Thursday, April 25, 2024

-->

इंग्ल्यान्डको उमेर समूहबाट खेलेका सुलेमान पाकिस्तानबाट पनि साफ खेल्ने तयारीमा

राष्ट्रिय टिममा आबद्ध भएसँगै सुलेमानले असार ६ गतेबाट भारतमा शुरू हुने साफ च्याम्पियनसिप २०२३ मा पाकिस्तानको प्रतिनिधित्व गर्नेछन्। उनीसँगै उत्कृष्ट आठ खेलाडी राष्ट्रिय टोलीमा रहने छन्।

इंग्ल्यान्डको उमेर समूहबाट खेलेका सुलेमान पाकिस्तानबाट पनि साफ खेल्ने तयारीमा

तेस्रो पक्षको हस्तक्षेपपछि फुटबलको सर्वोच्च निकाय फिफाबाट निलम्बन परेसँगै फुटबल गतिविधि ठप्प भएको पाकिस्तानमा करिअर खोजिरहेका खेलाडी एकएक पलायन भए। त्यसरी पलायन भएका खेलाडीहरू यूएई, कुवेत, डेनमार्क र इंग्ल्यान्डसम्म पुगेका छन्। 

त्यसरी विदेशिएकामध्ये कतिपयले फुटबल खेल्न छाडिसके भने कति आफ्नै देश फर्किन थालेका छन्। पाकिस्तान फुटबल फेडेरेसन (पीएफएफ)माथि लगाइएको निलम्बन फुकुवा भएपछि उनीहरूसँगै अन्य देशमा जन्मिएका खेलाडीहरू पनि करिअर खोज्दै पुन: स्वदेश फर्किन थालेका हुन्। 

तिनैमध्येका एक हुन्, इंग्ल्यान्ड उमेर समूहको राष्ट्रिय टोलीबाट खेलिसकेका इसाह जाहिर सुलेमान। इंग्ल्यान्डको बर्मिङ्घममा सन् १९९८ जनवरी २६ मा जन्मिएका सेन्ट्रल-ब्याक सुलेमान करिअर खोज्दै स्वदेश फिर्ता भएका हुन्। उनले आगमी असार ६ गतेबाट भारतको बैङलुरूमा आयोजना हुने १४औँ संस्करणको साफ च्याम्पियन्सिपबाट पाकिस्तानी राष्ट्रिय फुटबल टोलीबाट डेब्यू गर्दैछन्। 

सुलेमानले आफ्नो राष्ट्रिय टोलीबाट खेल्ने पक्का भएको जानकारी पीएफएफले बिहीबार सामाजिक सञ्जालमार्फत् दिएको हो। "इसाह सुलेमानको राष्ट्रियता परिवर्तन गर्न गरिएको अनुरोधलाई फिफाले अनुमोदन गरेको छ," पीएफएफले भनेको छ," इंग्ल्यान्डका पूर्व यू-२० खेलाडीले अब पाकिस्तानको प्रतिनिधित्व गर्नेछन्।" 

"सुलेमान इंग्लिस प्रिमियर क्लब एस्टन भिल्लाको एकेडेमीका उत्पादन हुन्। उनले सन् २०१२ देखि १५ सम्म भिल्लाको यूथ टोलीबाट फुटबल खेलका थिए। यूथ टोलीमा गरेको अब्बल प्रदर्शनसँगै उनले भिल्लाको टोलीसम्म पुग्ने ढोका पनि खोले। 

सन् २०१५-१६ को सिजनमा प्रशिक्षक रेमी गार्डेले उनलाई सिनियर टोलीसँग प्रशिक्षणमा बोलाए। प्रशिक्षणमा उस्तै तेजिलो प्रतिभा देखाएका सुलेमानबाट रेमी प्रभावित भए। सन् २०१५ अगस्ट २५ मा नट्स काउन्टीविरुद्धको लिग कपमा उनलाई वैकल्पिक खेलाडीको रूपमा बेञ्चमा राखिएको थियो। तर, उनले मैदान प्रवेश गर्न भने पाएनन्।

सन् २०१७ अगस्ट २२ मा भएको लिग कपमा भने सुलेमानको लामो प्रतीक्षा अन्त्य भयो। लिग कपअन्तर्गत विगन एथ्लेटिकविरुद्ध ४-१ गोलअन्तरको जित हात पार्दा उनलाई प्रशिक्षक स्टीभ ब्रुसले खेलको ३४औँ मिनेटमा वैकल्पिक खेलाडीको रूपमा भिल्लाको टोलीमा डेब्यू गराएका थिए।

