Tuesday, April 16, 2024

-->

नक्कली शरणार्थी प्रकरण: संगठित र राज्यविरुद्धको अपराधसहित सम्पत्ति शुद्धीकरणमा पनि मुद्दा चलाउने तयारी

नक्कली भुटानी शरणार्थी प्रकरणमा आरोपितहरूविरुद्ध ठगी, संगठित र राज्यविरुद्धको अपराधसहित केहीलाई अख्तियार दुरुपयोग र सम्पत्ति शुद्धीकरणमा पनि मुद्दा चलाउन सिफारिस हुने भएको छ।

नक्कली शरणार्थी प्रकरण संगठित र राज्यविरुद्धको अपराधसहित सम्पत्ति शुद्धीकरणमा पनि मुद्दा चलाउने तयारी

काठमाडौँ- नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ठगी गरेको प्रकरणको अनुसन्धान सकेर जिल्ला प्रहरी परिसरले सोमबार सरकारी वकिलको कार्यालयलाई प्रतिवेदन बुझाउँदैछ। यो प्रकरणामा ठगी, संगठित र राज्यविरुद्धको अपराधसहित केहीलाई अख्तियार दुरुपयोग र सम्पत्ति शुद्धीकरणमा पनि मुद्दा चलाउन सिफारिस गर्ने गरी प्रहरीले प्रतिवेदन तयार गरेको छ।

अनुसन्धानपछि कानूनले आकर्षित गर्ने सबै दफाको मागदाबी राखेर अनुसन्धान प्रतिवेदन बुझाउन लागिएको परिसरका प्रमुख एसएसपि दानबहादुर कार्कीले उकालोलाई जानकारी दिए। यस प्रकरणमा कम्तीमा ३२ जनाविरुद्ध मुद्दा दायर गर्नुपर्ने राय प्रहरीले पेश गर्ने तयारी गरेको छ। अहिलेसम्म परिसरले १६ जनालाई पक्राउ गरिसकेको छ। 

दुई महिना लामो अनुसन्धानपछि पक्राउ परेका १६ जनासहित बाँकी १६ जनालाई फरारको सूचीमा राखेर प्रतिवादी बनाउन प्रहरीले सिफारिस गर्ने तयारी गरेको छ। यी सबैको हकमा २६ करोडभन्दा बढी बिगो मागदाबी गरिने भएको छ। 

नक्कली शरणार्थी प्रकरणमा १०६ जना पीडितबाट कम्तिमा २४ करोड रुपैयाँ ठगी भएको उजुरी प्रहरीमा परेको छ। पक्राउ परेकाको हकमा ठगी र संगठित अपराधसहित केहीलाई लिखतसम्बन्धी कसुर (कीर्ते)मा मुद्दा चलाउने रायसहितको प्रतिवेदन तयार गरेर बुझाउन लागिएको हो। 

एक अनुसन्धान अधिकृतले ठगी, संगठित र राज्यविरुद्धको अपराधसहित मुद्वा चलाउन सिफारिस गरिने र केहीको हकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागबाट पनि मुद्दा चलाउन सिफारिस गरिने बताए। यस प्रकरणमा अहिलेसम्म पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, तत्कालीन गृहसचिव टेकनारायण पाण्डे, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, हज समितिका अध्यक्ष शमशेर मियाँ पक्राउ परिसकेका छन्। 

त्यस्तै पूर्वसभासद् आङटावा शेर्पा, तत्कालीन गृहमन्त्री खाँणका स्वकीय सचिव नरेन्द्र केसी, टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीसहित केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, सागर राई, टंक गुरुङ, गोविन्द चौधरी र रामशरण केसी पक्राउ परेका छन्। पूर्वगृहमन्त्री थापाका छोरा प्रतीक र सुरक्षाा सल्लाहकार राईका छोरा निरज लगायत आरोपित फरार छन्। यो प्रकरणका मुख्य योजनाकारको रूपमा प्रहरीले पूर्व उपप्रधानमन्त्री रायमाझी, सल्लाहकार राई, गिरोहका सदस्य दुलाल र भण्डारी रहेको निष्कर्ष निकालेको छ। 

आइतबार नै प्रतिवेदन बुझाउने प्रहरीको तयारी थियो। तर, तयारी नपुगेको भन्दै अन्तिममा प्रहरीले सोमबार बुझाउने जानकारी सरकारी वकिलको कार्यालयलाई दिएको थियो। सोमबार यो प्रकरणको अनुसन्धान शुरू भएको ५८ दिन पुगिसकेको छ। ६० दिनभित्रमा मुद्दा दायर भइसक्नुपर्ने कानुनी बाध्यताले सरकारी वकिल कार्यालयले सोमबार एक दिन मिसिलको अध्ययन गरेर मंगलबारसम्म अभियोगपत्र काठमाडौँ जिल्ला अदालतमा दायर गरिसक्नुपर्ने छ। मिसिल अध्ययन गरेर अभियोग दायर गर्न सरकारी वकिलको कार्यालयले आठ सदस्यीय टोली बनाएको छ।


सम्बन्धित सामग्री