुन्,” उनले भने, “तर, यो झरनाले पहाडलाई छेडेर निस्किएजस्तो देखिन्छ। झरनाबाट बग्ने निलो रङको पानी हेरेर धित नमर्ने रहेछ।” निलगिरी र अन्नपूर्ण हिमालबाट बग्ने मिस्त्रीखोला यसै झरना भएर बग्ने गर्छ।

झरना र फेदीमा रहेको तलाउमा अधिकांश पर्यटकले तस्वीर र भिडियो खिचेर रमाउने गर्छन्। घना जंगल र पहाडको उकालो बाटो हुँदै गरिने पदयात्राका दुःख र थकानलाई झरनाको मनमोहक दृश्यले भुलाइदिने गरेको अर्का पर्यटक बालकृष्ण पौडेलले बताए। गुफा फाँटमा अन्नपूर्ण हिमशृंखलाबाट झर्ने पञ्च झरना पर्यटकका लागि अर्को आकर्षणका रूपमा छ।

अग्लो पहाडबाट एकपछि अर्को गर्दै लहरै रहेका पाँचवटा झरनाको अवलोकन गर्न पाउँदा पर्यटक खुशी हुने गरेको पर्यटन व्यवसायी तेज गुरुङले बताए। भुसकेटमेला नजिकै रहेको रातो झरना पनि पर्यटकको अर्को आकर्षणका रूपमा छ।

झरनाको परिसरमा पर्यटन पूर्वाधार निर्माण गरी प्रवर्द्धनमा आवश्यक तयारी गरिएको अन्नपूर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले जानकारी दिए। फुतफुते झरना वारपारका लागि झोलुंगे पुल मर्मत गर्न बजेट व्यवस्थापन भएको र रातो झरना वारपारका लागि पुल निर्माण गर्न योजना तर्जुमा गरिने उनले बताए।

अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ हुँदै अन्नपूर्ण आधार शिविर जाने पदमार्गमा सडक सञ्जालको पहुँच विस्तार र पदमार्गलगायत पूर्वाधार निर्माण भएपछि पर्यटकको आगमन बढेको छ।

नारच्याङबाट हुमखोलासम्म २० किलोमिटर दूरीमा सवारीसाधन र त्यहाँबाट २२ किलोमिटर पैदलयात्रा गरेर पुग्न सकिने भएपछि अन्नपूर्ण आधार शिविर एक दिनको यात्रामा छोटिएको छ। 


सम्बन्धित सामग्री