Friday, March 29, 2024

-->

एशिया कपमा नेपाल: २१ वर्षअघि छनोट भएर पनि खेल्न पाएन, यसपटक फेरि संशय

नेपाल सन् २००२ मा एशिया कपका लागि छनोट भए पनि भारत र पाकिस्तानबीचको द्वन्द्वका कारण प्रतियोगिता भएन। अहिले, दोस्रोपटक छनोट हुँदासमेत ती देशबीचको विवादले एशिया कप हुनेमा संशय छ।

एशिया कपमा नेपाल २१ वर्षअघि छनोट भएर पनि खेल्न पाएन यसपटक फेरि संशय

काठमाडौँ- "एशिया कपमा पुगेका छौँ, एकदमै खुशी लागिरहेको छ। प्रतियोगिताअगाडि जे सोचेका थियौँ, त्यो पूरा भयो।" मंगलबार एसीसी प्रिमियर कपको फाइनलमा यूएईलाई पराजित गरेर उपाधि जितेपछि कप्तान रोहितकुमार पौडेलले भने।

गत फागुन-चैतमा आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत अन्तिम तीन वटा श्रृंखलामा प्रभावशाली प्रदर्शन गरेर नेपालले एकदिवसीय मान्यता जोगाएको थियो। योसँगै, जिम्बाबेमा हुने विश्वकप छनोटमा पनि स्थान पक्का गरेको थियो। तर, त्यसअघि अनुभवको कमी हुँदा सामान्य लक्ष्य पनि नेपाललाई मुस्किल पर्ने गरेको थियो।

मोन्टी देसाईले प्रशिक्षण सम्हालेपछि नेपाली राष्ट्रिय टोलीको प्रदर्शनले नयाँ गति लियो। उनको प्रशिक्षणमा अहिलेसम्म खेलेका १४ एक दिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मध्ये नेपालले १३ वटामा जित हासिल गरेको छ। एसीसी प्रिमियर कपमा पनि नेपाल कुनै खेलमा पनि पराजित हुनु परेन।

लगातारको जितसँगै पर्याप्त अनुभवको खोजीमा रहेको नेपाली टोलीको लक्ष्य भनेकै आफूभन्दा बलियो र टेस्ट मान्यता प्राप्त राष्ट्रसँग खेल्ने थियो। त्यो लक्ष्य पूरा गर्ने एउटा माध्यम थियो, एशिया कप। एसीसी प्रिमियर कपको उपाधि जितेसँगै अब एशिया कपमा भारत र पाकिस्तानजस्ता टेस्ट राष्ट्रसँग ओडीआई खेल्ने अवसर प्राप्त भएको छ। 

घरेलु समर्थकको साथ पाएको नेपालले समूह चरणमा मलेसिया र ओमानलाई हराएको थियो भने साउदी अरबियासँगको खेल वर्षाको कारण रद्द भएको थियो। सेमिफाइनलमा कुवेतसँगको खेल पनि वर्षाकै कारण रद्द भए पनि समूह विजेताको हैसियतमा नेपालले फाइनलमा स्थान बनाएको थियो। 

"फाइनल खेल टू डे फर्म्याटजस्तो भयो। यस्तो खेल हामीले योभन्दा पहिला खेलेको थिएन। तर, प्रशिक्षक (मोन्टी देसाई)ले रिल्याक्स हुन भन्नुभएको थियो। हामीले राति केही सोचेनौँ। खेलमा इफोर्ट लगायौँ र एशिया कपमा पुग्न सफल भयौँ," कप्तान पौडेल भन्छन्।

एसीसी प्रिमियर कपको उपाधि जितेसँगै नेपालले एसीसी इमर्जिङ टिम्स कप र आगामी सेप्टेम्बरमा पाकिस्तानमा हुने एशिया कपमा स्थान बनाएको छ। इमर्जिङ कपमा एशियाका टेस्ट मान्यता प्राप्त भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तानका २३ वर्ष उमेर समूहका टिम तथा यसै प्रतियोगिताबाट छानिएका नेपाल, यूएई र ओमानका राष्ट्रिय टोलीले भाग लिनेछन्।

भारत र पाकिस्तानजस्ता देशसँग खेलेपछि नेपाललाई विश्वले हेर्ने, चिन्ने र विदेशी फ्रेन्चाइज लिगमा नेपाली खेलाडीलाई अवसरको बाटो खुल्ने कप्तान रोहितको विश्वास छ। "नेपालले टी-२० विश्वकप खेलेको ७/८ वर्ष भइसकेको छ। इन्डिया र पाकिस्तानसँग खेल्यौँ भने सबैले चिन्छ, नेपालले पनि क्रिकेट खेल्छ भन्ने थाहा पाउँछ। त्यसैले यो हाम्रो लागि एकदमै महत्त्वपूर्ण छ," पौडेल भन्छन्।

