Tuesday, April 23, 2024

-->

५ वर्षमा तापक्रम वृद्धिको नयाँ रेकर्ड बन्ने, नेपालमा कस्तो पर्छ असर?

विश्व मौसम संगठनले आगामी पाँच वर्षमा हालसम्मकै सबैभन्दा धेरै तापक्रम रेकर्ड हुने सम्भावना रहेको औँल्याएको छ। औद्योगिक पूर्वावस्थाको तुलनामा १.५ डिग्रीभन्दा बढीले तापक्रम वृद्धि हुने संगठनले जनाएको छ।

५ वर्षमा तापक्रम वृद्धिको नयाँ रेकर्ड बन्ने नेपालमा कस्तो पर्छ असर
तस्वीर: विश्व मौसम संगठन

काठमाडौँ– विश्व मौसम संगठनले आगामी पाँच वर्षमा विश्वव्यापी तापक्रम वृद्धिले नयाँ रेकर्ड कायम गर्ने औँल्याएको छ। संगठनले बुधबार एक रिपोर्ट सार्वजनिक गर्दै सन् २०२७ सम्म कम्तीमा कुनै एक वर्षको तापक्रम औद्योगिक पूर्वावस्थाको तुलनामा १.५ डिग्रीभन्दा बढ्ने सम्भावना ६६ प्रतिशत रहेको जनाएको छ।  

हरितगृह ग्यास उत्सर्जनका कारण यो शताब्दीको अन्त्यसम्म पृथ्वीको तापक्रम ३ डिग्री सेल्सियससम्म वृद्धि हुने वैज्ञानिकहरूले यसअघि नै भविष्यवाणी गरेका थिए। तापक्रम वृद्धिलाई १.५ डिग्रीमा सीमित गर्न सन् २०१६ मा ‘पेरिस सम्झौता’ गरिएको थियो। उक्त सम्झौता अनुसार विकसित देशहरूले हरितगृह ग्यास उत्सर्जनलाई घटाउने कार्य योजनासमेत पेस गरिसकेका छन्।

तर, तापक्रम वृद्धिका संकट भने झन् नजिक आइरहेका छन्। संगठनले आगामी पाँच वर्षमा अथवा त्यसमध्ये एकवर्ष अहिलेसम्मकै सबैभन्दा धेरै तापक्रम रेकर्ड हुने सम्भावना रहेको औँल्याएको हो। सन् २०२२ मा विश्वको औसत तापक्रम सन् १८५० देखि सन् १९०० को औसत तापक्रम भन्दा १.५ डिग्रीले बढी थियो।

पछिल्ला तीन वर्षमा लानिनाको प्रभाव रहेको थियो। त्यसको प्रभाव सन २०२३ मार्चमा समाप्त भएको संगठनको भनाइ छ। अब एलिनोको प्रभाव विस्तार हुने र त्यसले गर्मी बढ्ने छ। एलिनोको प्रभाव समुन्द्रको तापक्रम वृद्धिको अवस्था हो भने  लालिना भनेको समुन्द्रको तापक्रम कमको अवस्था हो।  

जल तथा मौसम विज्ञान विभागकी सिनियर मेटेरियोलोजिस्ट डा. इन्दिरा कंडेलका अनुसार पूर्वी प्रशान्त महासागरको भूमध्यरेखा आसपास सरदरभन्दा बढी तापक्रमको अवस्थालाई एलिनो भनिन्छ। त्यसले हावाको गति तथा दिशालाई असर गर्छ। जसका कारण पानी पर्ने ठाउँमा सुख्खा हुने र सुख्खा हुने ठाउँमा पानी पर्ने जस्ता घटना बढ्न जान्छन्।

“एलिनोले हावाको दिशा र बहावलाई नै परिवर्तन गरिदिन्छ,” उनी भन्छिन् “यद्यपि एलिनोले मात्र वर्षालाई नियन्त्रण गर्दैन। हिन्द महासगरको सामुन्द्रिक तापक्रममा पनि भर पर्छ। यसवर्ष एलिनोले कम वर्षा हुन्छ भनिएको छ। तर, हिन्द महासागरमा हुने प्रणालीले बढी वर्षा हुन्छ भनिएको छ। यसको प्रभावका लागि बर्षायाम कुर्नुपर्छ।”

नेपालमा प्रभाव 
तापक्रमको प्रभाव नेपालजस्ता हिमाली देशमा छिटो पर्छ। अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (ईसीमोड)ले सन्  २०१९ मा प्रकाशित गरेको मुल्यांकन प्रतिवेदनका अनुसार विश्वव्यापी तापक्रम सरदर १.५ डिग्री वृद्धि हुँदा हिमालमा २ डिग्री वृद्धि हुन्छ। अहिलेकै अवस्थामा उत्सर्जन कायम रहे हिमालमा तापक्रम वृद्धि ५ डिग्री सेल्सियसका दरले हुने उक्त प्रतिवेदनमा उल्लेख छ। 

जलवायु मामिलाका जानकार ङमिन्द्र दाहाल १.५ डिग्री तापक्रम वृद्धिको अवस्थामा पनि हिमाली मुलुकमा उथलपुथलका जलवायुजन्य घटना वृद्धि हुने बताउँछन्। “तराई र मध्य पहाडमा हुने वर्षा अब हिमालमा पनि हुन थाल्छ। त्यस्तो अवस्थामा हाम्रा हिमाली बस्ती बग्न पुग्छन्,” उनी भन्छन् “हामीले पूर्वतयारी बलियो बनाउनुपर्छ। अन्यथा पछुताउनुको विकल्प छैन।”  

दुई वर्षअघि सिन्धुपाल्चोक र मनाङमा अस्वाभाविक वर्षा भएको थियो। १०० वर्षमा नभएको वर्षाले ल्याएको विनाशका कारण सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रमा २४ जनाको ज्यान गएको थियो। ८० अर्ब भन्दा बढीको क्षति भएको थियो। मनाङमा ६० परिवार विस्थापित भएका थिए। ती घटना हिमाली क्षेत्रका लागि नयाँ थिए। 

दाहाल अब हिमालका लागि त्यस्ता घटना दोहोरिने बताउँछन्। तापक्रम वृद्धि हुँदा जमिनको हावा हिमालभन्दा माथि जान्छ र त्यसले उच्च हिमाली क्षेत्रमा पनि वर्षा गराउँछ। 

ईसीमोडको उक्त प्रतिवेदनमा तापक्रम वृद्धिले पहाडी क्षेत्रमा जल प्रणालीमा प्रत्यक्ष प्रभाव पुग्ने, हिमाल पग्लिने उल्लेख छ। त्यसबाट हिन्दकुश हिमालय क्षेत्रमा बस्ने करिब २४ करोड मानिससहित १ अर्ब ६५ करोड जनसंख्याको खाद्यान्न, जैविक विविधता लगायतका क्षेत्रमा प्रतिकूल असर पर्ने छ। 

तापक्रम वृद्धिले प्रजातिको बसाइँसराइ छिटोछिटो हुने छ। त्यस्ता केही प्रजाति जो अनुकूलन हुन सक्दैनन् ती हराएर जाने सम्भावना पनि उत्तिकै रहेको प्रतिवेदनमा औँल्याइएको छ। 


सम्बन्धित सामग्री