Friday, April 19, 2024

-->

भ्रष्टाचारविरुद्ध उठ्दै नागरिक, देशभर फैलिँदै स्वस्फूर्त आन्दोलन

गएको मंगलबार साँझ लेखक सञ्जीव उप्रेतीले सामाजिक सञ्जालमा ‘भ्रष्टाचार ढाकछोपविरुद्ध नागरिक आन्दोलन’ हुने जनाउ दिए। बुधबार भद्रकालीमा प्रदर्शन भयो। त्यसपछि देशका धेरै भागमा आन्दोलन फैलिएको छ।

भ्रष्टाचारविरुद्ध उठ्दै नागरिक देशभर फैलिँदै स्वस्फूर्त आन्दोलन

काठमाडौँ– शनिबार नक्सालस्थित नारायणचौरमा भएको ‘भ्रष्टाचार ढाकछोप विरुद्ध’को नागरिक आन्दोलनमा फोटोग्राफर कसिसदास श्रेष्ठ पनि सहभागी भए। नक्कली शरणार्थी प्रकरणले भ्रष्टाचारलाई उदांगो पारेको मात्र नभई, अन्तर्राष्ट्रिय रूपमै नेपालको बेइज्जत भएको उनी बताइरहेका थिए।

यो प्रकरणले नेपालबाहिर बस्ने नेपालीको मनोबलमा नकारात्मक प्रभाव पर्ने श्रेष्ठ बताउँछन्। त्यसकारण, यसपटक पनि आफू नागरिक आन्दोलनमा सहभागी हुन आएको उनको भनाइ छ।

श्रेष्ठ मौका मिल्दा नागरिक आन्दोलनमा सक्रिय भइहाल्छन्। प्रायः अमेरिका बस्छन्। यसपटक तीन पुस्ताले खिचेको फोटोहरूको प्रदर्शनी ‘पास्टकार्ड्स फ्रम काठमाण्डुज’का लागि उनी नेपाल आएका हुन्। यसअघि आउँदा उनी ‘अकुपाई बालुवाटार’ लगायत आन्दोलनमा सक्रिय थिए। केही समयपछि अमेरिका फर्कन लागेका श्रेष्ठ भ्रष्टाचारका विषयमा राजनीतिक चलखेल भएर दोषी जोगाउनतिर लागिए ‘युवा किन विदेशिए’ भन्ने कारण दिइरहनु नपर्ने बताउँछन्।

शनिबार नारायणचौरमा भएको आन्दोलनमा श्रेष्ठसहित विभिन्न राजनीतिक दलका नेता, सामाजिक अभियन्ता, व्यवसायी लगायत सहभागी थिए। नक्सालअघि माइतीघर मण्डलमा पनि युवाहरूले आन्दोलन गरेका थिए।

आन्दोलनमा बोकिएका ‘प्लाकार्ड’मा भ्रष्टाचारविरुद्धका नारा थिए। ‘भन्छौँ हामी बाराम्बार, भ्रष्टाचारलाई कारागार’, ‘अति भो, अति भो, दाइ–भाउजूबाट देशलाई सास्ती भो’, ‘दाइ–भाउजु मात्र होइन, भ्रष्टचारी भए मेरै आमाबुबालाई पनि कारबाही गर’, ‘कुरा सिधै प्रस्ट छ, हाम्रो सिस्टम भ्रष्ट छ’, ‘करोडौँ पर्ने महल तिमीलाई कसले किन्दियो?’ लगायत नारा प्लाकार्डमा थिए। 

सिन्धुलीमा भएको आन्दोलनका सहभागी।

यता, शनिबार नै सिन्धुलीमा नागरिक आन्दोलन भएको छ। त्यहाँको आन्दोलनको तस्वीर मुकेश घिमिरे सामाजिक सञ्जाल ट्विटरमा राखेका छन्। शनिबार नै पोखरा, चितवन, सिन्धुली, स्याङजा लगायत ठाउँमा पनि भ्रष्टाचारविरुद्ध नागरिकहरूले प्रदर्शन गरेका छन्।

भ्रष्टाचारको ठूला काण्ड बाहिर आएपछि नागरिकहरूलाई अत्यास भएको लेखक था नागरिक आन्दोलन अगुवा अर्चना थापा बताउँछिन्। अहिले नागरिक तहबाट स्वतःस्फूर्त आन्दोलन भइरहेको उनी बताउँछिन्।

लेखक थापा आन्दोलनबाट जनतामा भएको असन्तुष्टि निस्किएको बताउँछिन्। उनी भन्छिन्, “कसैले योजना गरेको होइन। एक जनाले सडकमा निस्कौँ भनेर सामाजिक सञ्जालमा लेख्नुभयो, अन्यले यसमा साथ दिएको मात्र हो।”

कसरी शुरू भयो आन्दोलन?
थापाले भनेजस्तो सामाजिक सञ्जालमा आन्दोलन आह्वान गर्ने लेखक सञ्जीव उप्रेती थिए। नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्री बालकृष्ण खाँण मुछिएसँगै गत मंगलबार नागरिक आन्दोलनका अगुवा तथा लेखक उप्रेतीले फेसबुक र ट्विटरबाट बुधबार काठमाडौँस्थित भद्रकाली मन्दिर परिसरअघि ‘भ्रष्टाचार ढाकछोप विरुद्ध’को आन्दोलन गर्ने जनाउ दिए। बुधबार बिहान नै खाँण पक्राउ परे। तर, नागरिकको आन्दोलन रोकिएन। त्यस दिन साँझ भद्रकालीबाट ‘भ्रष्टाचार ढाकछोपविरुद्धको आन्दोलन’ शुरू भयो।

