Thursday, March 28, 2024

-->

काठमाडौँको नीरा हत्याकाण्ड : क्यासिनो–जुवाको लतले डुबेपछि लुटपाटमा लागेका थिए विनोद

काठमाडौँमा १० दिन पहिले व्यवसायी नीरा पाण्डे आचार्यलाई पसलमै लुटपाट गर्ने क्रममा हत्या गरेको आरोपमा पक्राउ परेका विनोद विश्वकर्मा क्यासिनो र जुवाको लतले ऋणमा डुबेको अनुसन्धानबाट खुलेको छ।

काठमाडौँको नीरा हत्याकाण्ड  क्यासिनो–जुवाको लतले डुबेपछि लुटपाटमा लागेका थिए विनोद

काठमाडौँ– वैशाख ७ गते काठमाडौँ महानगरपालिका–६ सरस्वतीनगरस्थित ‘निर किचेन एन्ड गिफ्ट सोभेनियर’ पसल सञ्चालन गर्ने ३५ वर्षीया नीरा पाण्डे आचार्यको हत्या गरियो। शरीरका धेरै ठाउँमा धारिलो हतियार प्रहार गरेर उनको हत्या गरिएको थियो।

राजधानीको व्यस्त क्षेत्रमा दिनदहाडै एक व्यवसायी महिलाको हत्या भएको खबर तत्कालै सबैतिर फैलियो। तर, त्यसमा संलग्नको भेउ खुल्न सकेन। यो घटना अनुसन्धानमा खटिएको प्रहरीले ९ दिनपछि, शनिबार राति झापाबाट ३५ वर्षीय विनोद विश्वकर्मालाई पक्राउ गर्‍यो। पक्राउ परेका विश्वकर्मा झापाको मेचीनगर नगरपालिका–१० घर भई भक्तपुरको लोकन्थली बस्दै आएका थिए।

आइतबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा पत्रकार सम्मेलन गरेर विश्वकर्मालाई हत्याका आरोपीका रूपमा सार्वजनिक गरिएको छ। सुनको सिक्री लुटपाट गर्नकै लागि उनले पाण्डेको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको सीआईबीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिनेश आचार्यले बताए।

“अहिलेसम्म प्राप्त तथ्य, प्रमाण र बयानका आधारमा लुटपाटकै उद्देश्य देखिन्छ, बाँकी अनुसन्धानका क्रममा खुल्दै जाला,” उनले भने, “सिक्री र काउन्टरबाट १२ हजार जति नगद लुटेको देखिन्छ।” घटनामा विश्वकर्माबाहेक अरूको संलग्नता अहिलेसम्म खुल्न नसकेको उनले बताए।

लुटेको सिक्री उनले बालाजुको एक पसलमा ५५ हजार रुपैयाँमा बिक्री गरेको भेटिएको छ।

केएल टावरबाट रेकी गर्दै सरस्वतीनगरसम्म’
अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरूका अनुसार लुटपाटको योजना बनाएपछि उनी केएल टावरबाट सरस्वतीनगरसम्म पुगेका थिए। त्यसक्रममा उनले बाटोका अरू पसल पनि निगरानी गरेको देखिन्छ।

“चाबहिल चुच्चेपाटीको केएल टावर हुँदै गल्लीको बाटो भएर त्यहाँसम्म पुगेको देखियो। त्यहाँ पुगेपछि शुरूमा पसलमा गएर सामान किन्ने भन्दै १५–२० मिनेट बसेको देखिन्छ,” एसएसपी आचार्यले भने, “त्यसपछि पैसा लिन जाने भन्दै निस्केर पुनः १५–२० मिनेटपछि फर्केको, सामान झिक्न लगाएको र त्यसै क्रममा पछाडिबाट नीराले लगाएको सुनको सिक्री लुट्न खोजेको देखिएको छ। उनले त्यसको प्रतिवाद गरेपछि मुख थुनेर रहेको चक्कु प्रहार गरेको खुलेको छ।”