उनी भिल्लाको सिनियर टोलीमा सन् २०१५ देखि २०२० सम्म आबद्ध भए। यसबीचमा इंग्ल्यान्डका तल्ला डिभिजनका क्लबहरूमा लोनमा पनि पुगेका सुलेमानले यू-१६, १७, १८, १९ र २० मा इंग्ल्यान्ड टोलीको प्रतिनिधित्व गरिसकेका छन्। उनी कुनै पनि स्तरमा इंग्ल्यान्ड टोलीको कप्तानी गर्ने पहिलो ब्रिटिश-एशियाली खेलाडी हुन्।

सुलेमानले सन् २०१४ मा मोन्टाइगु टुर्नामेन्टमा इंग्ल्यान्ड यू-१६ टोलीको कप्तानी गरेका थिए। उनको टोली उक्त प्रतियोगितामा तेस्रो भएको थियो। फारोइ आइल्यान्डविरुद्ध इंग्ल्यान्ड यू-१७ टोलीको पनि नेतृत्व गरेका उनी अगस्ट २०१६ मा इङ्ल्यान्ड यू-१९ टोलीमा बढुवा भए। 

त्यसपछि नेदरल्यान्ड्स यू-१९ टोलीविरुद्धको मैत्रीपूर्ण खेलमा उनले पूरा समय मैदानमा बिताएका थिए। निर्धारित समयमा १-१ गोलको बराबरीमा सकिएको उक्त खेलको पहिलो हाफमा टम डेभिसले गोल गर्दै अग्रता दिलाएका थिए। तर, ८४औँ मिनेटमा नेदरल्यान्ड्सका जस्टिन हुग्माले गोल गर्दै खेल बराबरीमा ल्याए।

पेनाल्टी शुटआउटमा इंग्ल्यान्डले ९-८ गोलअन्तरको जित हात पार्दा सुलेमानले निर्णायक गोल गरे। ६१औँ मिनेटमा डेभिसले आर्मब्यान्ड दिँदै उननलाई मैदान प्रवेश गराएका थिए। सन् २०१७ जुलाईमा आयोजना भएको यूईएफए युरोपियन यू-१९ च्याम्पियन्सिपमा पनि सुलेमान खेलेका थिए। 

प्रतियोगिताको हरेक खेलमा शुरूआती ११ मा स्थान बनाएका सुलेमानले पोर्चुगलविरुद्धको फाइनल खेलको ५०औँ मिनेटमा गोल गरे। उनको उक्त गोलबाट हर्षित भएको इंग्ल्यान्डले फाइनलमा पोर्चुगललाई २-१ गोलअन्तरले पराजित गर्दै १०औँ पटक उपाधि जित्यो। 

सुलेमानले क्लब फुटबलमा दुई गोल र एक असिस्ट सहित १४२ खेल खेलेका छन्। राष्ट्रिय टिममा आबद्ध भएसँगै उनले असार ६ गतेबाट भारतमा शुरू हुने साफ च्याम्पियनसिप २०२३ मा पाकिस्तानको प्रतिनिधित्व गर्नेछन्। उनीसँगै उत्कृष्ट आठ खेलाडी राष्ट्रिय टोलीमा रहने छन्।

सुलेमानलाई यसपटक इंग्ल्यान्डमै जन्मिएका अट्याकिङ मिडफिल्डर आदिल नाबी, अट्याकिङ मिडफिल्डर तथा विङ्गर ओटिस खान, हारून हमिदले साथ दिनेछन्। सुलेमान हाल पोर्चुगिज क्लब भिलाफ्रन्क्विसमा आबद्ध छन्। आदिल ग्रीसको दोस्रो डिभिजनको क्लब एथेन्स कालिथियाबाट खेलिरहेका छन्। 

ओटिस इंग्ल्यान्डको ग्रिम्स्बी टाउन र हमिद पाकिस्तान यू-२१ टोलीमा छन्। यस्तै, डेनमार्कमा जन्मिएका अब्दुल अर्शद र अब्दुल्ला इकबाल पनि पाकिस्तानको टोलीबाट खेल्ने तयारीमा छन्। अट्याकिङ फरवार्ड इकबाल हाल डेनमार्कको पहिलो डिभिजनको क्लब एचबी कोगेबाट खेलिरहेका छन् भने डिफेन्डर अर्शदले दोस्रो डिभिजनको बोल्ड क्लबबेनसँग सम्झौता अन्त्य गरेका छन्।