नेपालले खेल्न नपाएको त्यो एशिया कप
नेपाल दोस्रोपटक एशिया कपमा छनोट भएको हो। सन् २००२ मा सिंगापुरमा आयोजना भएको एसीसी ट्रफीको फाइनलमा पुगेर नेपाल एशिया कपका लागि छनोट भएको थियो। उक्त फाइनलमा पनि नेपाल र यूएई नै प्रतिस्पर्धामा थिए। फाइनलमा १८६ रनको लक्ष्य पाएको नेपाल निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै १८४ मा समेटिएको थियो।

प्रतियोगिताको समूह 'ए’ मा यूएई, कुवेत, ओमान र कतार थिए। ओमानलाई १०५, कतारलाई १३० र कुवेतलाई १२४ रनले पराजित गरेको नेपालले समूह चरणमा यूएईसँग ६ विकेटको हार बेहोरेको थियो। सेमिफाइनलमा मलेसियालाई २५ रनले पराजित गरेर एशिया कपमा पुगेको थियो।

उति बेला एसीसी ट्रफीमा नेपालको तर्फबाट सर्वाधिक २४८ रन बनाएउँदै एशिया कपमा पुर्‍याउन महत्त्वपूर्ण भूमिका खेलेका शक्ति गौचन भन्छन्, "आफूभन्दा ठूला टोलीसँग खेल्ने हामीलाई सुवर्ण अवसर जुरेको थियो। भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशजस्ता टेस्ट नेसन्ससँग नेपाल खेल्थ्यो भने क्रिकेटमा ठूलो फड्को मारिसकेको हुन्थ्यो। ठूला देशलाई पनि हराउन सकिन्छ भन्ने नेपाली खेलाडीको आत्मविश्वास बढ्थ्यो। तर, युद्धका कारण हामीबाट त्यो अवसर खोसियो।"

भारत र पाकिस्तानबीच १९९९ मे ३ देखि जुलाई २६ सम्म कारगिल युद्ध भएको थियो। त्यसकारण दुई देशबीचको सम्बन्ध सन् २००२ मा पनि सुध्रिन सकेको थिएन। सन् २००० मा भारतले पाकिस्तानसँग क्रिकेट नखेल्ने घोषणा गरेको थियो। यो घोषणा सन् २००४ सम्म कायम रहेको थियो। भारतले सहभागिता नजनाउने भएपछि अन्तत: एसीसीले प्रतियोगिता नै रद्द गर्‍यो। त्यसको असर नेपाली क्रिकेटमा पनि पुगेको पूर्वक्रिकेटर गौचन बताउँछन्।

"सन् २००४ मा म युथ टोलीको कप्तान भएको थिएँ। हुन त त्यसअघि पनि यू-१९ टोलीले राम्रो प्रदर्शन गर्दै आएको थियो। मेरो कप्तानीमा नेपालले साउथ अफ्रिकालाई हराएको थियो," उनी भन्छन्, "त्योबेला एशिया कप खेल्न पाएको भए धेरै कुराहरू हुन सक्थ्यो। अनस्क्रिनमा भारतसँग खेलेको भए लाखौँ दर्शकले धेरै वर्षसम्म नेपालको त्यो म्याच हेर्थे होला। अहिले त्यो मौका फेरि मिलेको छ।"

सन् २००२ पछि नेपाली टोलीले आफ्नो लयलाई कायम राख्न सकेन। सन् २००४ मा श्रीलंकामा भएको एशिया कपमा हङकङ र यूएईले स्थान बनाए। त्यसयता एशिया कपमा पुग्ने सपना बोकिरहेको नेपाल २१ वर्षपछि सफल भएको छ।

गौचन भन्छन्, "हामी खेल्दा यतिको योङ टोली थिएन। अहिले योङस्टर छन्। अहिले सबै कुरा नेपाली टोलीको लागि अनुकूल छ। यो टोलीको भविष्य राम्रो छ, आउँदो १० वर्षमा नेपाल पनि टेस्ट प्‍लेइङ राष्ट्र बन्छ भन्ने लागेको छ।"

पहिलो एशिया कपको पर्खाइमा नेपाल 
मुख्य प्रशिक्षकमा भारतीय नागरिक मोन्टी देसाईको आगमनसँगै उनको 'वान बल ब्याटल’ र 'ह्याप्पी ड्रेसिङ रुम’को रणनीति सफल भयो। लेग स्पिनर सन्दीप लामिछाने नेपालको प्रदर्शनमा देसाईको योगदान अतुलनीय रहेको बताउँछन्। "सबैभन्दा मुख्य पात्र उहाँ नै हुनुहुन्छ। टोलीमा मोटिभेसन दिने र सानोसानो रोल प्ले उहाँले नै गर्नुभएको छ," उनी भन्छन्। 

