Friday, March 29, 2024

-->

आत्मनिर्भर बन्न कृषि क्षेत्रमा लगानी बढाउनुपर्ने सांसदहरूको माग

राष्ट्रिय सभा सदस्यहरूले पुराना बीउ बिजनको प्रोत्साहन गर्दै, आत्मनिर्भर बन्न कृषि क्षेत्रमा लगानी बढाउनुपर्ने आवश्यक रहेको बताएका छन्।

आत्मनिर्भर बन्न कृषि क्षेत्रमा लगानी बढाउनुपर्ने सांसदहरूको माग

काठमाडौँ– सांसदहरूले कृषि क्षेत्रमा लगानी बिस्तार गरेर अघि बढ्न सरकारलाई सुझाव दिएका छन्। बिहीबार सिंहदरबारमा बसेको दिगो विकास तथा सुशासन समितिको बैठकमा अधिकांश सदस्यहरूले कृषि क्षेत्रमा लगानी बिस्तार गरी आत्मनिर्भर बन्नुपर्नेमा जोड दिएका हुन्।

उनीहरूले पुराना बीउ बिजनको प्रोत्साहन गर्दै कृषि उद्योगको स्थापना गर्न आवश्यक रहेको बताए। समितिको बैठकमा बोल्दै राष्ट्रियसभा सदस्य नन्दा चपाईंले आगामी वर्षको बजेटमा सरकारले कृषि क्षेत्रमा सबैभन्दा बढी लगानी गर्न आवश्यक रहेको बताइन्।

“वास्तविक किसानले अनुदान नपाएको गुनासो छ, त्यसलाई अनुसन्धान गर्न जरुरी छ। मलखाद वितरणमा अनियमितता भयो भन्ने कुरा छ, अनुगमन बढी हुनुपर्छ,” उनले भनिन्। कृषकका उत्पादनहरूलाई बजारीकरण गर्ने र उत्पादन राख्ने चिस्यान केन्द्रहरू स्थापना गर्नुपर्नेमा जोड दिइन्।

समितिको बैठकमा बोल्दै राष्ट्रियसभा सदस्य सिंगबहादुर विश्वकर्माले मलखाद भारतबाट मात्रै नभई चीन सरकारबाट पनि ल्याउनका लागि पहल गर्न सरकारको ध्यानाकर्षण गराए।

उनले चीनबाट ल्याउँदा छिटो र सहजै आउने भएकाले मलखादका लागि चीन सरकारसँग सम्झौता अघि बढाउन सुझाव दिए। “चीनसँग हामीले सम्झौता गरौँ न, छिटो र सहज पनि हुन्छ। मन्त्रालयले चीनसँग संयोजन गरेर बाटो सहज गर्नुपर्छ” उनले भने।

बैठकमा बोल्दै राष्ट्रियसभा सदस्य मृगेन्दकुमार सिंह यादवले राज्यले कृषि क्षेत्रलाई बेवास्ता गर्दा उत्पादनमा कमी भइरहेको जिकिर गरे। उनले सरकारले हालसम्म बजेटको २ प्रतिशतभन्दा बढी कृषिमा लगानी नगरेकोप्रति असन्तुष्टि जनाए।

“बजेटमा कृषिमा बढी लगानीको व्यवस्था गर्नुपर्छ। कृषिमन्त्रीलाई मन्त्रिपरिषद्मा अर्थमन्त्री लगायत अन्य मन्त्रीसँग झगडा नै गरिराख्नुपर्छ,” उनले भने।

बैठकमा बोल्दै राष्ट्रियसभा सदस्य नारायणप्रसाद दाहालले सबै कुरा आउने गरे पनि मन्त्रालयका मन्त्री र कर्मचारीहरूको इमानदार नहुँदा कृषि क्षेत्रले समस्या बेहोर्नुपरेको बताए। उनले सिँचाइको अवस्था अहिले पनि दयनीय रहेको भन्दै सरकारले कृषिको उत्पादन बढाउन सिँचाइको व्यवस्था गर्नुपर्नेमा जोड दिए।

“कृषि उत्पादन भन्छौँ, सिँचाइको अवस्था हेर्ने हो भने दुई वटा सिँचाइ योजना छ, दुई वटै जनताले आकाश हेर्नुपर्छ धान रोप्ने बेलामा। यो सबै केले रोकेको छ,” उनले भने, “खरिद ऐनको बारेमा विस्तृत छलफल हुनुपर्छ।”


सम्बन्धित सामग्री