आन्तरिक विवाद अदालतसम्म प्रवेश गरेपछि फिफाले सन् २०२१ अप्रिलमा तेस्रो पक्षको हस्तक्षेप भएको भन्दै पीएफएफलाई निलम्बन गरेको थियो। फिफाले करिब दुई वर्षपछि तदर्थ समिति गठन गर्दै पीएफएफमाथिको निलम्बन फुकुवा गरेको हो। उक्त समितिले सम्पूर्ण अधिकार आफ्नो हातमा लिएको पुष्टि गरेपछि यसैबर्ष फिफाले तत्कालका लागि निलम्बन हटाएको हो। 

सो समितिलाई आर्थिक गतिविधि गर्ने अधिकार समेत दिइएको फिफाले जनाएको छ। फिफाले तदर्थ समितिमाथि हस्तक्षेप भए पुनः पीएफएफलाई निलम्बन गर्ने या प्रतिबन्ध लगाउन सक्ने चेतावनी दिएको छ। सो तदर्थ समितिको म्याद २०२३ जुन ३० सम्म छ।

पाकिस्तानले साफमार्फत् अन्तर्राष्ट्रिय प्रतियोगितामा पुनरागमन गर्दै छ। असार ६ गतेदेखि १९ सम्म बैङलुरूमा आयोजना हुने यसपटकको साफ १४औँ संस्करण हो। दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले बुधबार सार्वजनिक गरेको खेल तालिकाअनुसार पाकिस्तानले समूह चरणको अन्तिम खेल असार १२ गते नेपालसँग खेल्ने छ। पाकिस्तान र नेपालबीचको खेल दिउँसो ३:४५ बजेबाट शुरू हुने छ। 

निलम्बनबाट फुकुवा भएसँगै पाकिस्तानले टोलीलाई बलियो बनाउन यूएईमा अल-राम्सबाट दोस्रो डिभिजनको लिग खेलिरहेका गोलरक्षक हम्जा जाहिद र कतारमा सोही स्तरको लिग खेलिरहेका अब्दुल रहमान शेर खानलाई पनि राष्ट्रिय टोलीमा सहभागी गराउने तयारी गरेको छ। टोलीका मुख्य प्रशिक्षक शहजाद अनवर आफ्नो टोली पूर्ण रहेको दाबी गर्छन्। तर, उनी यस वर्षको अन्त्यमा हुने फिफा विश्वकप २०२६ छनोटअघि प्रयाप्त एक्सपोजरको खोजिमा रहेका छन्। 

"हाम्रो टोली हरेक हिसाबले पूर्ण छ। हामीसँग ६ गोलकिपर छन् र तीमध्ये तीन सिनियर र तीन यू-२२ का हुन्। हामीले युएईमा रहेका गोलकिपर हम्जालाई पनि सम्पर्क गरेका छौँ, उनी पनि जुन फिफा विन्डोमा हाम्रो लागि उपलब्ध हुनेछन्। सुलेमान, ओटिस र ए नाबी पनि जुनमा हामीसँग हुनेछन्। तर, अहिले हामीलाई एक्सपोजर चाहिएको छ," शेहजादले 'द न्यूज'सँगको संवादमा भनेका छन्। 

उनले साफलाई विश्वकप छनोटको तयारीका रूपमा लिएका छन्। पाकिस्तानको मुख्य लक्ष्य विश्वकप छनोटअघि १० देखि १२ खेल जित्ने रहेको छ। यसअघि ११ पटक साफमा सहभागिता जनाएको पाकिस्तानले नेपालमा सन् १९९७ मा आयोजना भएको तत्कालीन एसियन फुटबल फेडेरेसन गोल्डमा श्रीलंकालाई १-० गोल अन्तरले पराजित गर्दै तेस्रो स्थान हात पारेको थियो। साफ इतिहासमा पाकिस्तानले हात पारेको त्यो नै सबैभन्दा ठूलो उपलब्धि हो। 

यसपटक पाकिस्तान सामेल समूहमा साविक विजेता भारत र उपविजेता नेपालसँगै आमन्त्रित टोली कुवेत पनि छ। सुलेमानजस्तै उत्कृष्ट पाकिस्तानी खेलाडीको लागि टोलीको ढोका खुला रहेको प्रशिक्षक शेहजाद बताउँछन्। "साफ र विश्वकप छनोटमा सहभागिता जनाउनुभन्दा अगाडि हामीसँग समय छ। यसबीचमा कुनै पनि अनुभवी तथा उत्कृष्ट खेलाडी पायौँ भने हामी उसलाई टोलीमा स्वागत गर्नेछौँ," उनले भने।


सम्बन्धित सामग्री