Friday, April 19, 2024

-->

हिमालयनको ३ स्थान सुधार, रेलिगेसन जोनमा रहेको खुमलटारले आर्मीसँग अंक खोस्यो

हिमालयन शेर्पा क्लबले विभागीय टोली एपीएफलाई पराजित गर्दै शहीद स्मारक ए डिभिजन लिगमा तीन स्थान सुधार गरेको छ।

हिमालयनको ३ स्थान सुधार रेलिगेसन जोनमा रहेको खुमलटारले आर्मीसँग अंक खोस्यो

काठमाडौँ– पछिल्ला दुई खेलमा बराबरीको नतिजामा चित्त बुझाएको हिमालयन शेर्पा क्लबले विभागीय टोली एपीएफलाई पराजित गर्दै शहीद स्मारक ए डिभिजन लिगमा तीन स्थान सुधार गरेको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार सम्पन्न खेलमा हिमालयनले एपीएफलाई ३-२ गोल अन्तरले पराजित गरेको हो। योसँगै एपीएफविरुद्ध हिमालयनले लिगमा डबल (दुवै लेगमा पराजित) गरेको छ।

पहिलो लेगमा एपीएफविरुद्ध हिमालयनले ५-३ गोल अन्तरको जित हात पारेको थियो। शुक्रबार हिमालयनलाई जिताउन खामिर गिल्सन, पिस्टोने मुटुम्बा र अबायोमी फकुन्लेले १/१ गोल गरे। एपीएफका लागि शनिस श्रेष्ठ र युवराज खड्काले गोल फर्काए।

खेलको सातौँ मिनेटमै गिल्सनको गोलमा हिमालयनले शुरूआती अग्रता लिएको थियो। त्यसको ११ मिनेटपछि नै केन्याका सेन्ट्रल फरवार्ड मुटुम्बाले गोल गर्दै अग्रता दोब्बर बनाए। दोस्रो हाफको छैटौँ मिनेटमा नाइजेरियाली फरवार्ड फकुन्लेले गोल गरर्दै हिमालयनलाई ३-० गोल अन्तरले अघि बढाए।

तर, अन्त्यतिर एपीएफले लगातार दुई गोल गर्दै खेलमा फर्किने संकेत गरेको थियो। निर्धारित समय सकिन ३ मिनेट बाँकी रहँदा शनिसले एपीएफको खाता खोले। इन्जुरी समयमा युवराजले गोल गर्दै एपीएफलाई ३-२ गोल अन्तरमा पुर्‍याए।

जितसँगै हिमालयन अंक तालिकामा १०औँ स्थानबाट सातौँमा उक्लिएको छ। हिमालयनले लिगका १९ खेल खकिँदा ६ जित, ७ बराबरी र ७ हारको नतिजा बेहोर्दै २५ अंक जोडेको छ। यता, समान खेलबाट एपीएफको २२ अंक छ। एपीएफले ६ जित, ४ बराबरी र ९ हारको नतिजा बेहोरेको छ। एपीएफ एक स्थान तल झर्दै १०औँ स्थानमा पुगेको छ।

खुमलटारलाई एक अंक
विदेशी खेलाडीले दुवै गोल गर्दा एफसी खुमलटारले शहीद स्मारक ए डिभिजन लिगमा १ अंक बटुलेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार सम्पन्न खेलमा रेलिगेशनबाट बच्न संघर्ष गरिरहेको खुमलटारले विभागीय टोलीलाई त्रिभुवन आर्मी फुटबल क्लबलाई २-२ गोलको बराबरीमा रोकेको हो।

बराबरीसँगै आर्मी २६ अंक जोडेर छैटौँ स्थानमा यथावत् छ। आर्मीले १९ खेलमा ६ जित, ८ बराबरी र ५ हारको नतिजा बेहोरेको छ। यता, खुमलटारले समान खेलमा ५ जित, ३ बराबरी र ११ हारको नतिजा निकालेको छ। खुमलटार १८ अंकका साथ पुछारमा छ।

आर्मीका जगजित श्रेष्ठले खेलको १४औँ मिनेटमा शुरूआती अग्रता दिलाएका थिए। तर, ३५औँ मिनेटमा मोसुके ओलोमाउले गोल गर्दै खुमलटारलाई खेलमा फर्काए। जारी लिगमा उनको यो १४औँ गोल हो। उनले साविक विजेता मछिन्द्र फुटबल क्लबका ओलाओले अफिजको गोल संख्यासँग बराबरी गरेका छन्। अफिजले मेसुकेभन्दा २ अर्थात १५ खेल खेलेका छन्।

५१औँ मिनेटमा नवयुग श्रेष्ठले गोल गर्दा आर्मीलाई पुनः २-१ गोल अन्तरको अग्रता दिलाए। तर, ७५औँ मिनेटमा स्टेफन समिर बिनोङले गोल गर्दै खुमलटारलाई २-२ गोलको बराबरीमा फर्काए। त्यसपछि खेलमा गोल हुन सकेन।

खुमलटार लिगमा आर्मीसँग अपराजित रहेको छ। पहिलो लेगमा खुमलटार ३-२ गोल अन्तरले विजयी भएको थियो।


सम्बन्धित सामग्री