पक्राउ परेका विश्वकर्माले लुटपाटका क्रममा प्रतिवाद गरेपछि हत्या गरेको बयान प्रहरीलाई दिएका छन्। उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख, एसएसपी  मनोज केसीले प्रारम्भिक अनुसन्धानबाट लुटपाटकै उद्देश्य देखिएको र अन्य कारण भए थप अनुसन्धानका क्रममा खुल्ने बताए।

विश्वकर्माले प्रहरीसमक्ष दिएको बयानअनुसार विभिन्न पसलको ‘रेकी’ गर्दै हिँडेका उनको नजर वैशाख ७ गते दिउँसो निर किचेनको बाटो हिँड्ने क्रममा पसलमा एक्लै रहेकी नीराले लगाएको सिक्रीमा परेको थियो। त्यसपछि सिक्री लुट्ने उद्देश्यसहित उनी ग्राहक बनेर पसलमा गए। दिउँसो २ बजेर ४४ मिनेटमा पसलमा गएका उनले सामान किन्ने बहाना सिक्री लुट्न खोजेका थिए।

प्रहरीको अनुसन्धानले घटना भएको ५ दिनसम्म विश्वकर्मा काठमाडौँमै रहेको देखाएको छ। गत बिहीबार (वैशाख १४ गते) मात्र उनी झापा पुगेका थिए। “भागेर भारततिर जाँदा नाकामा समातिन सक्ने डरले साता दिनसम्म काठमाडौँमै बसेको थिएँ,” उनले प्रहरीसमक्ष दिएको बयानमा भनेका छन्।

घटना सार्वजनिक भएर प्रहरीले खोजबिन तीव्र पारेपछि पक्राउ परिने डरले सात दिनपछि उनी झापा पुगेका थिए। तर, झापा पुगेको दुई दिनमै समातिए।

“घटना गराउँदा उनले लगाएको कपडा, ब्याग र जुत्ता बरामद भएको छ। साथीको कोठाबाट रगत लागेको कालो टिसर्ट पनि बरामद भएको छ”, सीआईबीका एसएसपी आचार्यले भने, “लुटेको सुनको सिक्री बेचिएको ठाउँबाट बरामद भइसकेको छ। घटनामा प्रयोग भएको चक्कु पनि बरामद गरेका छौँ।”

बाग्लुङको बगिगार्ड गाउँपालिका–५ घर भई सरस्वतीनगर बस्ने पाण्डेले करिब एक दशकदेखि यो पसल चलाउँदै आएकी थिइन्। त्यसको नजिकै उनका श्रीमान्, योगेश आचार्यले इलेकट्रोनिक्स पसल सञ्चालन गर्छन्।

वैशाख ७ गते दिउँसो पसलमै उनको हत्या हुँदा छेउछाउका पसल सञ्चालकले पनि केही थाहा पाएका थिएनन्। सामान किन्न आएका एक ग्राहकले पसलमा पुगेर हेर्दा बोराले छोपेको अवस्थामा पाण्डेको रक्ताम्मे शरीर देखेपछि छिमेकी र प्रहरीलाई खबर गरेका थिए। प्रहरीले आसपासका क्षेत्रमा रहेका सीसीटीभी क्यामेराको ‘फुटेज’का आधारमा अनुसन्धान अघि बढाएको थियो। ‘फुटेज’मा देखिएका शंकास्पद व्यक्तिबारे खोजतलास गर्दै जाँदा प्रहरी विश्वकर्मासम्म पुगेको थियो।

राजधानीमा दिनदहाडै भएको व्यवसायी महिलाको हत्यामा संलग्न व्यक्ति एक सातासम्म पनि पहिचान नभएपछि सामाजिक सञ्जालदेखि धेरैतिर सरकारको आलोचना भएको थियो। सांसदहरूले सदनमा समेत यो विषय उठाए। दबाब बढेपछि नेपाल प्रहरीले घटना अनुसन्धान गर्न सीआईबीका निर्देशक, एआईजी किरण बज्राचार्यको नेतृत्वमा ११ सदस्यीय समिति गठन गरेको थियो।