“स्पष्ट जाँचबुझ हुनु पर्‍यो, प्रहरीले गरिरहेको अनुसन्धानमा हस्तक्षेप हुनुभएन। प्रहरी र न्यायालय स्वतन्त्र हुनु पर्ने अंग हो,” उप्रेतीले भने, “तर हाम्रो विगतको अनुभवले प्रहरी, न्यायलयमा राजनीतिक हस्तक्षेप हुने देखाएको छ। यस्तो किसिमको हस्तक्षेपले अपराधीलाई लुक्ने र फुत्कने बाटो छोडिदिने रहेछ।”

सोही कारण पनि नागरिकस्तरबाट दबाब दिनुपर्ने उनी बताउँछन्। नागरिकको कर्तव्य एकपटक भोट दिएर पाँच वर्ष नेताको कुरा काट्नै बिताउनु मात्र नभएको उनको भनाइ छ। “नक्कली शरणार्थीको हालको मुद्दा संवेदनशील भएको कारण नागरिकले राज्यलाई दबाब दिन उपयुक्त समय हो,” उप्रेती भन्छन्, “नागरिक समाजसँग जोडिएका मात्र नभई आन्दोलनमा अरू नागरिकको पनि स्वतस्फूर्त ऐक्यबद्धता छ।”

काठमाडौँमा बुधबार नागरिक आन्दोलन भएको अर्को दिन बिहीबार चितवनमा भ्रष्टाचारविरुद्ध ‘सडक कविता’ भयो। उक्त आन्दोलनमा युवाको सहभागिता बढी रहेको कवि भूपिन खड्काले उकालोलाई बताए।

“फलाम तातो भएको बेलामै हान्नु पर्छ भनेझैँ हामीले घटना आलोतातो हुँदा काठमाडौँमा आन्दोलन भएको अर्को दिन चितवनमा आन्दोलन गरेका थियौँ,” उनले भने।
साहित्यकारहरूको तर्फबाट नेपालभर पहिलो कार्यक्रम चितवनबाट शुरू भएकोे उनको दाबी छ। “देश जबजब संकटमा पर्छ, तब हामीले कविता, साहित्यमार्फत खबरदारी गरेका थियौँ, गर्ने पनि छौँ,” खड्का भन्छन्।

उता, पोखरामा केही साहित्यिक तथा सिर्जनात्मक रचना वाचन गरेर भ्रष्टाचारविरुद्ध आन्दोलन गरेको लेखक गनेस पौडेल बताउँछन्। त्यहाँ आन्दोलनका लागि फेसबुकबाट पौडेलले नै आह्वान गरेका थिए। आन्दोलनमा ५०० देखि ७०० युवाको उपस्थिति रहेको उनको अनुमान छ। अमृत सुवेदी, अनुप बरालसहित ३२ कविले कविता वाचन गरेका थिए।

पोखरा थिएटरले भ्रष्टाचारको विषयमा नाटक मञ्चन पनि गरेको थियो। “नाटकमा भ्रष्टाचारको सन्दर्भमा लहरो तान्दा पहरो जान्छ भन्ने विषयलाई समातिएको छ। अब नागरिक आन्दोलनले लहरो मात्र नभई पहरो नै भत्कियोस् भन्ने संवादविहिन बिम्ब नाटकमा प्रस्तुत भएको थियो,” पौडेलले भने।

पार्टी कार्यकर्ताको उपस्थित कतिको उचित?
नागरिकको तहबाट भएका आन्दोलनमा केही पार्टीले पनि ऐक्यबद्धता र सहभागिताको लागि आह्वान गरेका थिए। विवेकशील साझा पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टीले आधिकारिक फेसबुक पेजबाट यस्तो आह्वान गरेका थिए। त्यसबाहेक विभिन्न सामाजिक सञ्जाल, फोन, मेसेन्जरबाट पनि आन्दोलनमा सहभागीताका लागि आह्वान भएको विवेकशील साझाका उपाध्यक्ष प्रकाशचन्द्र परियारको भनाइ छ। 

माइतीघर मण्डल र नक्सालमा भएका आन्दोलनमा ‘वैकल्पिक राजनीति’ को नारा लगाइरहेको विवेकशील साझा सदस्य मात्र नभइ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने पनि उपस्थित थिए। त्यस्तै, बाबुराम भट्टराई, हिसिला यमीलगायत नेताहरू उपस्थित थिए। 

आन्दोलनमा सहभागी विवेकशील साझाका प्रवक्ता परियार यस प्रकारको विरोधको अभियानलाई ‘अवसर’ मात्र नबनाइ आफ्नै दलभित्रका ‘भ्रष्ट नेताहरू’ विरुद्ध बोल्नुपर्ने बताउँछन्।

“आज देशभरबाट आन्दोलनमा मानिसहरू सहभागी भएका छन्। कुनै संस्था, व्यक्ति वा वैकल्पिक दल नै किन नहुन्, भ्रष्टाचारमा सबै जना एउटै मोर्चामा आउन लालायित देखिएको छ”, परियार भन्छन्, “नागरिक समाजले गरेको आन्दोलनमा ऐक्यबद्धता जनाउँदा हाम्रो पार्टी झण्डा नबोकी जानुलाई उचित मान्छ।”

लेखक गनेस पौडेल आन्दोलनमा दलका नेताहरू झण्डा नबोकी जानुलाई सकारात्मक मान्छन्। जबसम्म पार्टीगत झण्डा नबोकी दलका नेता कार्यकर्ता नागरिक सरह सहभागी हुन्छन्, तब मात्र आन्दोलनको अभिप्रयामा फरक नपर्ने उनी बताउँछन्।
 


सम्बन्धित सामग्री