काठमाडौँ- सत्तासीन दल नेपाली कांग्रेसको शीर्ष नेतृत्व नै तयार नभएपछि नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका केन्द्रीय सदस्य एवं पूर्व गृहमन्त्री बालकृष्ण खाँण तत्काल पार्टीबाट निलम्बित नहुने भएका छन्।
आफू निकट रहेका खाँणलाई जिम्मेवारीबाट निलम्बन गरिहाल्ने पक्षमा नरहेका कांग्रेस सभापति शेरबहादुर देउवाले दोस्रो पुस्ताका केही नेताहरूको समेत बलियो साथ पाएपछि खाँणले पार्टी संस्थापनको सहानुभूति पाउने अवस्था आएको हो।
खाँण गिरफ्तार भएपछि उनलाई पार्टीबाट निलम्बन गर्ने कि नगर्ने भन्ने विषयमा निर्णय लिन बिहीबार देउवा निवासमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बैठक नै निष्कर्षविहीन भएको थियो। त्योसँगै उनलाई निलम्बन गरेर पार्टीको तर्फबाट उच्च नैतिक आचरण प्रस्तुत गर्न सभापति देउवालाई दबाब दिँदै आएको धार कमजोर देखिएको छ।
खाँणलाई तत्काल निलम्बन गर्नुपर्ने पक्षमा पार्टीका उपसभापति धनराज गुरुङ तथा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा लगायतले आवाज उठाउँदै आएका छन्। बिहीबारको बैठकमा पनि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले खाँणलाई पार्टीबाट निलम्बन गर्नुपर्ने अडान राखेका थिए, जसलाई उपसभापति धनराज गुरुङले समर्थन गरेका भए पनि सभापति देउवाले मौन बसेर टारिदिए।
सहमहामन्त्री महेन्द्र यादवले देउवाको मनसायलाई बल पुर्याउँदै खाँणलाई तत्काल निलम्बन गर्न यथोचित प्रमाण नभएको हुनाले कारबाही गर्न नमिल्ने मत राखेका थिए। खाँण अहिले अभियुक्त मात्रै भएकाले तत्कालै पार्टीले कारबाही गरिहाल्ने स्पष्ट आधार नभएको उनको तर्क थियो।
अर्थमन्त्री तथा कांग्रेस प्रवक्ता प्रकाशशरण महत, कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङ र रमेश लेखक बिहीबारको पदाधिकारी बैठक नसकिँदै बाहिरिएका थिए। बैठकपछि महामन्त्रीद्वय थापा र शर्मालगायतका पदाधिकारीहरू सञ्चारकर्मीलाई कुनै प्रतिक्रिया नै नदिई हिँडेका थिए।
जोगाउने प्रयासमा देउवा!
हालसम्म कांग्रेसका पदाधिकारीहरूमा एक उपसभापति र दुई महामन्त्रीबाहेक कोही पनि खाँणलाई कारबाही गर्नुपर्छ भन्ने पक्षमा नभएको कांग्रेस नेता गुरुराज घिमिरे बताउँछन्। बिहीबारको पदाधिकारी बैठकमा पनि यी तीन जना बाहेक कुनै पदाधिकारीले देउवालाई निलम्बन गर्ने राय नदिएको उनले बताए।
“कांग्रेसमा खुमबहादुर खड्का, चिरञ्जीवी वाग्ले र विजय गच्छदार लगायतका नेतामाथि पनि भ्रष्टाचारको आरोप लागेपछि अदालतले फैसला गर्दासम्म पनि निलम्बन नगरेको विगत छ। त्यसैले कारबाही नगर्ने नेताहरूको तर्क आएको हामीले सुनेकै छौँ,” उनी भन्छन्, “तीन जना पदाधिकारीबाहेक अरू कसैले कारबाही गर्नुपर्छ भनेर नभनेपछि को को कारबाही गर्ने पक्षमा छैनन् भन्ने कुरा त स्पष्टै छ नि।”
केही पदाधिकारीहरूले केन्द्रीय समितिको बैठक राखेर यसबारे निर्णय गर्न सुझाव दिए पनि सभापति देउवाले त्यसको कुनै जवाफ नदिएको घिमिरेले बताए। कांग्रेसको विधानअनुसार केन्द्रीय समिति र केन्द्रीय कार्यसम्पादन समितिले मात्रै आधिकारिक निर्णय गर्न सक्छ।
कांग्रेसका सांसद अर्जुननरसिंह केसीले भ्रष्टाचार जस्तो गम्भीर विषयमा केन्द्रीय समितिको बैठक नबसेर नाम मात्रको पदाधिकारी बैठक बसेको भनी असन्तुष्टि जनाए। “हिजो बसेको पदाधिकारी बैठकको कुनै अर्थ नै थिएन। यतिबेला त केन्द्रीय समिति वा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्नुपर्थ्यो,” उनी भन्छन्, “भ्रष्टाचारको यस्तो गम्भीर आरोप लागिसकेपछि पार्टीले तत्काल केन्द्रीय समितिको बैठकमा छलफल गरेर निर्णय गरिसक्नुपर्थ्यो।”