क्यासिनो र जुवाको लतले ऋण लागेपछि लुटपाटमा
३५ वर्षीया नीरा पाण्डे आचार्यको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका विनोद विश्वकर्मा काठमाडौँका विभिन्न नाइट क्लब र रेस्टुरेन्टमा ‘बाउन्सर’को काम गर्थे। त्यहीक्रममा उनी क्यासिनो र जुवाको लतमा परेको, क्यासिनो–जुवामा हार्दै गएपछि ऋण लागेको र ऋणले भौँतारिँदै हिँडेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

“उनको पृष्ठभूमिबारे हामीले अनुसन्धान गरिरहेका छौँ, अहिलेसम्मको अनुसन्धान हेर्दा उनी क्यासिनो र जुवाको लतमा लागेको र त्यसबाट ऋण लागेको देखिएको छ,” एसएसपी केसीले भने, “त्यो ऋण तिर्न विभिन्न उपाय खोजी गरेको, तर त्यसमा सफल नभएको देखिन्छ।”

धेरै ठाउँमा काम गरे पनि यस्तो लतकै कारण लामो समयसम्म टिक्न नसकेको र दिनप्रतिदिन आर्थिक समस्यामा पर्दै गएपछि अपराधको माध्यमबाट पैसा कमाउने लालसामा लागेको अनुसन्धानका क्रममा देखिएको केसीले बताए।

वैशाख ७ गते सिक्री लुटपाटका क्रममा पाण्डेको हत्या गर्नुअघि पनि उनले धेरै पटक धेरै ठाउँमा लुटपाटका लागि प्रयास गरेको खुलेको छ। तर, कैयौँ प्रयास असफल भएको उनले प्रहरीसँगको बयानमा उल्लेख गरेका छन्। वैशाख ७ गते सिक्री लुटेर भाग्न खोजे पनि महिलाले प्रतिकार गरेपछि पसलमै रहेको चक्कुले प्रहार गरेर हत्या गरेको उनले प्रहरीलाई बताएका छन्।

एसएसपी केसी यस्ता घटनाका पछाडि आपराधिक मनोवृत्ति र व्यक्तिको पृष्ठभूमिसँगै सामाजिक संरचना र आर्थिक दबाब पनि जोडिएको बताउँछन्।

नेपाल प्रहरीका पूर्वडीआइजी हेमन्त मल्ल ठकुरी समाजमा उद्दण्डता बढ्दै गएकाले यस्ता घटना भइरहेको बताउँछन्। “व्यक्तिमा अनुशासनहीनता बढिरहेको छ, आफ्नो दायित्व भुल्ने अवस्था आएको छ। यसका पछाडि अरू कारण पनि जोडिएका होलान्,” उनले भने, “एक–दुई हजार रुपैयाँका लागि पनि हत्या गर्नेसम्मका घटना हुन थालेका छन्। आर्थिक पाटो जिम्मेवार भए पनि मानिस यो तहसम्म बीभत्स किन भइरहेको छ भनेर खोजी गर्नुपर्छ।”

पछिल्लो समय लुटपाटका घटना धेरै हुनु र त्यसक्रममा हत्यासम्मका घटना हुनुका पछाडि आम मानिसले सामाजिक सञ्जालका माध्यमबाट आफ्ना विषयमा जानकारी दिनु पनि कारण रहेको उनको बुझाइ छ। 

समाजशास्त्री मिना उप्रेती समाजमा बढिरहेका यस्ता घटनामा एउटै कारण नभएको बताउँछिन्। “अहिले मानिसमा आपराधिक मनोवृत्ति बढिरहेको छ। सानो कारणले पनि हत्यासम्म पुग्नु भनेको ऊ भित्रदेखि नै आक्रामक बन्दै गएको प्रमाण हो,” उनी भन्छिन्, “कमजोर राज्य–संयन्त्र, मानिसमा धैर्यको कमी, आर्थिक अभाव र बेरोजगारी समस्या पनि यसमा उत्तिकै जिम्मेवार छन्।”


सम्बन्धित सामग्री