Thursday, April 25, 2024

-->

सरकारमा जानेबारे रास्वपामा दुई धार, प्रमुख निशाना आउँदो आमनिर्वाचन

रास्वपा सरकारमा जाने कि नजाने भन्नेबारे अहिले त्यहाँभित्र पनि दुई बलिया धार छन्। तर, उसको मुख्य ध्येय भने २०८४ सालको निर्वाचनलाई लक्षित गरेर संगठन तयार गर्ने देखिन्छ।

सरकारमा जानेबारे रास्वपामा दुई धार प्रमुख निशाना आउँदो आमनिर्वाचन
फाइल तस्वीर

काठमाडौँ- उपनिर्वाचनमा उत्साहजनक मतका साथ दुई सिट जितेर संसदमा २१ सिट पुर्‍याएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र सरकारमा सामेल हुने कि नहुने भन्ने विषयमा दुई धार देखा परेको छ। यसबारे निर्णय गर्न शुक्रबार संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठक बस्दैछ। 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले रास्वपा सभापति रवि लामिछानेलाई सरकारमा सहभागी हुन आग्रह गरेपछि उनले पार्टीमा छलफल गरेर मात्रै भन्न सकिने बताएका थिए। सोमबार बसेको रास्वपाको केन्द्रीय समितिको बैठकमा पनि सरकारमा जाने कि नजाने भन्ने विषयमा छलफल भएको थियो। तर, बैठकमा मिश्रित धारणा आएपछि अन्तिम निर्णय लिन शुक्रबार केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक आह्वान गरिएको छ। 

केन्द्रीय सदस्य गणेश कार्कीका अनुसार यसअघिको बैठकमा कतिपयले सरकारमा जानुपर्छ भनेका थिए भने कतिपयले प्रतिपक्षमा बस्नुपर्ने सुझाएका थिए। “सोमबारको बैठकमा मिश्रित विचार आएको थियो। कति साथीहरूले पुरानै मन्त्रालय पाएमा जाँदा हुन्छ भनेका थिए। सरकारमा गएपछि डेलिभरी दिन सकिन्छ भन्ने उनीहरूको भनाइ थियो,” कार्की भन्छन्, “अर्काथरी साथीहरूले सरकारलाई समर्थन कायम राखेर प्रतिपक्षमा बस्न सुझाएका थिए। सरकार ढाल्ने र बनाउनेतिर लाग्नुहुँदैन भन्ने उनीहरूको भनाइ थियो भने समर्थन फिर्ता लिएर विशुद्ध प्रतिपक्षको भूमिकामा बसौँ भन्नेहरू पनि थिए।”

उपनिर्वाचनपछिको उत्साह
वैशाख १० गते भएको उपनिर्वाचनमार्फत् दुई सिट जितेर संसदमा साविकको सिट संख्या र जनमत दुवैमा प्रगति गरेको रास्वपाभित्र अहिले उत्साहको माहोल छ। २०७९ मंसिर ४ को निर्वाचनमा चितवन-२ बाट निर्वाचित रास्वपा सभापति रवि लामिछानेको भारी मतान्तरसहितको पुनरागमन, अर्थशास्त्री स्वर्णिम वाग्लेको पार्टी प्रवेश र फराकिलो मतान्तरसहितको जीत पार्टीभित्रको पछिल्लो उत्साहका मुख्य कारण हुन्। 

लामो समय कांग्रेस राजनीतिमा सक्रिय रहेका वाग्लेले पार्टीभित्र उचित स्थान नपाएको भन्दै तनुहुँ-१ मा भएको उपनिर्वाचनमा रास्वपाबाट उम्मेदवारी दिएका थिए। कांग्रेस र एमालेको पकड मानिएको त्यस क्षेत्रमा उनी १४ हजारको मतान्तरले निर्वाचित भए। यो क्षेत्रबाट निर्वाचित कांग्रेसका नेता रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएसँगै उपनिर्वाचन भएको थियो।

उपनिर्वाचनमा यी दुई क्षेत्रको नतिजापछि आफ्नो पार्टीप्रतिको आकर्षण बढेको दाबी रास्वपाले गरेको छ। रास्वपा सहमहामन्त्री कविन्द्र बुर्लाकोटी भन्छन्, "हाम्रो पार्टीमा आकर्षण पहिला पनि थियो तर उपनिर्वाचनपछि अझै बढेको छ।" 