अहिले भ्रष्टाचारको कुनै पनि काण्डमा कुनै पनि पक्षले संरक्षण वा अवरोध गर्दा नेपाली जनताबाट तिरस्कृत हुनुपर्ने चेतावनी उनले पार्टी नेतृत्वलाई दिए। “पार्टीले जुन पदको मान्छे भए पनि यस्तो गम्भीर आरोप लागिसकेपछि तत्काल अनुसन्धानमा सघाउन मद्दत गर्नुपर्थ्यो,” उनी भन्छन्।
खाँणले पैसा नखाएको तर्क
देउवाको पक्षमा उभिएका कांग्रेस नेताहरू सोही प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि फरार रहेका विपक्षी दल नेकपा एमालेका सांसद टोपबहादुर रायमाझीसँग तुलना गरेर खाँणको बचाउ गरिरहेका छन्। रायमाझी सम्पर्कविहीन भए पनि खाँणले हिरासतमा बसेर प्रहरीलाई अनुसन्धानका लागि सघाएकाले उनी निर्दोष रहेको अभिव्यक्ति कांग्रेसका केही नेताहरूले दिइरहेका छन्।
तिनैमध्येका अर्का सहमहामन्त्री जीवन परियार नक्कली भुटानी शरणार्थी प्रकरणमा खाँणले पैसा नखाएको दाबी गर्छन्। "यदि भ्रष्टाचार गर्नुभएको हुन्थ्यो भने उहाँ पनि लुक्न सक्नुहुन्थ्यो नि। तर उहाँ त प्रहरी जाँदा आफ्नै निवासमा हुनुहुन्थ्यो,” परियार भन्छन्, “अनुसन्धानमा सघाउँछु भनेर नै उहाँ प्रहरीसँगै जानुभयो। कुनै कसुर गरेको भए टोपबहादुरजस्तै उहाँ पनि फरार हुन सक्नुहुन्थ्यो।”
“हाम्रो पार्टीका नेताको नाम आउनेबित्तिकै उनले प्रहरी हिरासतमा बसेर अनुसन्धान प्रक्रियामा सघाइरहेका छन्,” उनी भन्छन्, “कुरा रह्यो निलम्बनको, त्यसमा हालसम्म पार्टीले कुनै निर्णय गरिसकेको छैन। अहिलेसम्म उहाँ आरोपित मात्र हुनुहुन्छ। त्यसैले अहिले नै पार्टीले दोषी मानेर कारबाही गरिहाल्ने निर्णयसम्म पुगेको छैन।”
कांग्रेसको युवा संगठन नेपाल तरुण दलका पूर्वअध्यक्ष समेत रहेका अर्का सहमहामन्त्री यादवले पनि खाँणलाई राजनीतिक रूपमा फसाउन खोजिएको आरोप लगाएका छन्। खाँणले नक्कली भुटानी शरणार्थी प्रकरणमा एक पैसा पनि नखाएको दाबीमा उनी पनि परियारजस्तै निर्धक्क सुनिन्छन्।
“उहाँलाई फसाउन खोजिएको छ। उहाँ आफैले पनि भनिसक्नुभएको छ कि मैले केही गरेको छैन। बरु नाम मुछिएपछि हिरासतमा बसेर उहाँले प्रहरीलाई सघाइरहनुभएको छ,” यादवले उकालोसँग भने, “उहाँ गृहमन्त्री हुँदा कोही नक्कली भुटानी शरणार्थी पनि अमेरिका गएको छैन। त्यसैले उहाँ डराउनुभएको छैन। र, ढिलोचाँडो निर्दोष साबित भएर बाहिर आउनुहुन्छ भन्ने हामीलाई पूरा विश्वास छ।”
नक्कली शरणार्थी प्रकरणमा संलग्न संगठित गिरोहसँग तत्कालीन गृहसचिव टेकनारायण पाण्डेसँगै प्रत्यक्ष सम्पर्कमा रहेको र रकम लेनदेनमा समेत जोडिएको प्रमाणका आधारमा प्रहरीले खाँणलाई बुधबार बिहान उनकै निवासबाट पक्राउ गरेको थियो। खाँणसँगै उनी गृहमन्त्री छँदाका स्वकीय सचिव नरेन्द्र केसी पनि पक्राउ परेका थिए। हालसम्म नक्कली भुटानी शरणार्थी प्रकरणमा १२ जना पक्राउ परिसकेका छन्।
यस प्रकरणको अनुसन्धानमा तानिएका एमाले सांसद टोपबहादुर रायमाझीविरुद्ध वैशाख २० गते नै पक्राउ पुर्जी जारी भएको थियो। तर हालसम्म पनि उनी प्रहरी सम्पर्कमा आएका छैनन्। यद्यपि, एमालेले उनलाई अनुसन्धान प्रक्रिया सम्पन्न नभएसम्मका लागि पार्टी सचिवको जिम्मेवारीबाट निलम्बन गर्नुका साथै प्रहरीको सम्पर्कमा आएर अनुसन्धानमा सघाउन निर्देशन दिएको छ।