Thursday, March 28, 2024

-->

शिवशिखर सहकारी ठगीमा सुदूरपश्चिमका चार जिल्लाबाट कागजात संकलन गर्दै प्रहरी

संकलित निक्षेप भौतिक संरचना खरिद र निर्माणमा बढी लगानी भएको छ। सहकारीले कैलालीमा धानचामल उद्योग, मिल, मार्ट, एग्रो प्रालि, जग्गा, गाडीलगायत भौतिक संरचनामा  खर्च गरेको छ।

शिवशिखर सहकारी ठगीमा सुदूरपश्चिमका चार जिल्लाबाट कागजात संकलन गर्दै प्रहरी
तस्वीर: सुदूरपत्र

काठमाडौँ- बचतकर्ताको अर्बौ निक्षेप संकलन गरेर सम्पर्कविहीन भएपछि शिवशिखर बहुद्देश्यीय सहकारी संस्थामा आबद्ध सुदूरपश्चिमका चार जिल्लाका बचतकर्ताले प्रहरीमा कागजात पेश गरेका छन्। उजुरीकर्ताको कागजका आधारमा शिवशिखरको शाखा रहेको कञ्चनपुरको महेन्द्रनगर, कैलालीको धनगढी, अत्तरीया र लम्की, डडेल्धुराको अमरगढी र डोटीको दिपायलमा प्रहरीले बचतकर्ताका कागजात संकलन गरिरहेको छ ।

उक्त सहकारीबाट भएको ठगी, बचत रकम फिर्ता नगरेको र रकम हिनामिनालगायत विषयमा जाहेरी दिन  बचतकर्तालाई सार्वजनिक रूपमै सूचना जारी गरिएपछि एक सातायता प्रहरी कार्यालयमा कागजात पेस गर्नेको भीड लागेको छ। सूचना नै जारी गरेपछि बचतकर्ता धनगढीको जिल्ला प्रहरी, लम्की र अत्तरीयामा प्रहरी कार्यालय पुगेर सहकारीका आवश्यक कागजातसहित निवेदन दिइरहेको कैलाली जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले जानकारी दिए।

“तीनवटै शाखा सञ्चालक र कर्मचारीविहीन छन्,” चन्दले भने, “सबै बचतकर्ताको निवेदन आइसकेपछि कैलालीमा कति निक्षेप संकलन भएको रहेछ भनेर यकिन जानकारी आउँछ।” 

प्रहरीका अनुसार मंगलबारसम्म धनगढीमा एक हजार भन्दा बढी उजुरी आएको छ। त्यसैगरी, कञ्चनपुर जिल्ला प्रहरी कार्यालयमा दुई हजार १०० बचतकर्ताले निवेदन दिइसकेका छन्। उक्त कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले बचतकर्तालाई निवेदन दिन यही जेठ १५ गतेसम्मको समयावधि दिइएको जानकारी दिए।

“सो सम्बन्धमा केन्द्रीय अनुसन्धान ब्यूरोले पनि छानबिन गर्दै छ,” उनले भने, “कञ्चनपुरमा पनि प्रहरीले जाहेरी लिएर अनुसन्धान अघि बढाउने भएकाले कागजातसहित विवरण पेस गर्न भनेका छौँ ।”

प्रहरीका अनुसार उक्त सहकारीको महेन्द्रनगर शाखाले मात्रै २६ करोड निक्षेप सङ्कलन गरेको बताइएको छ। गत माघयता सञ्चालक सम्पर्कबाहिर रहेको सहकारीले यहाँ सञ्चालन गरेको मार्टसमेत बन्द गरेर कर्मचारी हिँडिसकेका छन्। सुदूरपश्चिम प्रदेशबाट मात्र सो सहकारीले एक अर्ब ५० करोडभन्दा बढी निक्षेप संकलन गरेको बताइएको छ ।

संकलित निक्षेप भौतिक संरचना खरिद र निर्माणमा बढी लगानी भएको देखिएको छ। सहकारीले कैलालीमा धानचामल उद्योग, मिल, मार्ट, एग्रो प्रालि, जग्गा, गाडीलगायत भौतिक संरचनामा  खर्च गरेको छ।

यहाँ उक्त संस्थामा दैनिक बचत, मुद्दतिदेखि ठूलो रकम शेयर लगानी गरेका ग्राहकले आफ्नो लगानी डुब्न लागेको भन्दै जिल्ला प्रशासन कार्यालयमा धर्ना दिनाका साथै सरोकारवाला निकायमा दबाब बढाउन थालेका छन्। 

डडेल्धुरा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक मनोहर भट्टले डडेल्धुरामा करिब ४१ करोड निक्षेप संकलन गरेको बताए। “मंगलबारसम्म ६८० बचतकर्ताले १२ करोड ५० लाख बिगोसहित आवश्यक कागजात पेस गरिसकेका छन्,” उनले भने, “यहाँ रहेकासहकारीका दुई वटा मार्ट बन्द भइसके।”

प्रहरीका अनुसार डडेल्धुरामा उक्त सहकारीका दुई वटा भवनसमेत छन्। त्यस्तै डोटी जिल्ला प्रहरी कार्यालयले पनि बचतकर्ताको कागजात संकललन गरिरहेको जनाएको छ। डोटीमा मंगलबारसम्म ४७९ बचतकर्ताले निवेदन पेस गरेको प्रहरीको भनाइ छ।


सम्बन्धित सामग्री