उपनिर्वाचनमा पाएको जनमतका कारण दैनिक ५०० देखि ७०० मान्छेले सदस्य बन्नका लागि फारम भरिरहेको उनले बताए।

“हामी अरूले जस्तो फूलमाला लगाएर पार्टी प्रवेश गराउँदैनौँ। तथापि दिनका दिन फारम भर्ने मान्छेको संख्या बढिरहेको छ,” उनी भन्छन्, “सदस्यता शुल्क पनि अनलाइनबाट नै तिर्नुपर्ने भएकाले चापका कारण थोरै समस्या आइरहेको छ।" 

अरू दलका कतिपय नेताहरू पनि आफ्नो पार्टीमा आउन इच्छुक रहेको, तर स्वागत गर्ने चलन अलिक सरल भएका कारण उनीहरूले असजिलो मानिरहेको सहमहामन्त्री बुर्लाकोटीको दाबी छ।

आकर्षण कत्तिको बढेको छ भन्ने कुरा उपनिर्वाचनको मतपरिणामले नै देखाइसकेको रास्वपा सचेतक तथा सांसद सन्तोष परियार बताउँछन्। “म आफैँ उपनिर्वाचनमा खटिएको थिएँ। आम मानिसहरूमा रास्वपाप्रति गजबको आकर्षण देखिन्छ। हामीमाथि जनताको ठूलो आशा छ। व्यक्तिगत तवरबाट फोन र मेसेज गरेर पार्टीमा आउने इच्छा प्रकट गर्ने मान्छेहरू धेरै छन्,” परियार भन्छन्, “मुलुकमा राजनीतिक परिवर्तन आवश्यक छ। जुन हिजै भइसक्नुपर्थ्यो, त्यो अझै भइसकेको छैन। स्थापित दलले गर्न नसकेको परिवर्तनको अपेक्षा जनताले हामीसँग गरिरहेका छन्।”

‘मिसन २०८४’ 
२०७९ को निर्वाचनभन्दा फरक र ठूलो परिणाम ल्याउन रास्वपाले गृहकार्य शुरू गरेको सांसद परियार बताउँछन्। रास्वपा प्रगतिशील लोकतान्त्रिक पार्टीको रूपमा अघि बढ्ने उनको दाबी छ। “२०८४ को आम निर्वाचनसम्ममा रास्वपा नै नेपाली जनताको निर्विकल्प शक्तिको रूपमा अगाडि आउने छ,” उनी भन्छन्।

रास्वपा केन्द्रीय सदस्य विजय जैरू पनि पार्टीले २०८४ को निर्वाचनका लागि काम शुरू गरिसकेको बताउँछन्। “हामी २०८४ को निर्वाचनमा अझै ठूलो भएर आउँछौँ। त्यसका लागि पार्टीले आफ्नो कामकाज शुरू गरिसकेको छ,” उनी भन्छन्, “गएको निर्वाचनमा संगठन नभए पनि हामीले राम्रै परिणाम ल्यायौँ। अब हुने निर्वाचनमा बलियो संगठनका साथ पाँच वर्षमा गरिने कामको मूल्यांकनले पनि अझ व्यापक जनसमर्थन प्राप्त हुनेमा हामी विश्वस्त छौँ।”

आफ्नो पार्टीले आगामी निर्वाचनमा बहुमतको सरकार बनाउने लक्ष्य लिएको र आगामी पाँच वर्ष त्यो लक्ष्य पूरा हुनेगरी काम गर्ने सबै नेता तथा कार्यकर्ताहरूलाई निर्देशन दिइसकेको केन्द्रीय सदस्य गणेश कार्की बताउँछन्।

संसद्‍मा बलियो उपस्थिति
रास्वपाले शुरूदेखि नै संसदमा समसामयिक विषयलाई गम्भीर ढंगबाट उठान गर्दै आएको छ। पार्टीभित्र पनि संवेदनशील विषयहरू संसदमा जोड्दार रूपमा उठान गर्न सासंदहरूलाई सरसल्लाह आइरहने, रास्वपाका प्रमुख उदेश्यमध्ये एउटा संसदमा दरिलो उपस्थिति हुनुपर्ने पनि भएको सहमहामन्त्री बुर्लाकोटी बताउँछन्। 

