Friday, April 19, 2024

-->

कामीरिता शेर्पा २८औँ पटक सगरमाथा शिखरमा

कामीरिताले यो सिजनमा ६ दिनको अन्तरालमा दुई पटक सगरमाथा आरोहण गरेका छन्। अर्का आरोही पासाङ दावाले २७औँ पटक नै सगरमाथा आरोहण गरेर कीर्तिमान बारबार गरेपछि कामीरिता २८औँ पटक शिखरमा पुगेका हुन्।

कामीरिता शेर्पा २८औँ पटक सगरमाथा शिखरमा

काठमाडौँ– कामीरिता शेर्पाले २८औँ पटक सगरमाथाको आरोहण गरेर यसअघिको आफ्नो कीर्तिमानमा सुधार गरेका छन्। सबैभन्दा धेरै पटक सगरमाथा आरोहण गर्ने कीर्तिमान सुधार गरेका हुन्।

शेर्पा मंगलबार बिहान ९ बजेर २३ मिनेट जाँदा सगरमाथा चुचुरोमा पुगेको सेभेन समिट ट्रेक्सका प्रबन्धक थानेश्वर गुरागाईंले जानकारी दिए। उनी यसै सिजन दोस्रो पटक सगरमाथा चुचुरोमा पुगेका हुन्।

यो सिजनको पहिलो आरोहण उनले गएको जेठ ३ गते गरेका थिए। उनी एक अमेरिकी आरोहीलाई लिएर सगरमाथाको चुचुरो पुग्दै यसअघि २६ पटक आरोहण गरेको कीर्तिमानमा सुधार गरेका थिए। २८औँ पटक भने उनी एक्लै सगरमाथा आरोहण गरेको गुरागाईंले बताए।

कामीरिताले २७औँ पटक सगरमाथा आरोहण गरेको चार दिनपछि जेठ ७ गते अर्का विख्यात आरोही पासाङ दावा शेर्पाले पनि २७ पटक नै शिखरमा पुगेर कीर्तिमान बराबरी गरेका थिए। यसपटक आफ्नो कीर्तिमानमा सुधार गर्नकै लागि कामीरिता सगरमाथा चढेको गुरागाईंले बताए।

दुवै आरोही सोलुखुम्बुकै हुन्। दावा खुम्बु पासाङ ल्हामु गाउँपालिका–४ पाङबोचेका हुन्। कामीरिता भने वडा नं. ४ थामेका हुन्। कामीरिताले २०५१ सालमा पहिलोपटक सगरमाथा आरोहण गरेका थिए।


सम्बन्धित सामग्री