एशिया कपमा भारत, श्रीलंका, पाकिस्तान, बंगलादेश र अफगानिस्तानबाहेक अहिलेसम्म हङकङ र यूएईले मात्र खेल्न सकेको छ। भारत, बंगलादेश, श्रीलंका र पाकिस्तानले १४/१४ र अफगानिस्तानले तीन पटक सहभागिता जनाएको छ। एशोसिएट राष्ट्र हङकङले चार र यूएईले तीन पटक सहभागिता जनाउँदा समूह चरण पार गर्न सकेका छैनन्।

नेपालले पनि एशिया कपमा यस्तै नियति भोग्ने संशय कायम छ। सन्दीप भन्छन्, "हामीले अहिलेसम्म त्यस स्तरका शीर्ष टोलीसँग खेल्न पाएका छैनौँ। एउटा स्तर पार गरेर अर्को स्तरमा पुगेका छौँ। भारत र पाकिस्तान हाम्रो समूहमा छ। शीर्ष टोलीसँग कसरी खेल्ने एउटा राम्रो सिकाइ हुनेछ।"

इन्डियन प्रिमियर लिग (आईपीएल), बिग बास लिग (बीबीएल), पाकिस्तान सुपर लिग (पीएसएल), बंगालदेश प्रिमियर लिग (बीपीएल) र क्यारेबियन प्रिमियर लिग (सीपीएल)लगायत विश्वका अधिकांश टी–२० लिग खेल्ने सन्दीप एकमात्र ‘हाई प्रोफाइल’ नेपाली खेलाडी हुन्। उनले भारतका अमित मिश्र, श्रेयस आयर, पृथ्वी शा, रिशब पंत, राहुल टेवाटिया, हर्षल पटेल, आवेश खानजस्ता भारतीय खेलाडीहरूसँग ड्रेसिङ रूम सेअर गरेका छन्। यस्तै, पाकिस्तानका पूर्वकप्तान शाहिद अफ्रीदिसँग पनि ड्रेसिङ रूम सेअर गरेका छन्। एशिया कपमा नेपालको सहभागिताले क्रिकेटमा नयाँ पिढीँलाई आकर्षित गर्ने उनको बुझाइ छ।

"नेपालले २०१४ मा विश्वकप खेलेपछि मैले क्रिकेट खेल्न थालेको थिएँ। हामी सकेसम्म राम्रो दिन चाहन्छौँ। आउने समयमा जति पनि युवा पिढीँ हुनुहुन्छ, उहाँहरूलाई सधैँभर यादगार हुनेछ। सपना एशिया कप मात्रै होइन, निरन्तर एशिया कप र विश्वकप खेल्ने हो," सन्दीपले भने।

भारत-पाकिस्तान विवादले यसपटक पनि संशय
भारत र पाकिस्तानबीचको विवादले यसपटक पनि एशिया कप हुने हो वा होइन निश्चित हुन सकेको छैन। एसीसीले एशिया कप आयोजनाको जिम्मा पाकिस्तानलाई दिएको छ। तर, बोर्ड अफ क्रिकेट कन्ट्रोल इन इन्डिया (बीसीसीआई)ले पाकिस्तान गएर क्रिकेट नखेल्ने जनाएको छ।

त्यसको जवाफमा पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)ले 'हाइब्रिड मोडल' को प्रस्ताव राखेको अन्तर्राष्ट्रिय मिडियाहरूले जनाएका छन्। पाकिस्तानले आफ्ना खेल घरेलु भूमिमा खेल्ने र भारतले उसका खेल 'न्यूट्रल' भूमिमा खेल्न सक्ने प्रस्ताव राखेको छ। 

भारतले भने पूरै प्रतियोगिता न्यूट्रल भेन्यूमा गर्नुपर्ने प्रस्ताव राखेको छ। उसको प्रस्तावलाई श्रीलंकाले पनि साथ दिएको द स्पोर्टस् टकले जनाएको छ। तर, पाकिस्तानले भने आफ्नो देशबाहिर गएर नखेल्ने अडान राखेको छ।

दुई देशको विवादले एशिया कप नै नहुने सम्भावना बढेको विभिन्न सञ्चारमाध्यमले जनाएका छन्। एशिया कप आउन अब चार महिना बाँकी छ।

तर, प्रतियोगिता स्थगित हुनेबारे छलफल नभएको एसीसीका अधिकारीलाई उधृत गर्दै भारतीय सञ्चारमाध्यम नवभारत टाइम्सले जनाएको छ। एशिया कप स्थगित भए सबैभन्दा पहिला पाकिस्तानलाई जानकारी हुने पनि ती अधिकारीले बताएका छन्।

एशिया कप स्थगनका लागि एसीसी अध्यक्षले सात दिनको समय राखेर बोर्ड बैठक बोलाउन सक्छन्। तर, अहिलेसम्म एसीसीको बोर्ड बैठक नबोलाइएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।


सम्बन्धित सामग्री