“संसद्‍मा हाम्रो बलियो उपस्थिति होस् भनेर प्रत्येक बैठकमा विषयवस्तुउपर छलफल हुन्छ। विधेयकमाथिको छलफल र सरकारप्रति जहिलेसुकै प्रतिपक्षीय भुमिका खेल्ने हाम्रो मुलमन्त्र हो,” उनी भन्छन्, “आम मानिसको समस्यादेखि देशलाई हित/अहित गर्ने हरेक कुरा हामी संसदमा चोटिलो तवरबाट उठाउने प्रयास गरिरहेका छौँ र गरिरहन्छौँ।” 

सांसद परियार पनि आफूहरूको उद्देश्य संसद्‍मा सकेसम्म दह्रो प्रस्तुति नै भएको बताउँछन्। “हामी आम मान्छेका समस्यादेखि देशका हरेक तह र तप्काका सवालहरू संसदमा उठाउन चाहन्छौँ,” उनी भन्छन्, “संसदलाई चलायमान, रचनात्मक र परिणाममुखी बनाउन हामी निरन्तर लागिपरेका छौँ।”

बलियो संगठन बनाउने ध्येय
अहिले संगठन विस्तारको कामकाज तीव्र गतिमा चलिरहेको रास्वपाले जनाएको छ। सातवटै प्रदेशमा यसअघि नै प्रदेश समितिहरू गठन भइसकेकोमा हालसम्म ७७ जिल्लामध्ये ७४ जिल्लामा संयोजक र उपसंयोजकहरू चयन भएको सहमहामन्त्री बुर्लाकोटी बताउँछन्। “हामी जिल्लामा समिति बनाउँदैनौँ, संयोजक र उपसंयोजकहरू मात्र चयन गर्छौँ।"

तर निर्वाचन क्षेत्र स्तरमा भने पार्टीका क्षेत्रीय समितिहरू गठन हुनेछन्। वैशाख ३० गतेभित्र १६५ वटै निर्वाचन क्षेत्रमा त्यस्तो समिति बनाइसक्ने सहमहामन्त्री बुर्लाकोटीले बताए। अहिले समितिमा बस्न चाहनेहरूका लागि अनलाईनबाटै आवदेन खुलाएका छौँ, त्यो अवधिमा आवेदन दिएकाहरुबीच निर्वाचन गराउँछौँ र जेठको पहिलो साता समितिहरू सार्वजनिक गर्छौँ,” उनले भने। 

बुर्लाकोटीका अनुसार लगभग २५० पालिकामा रास्वपाका समितिहरू बनिसकेका छन्। ती सबै पालिका भेलाबाट बनेका हुन्। त्यस्तै, ६०० वडामा समितिहरू निर्माण भइसकेको, बाँकी वडाहरूमा समिति बन्ने क्रम जारी रहेको र यसको नेतृत्व प्रदेश समितिहरूले गरिरहेको  उनले उकालोलाई बताए। 

रास्वपाले आन्तरिक लोकतन्त्रलाई बलियो बनाउनेदेखि थुप्रै नमूना अभ्यासहरू गरिरहेको सांसद परियारको दाबी छ। 

“हामीले मंसिर ४ को निर्वाचन र बैशाख १० को उपनिर्वाचन दुवैमा प्राथमिक निर्वाचन गर्‍यौँ। उम्मेदवार छान्न आन्तरिक निर्वाचनको अभ्यास दक्षिण एसियामा अन्यत्र कतै छैन। अरू दलहरूले गठन गरेजस्तो भ्रातृ संगठन हामीले गठन गरेनौँ। संसदीय अभ्यासलाई प्रभावकारी बनाउँदै गएका छौँ,” उनी भन्छन्, “यस्ता अभ्यासहरूलाई सधैँ निरन्तरता दिनेछौँ। यस्ता अभ्यासहरू नै रास्वपाको संस्कार हो।”


सम्बन्धित सामग्री