Tuesday, April 16, 2024

-->

नयाँ स्टक एक्सचेन्जका सञ्चालनका लागि ३ कम्पनीको आवेदन

नेसनल स्टक एक्सचेन्ज, अन्नपूर्ण स्टक एक्सचेन्ज, हिमालयन एक्सचेन्ज गरी तीन वटा कम्पनीको आवेदन परेको बोर्डका सूचना अधिकारी तेजप्रसाद देवकोटाले जानकारी दिए।

नयाँ स्टक एक्सचेन्जका सञ्चालनका लागि ३ कम्पनीको आवेदन

काठमाडौँ– नयाँ स्टक एक्सचेन्जका लागि तीन वटा कम्पनीले धितोपत्र बोर्डमा आवेदन दिएका छन्। आवेदन दिने समय आइतबार सकिएको छ।

आइतबार नेसनल स्टक एक्सचेन्ज र अन्नपूर्ण स्टक एक्सचेन्ज र शुक्रबार हिमालयन एक्सचेन्ज गरी तीन वटा कम्पनीको आवेदन परेको बोर्डका सूचना अधिकारी तेजप्रसाद देवकोटाले जानकारी दिए।

नेसनलमा गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, पूर्वअध्यक्ष जीवा लामिछाने, अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठ, सिद्धार्थ बैंकका अध्यक्ष मनोज केडिया, दीपक तिमिल्सिना लगायतको लगानी रहेका भनाइ छ।

यस्तै, अन्नपूर्ण स्टकमा गणेश कुमार श्रेष्ठ, सुरेन्द्र राज वाग्ले, मुक्ति बोध न्यौपाने, अनिल सापकोटा, प्रकाशकुमार श्रेष्ठ, शेखर सुवेदी र बलराम उप्रतीको लगानी रहेको छ।

गत शुक्रबार व्यावसायिक घराना शंकर समूहको अगुवाइमा हिमालयन स्टक एक्सचेन्जले आवेदन दिएको थियो। हिमालयन स्टक एक्सचेन्जको अध्यक्षमा नेपाल प्रहरीका पूर्वमहानिरीक्षक प्रकाश अर्याल छन्। यस्तै, शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल र व्यवसायी दीपक भट्ट हिमालयनको प्रमुख शेयरधनीका रूपमा छन्।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्षहरू शेखर गोल्छा, पशुपति मुरारका र भवानी राणा, परिसंघका पूर्वअध्यक्ष तथा लक्की ग्रुपका प्रमुख शतिस मोर, ज्योति समूहका सौरभ ज्योति, दुगड ग्रुपका विवेक दुगड, खेतान समूहका राजेन्द्र खेतानको पनि हिमालयनमा लगानी रहेको छ।

कमोडिटीका लागि चार कम्पनीको आवेदन
वस्तु विनिमय बजार (कमोडिटी मार्केट) सञ्चालनका लागि चार वटा कम्पनीले आवेदन दिएका छन्। कमोडिटी मार्केटका लागि मल्टी एसेट्स एन्ड डेरिभेटिम एक्सचेन्ज, मल्टी डेरिभेटिम एक्सचेन्ज, हिमालयन कमोडिटिज एन्ड डेरिभेटिभ र नेपाल मल्टी कमोडिटी एक्सचेन्जको आवेदन परेको बोर्डका सूचना अधिकारी देवकोटाले जानकारी दिए। दुई कम्पनीका लागि आवेदन मागिएकोमा चार वटै कम्पनीले अन्तिम दिन आवेदन दिएका हुन्।

बोर्डले गत असोज २ गते धितोपत्र बजार सञ्चालन गर्न इच्छुक कम्पनीहरूका लागि ४५ दिनको समय दिएर आवेदन खुलाएको थियो। उक्त निर्णय बदरको माग गर्दै अधिवक्ता दीपकविक्रम मिश्रले असोज ३१ गते सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनमाथि कात्तिक ४ मा न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गर्दै प्रक्रिया यथास्थितिमा राख्न निर्देशन दिएको थियो।

चैत २६ गते अनिलकुमार सिन्हा र सुष्मालता माथेमाको संयुक्त इजलासले पूर्ण सुनुवाइ गर्दै रिट निवेदन खारेज हुने फैसला गरेपछि बोर्डले नयाँ स्टकको प्रक्रिया अघि बढाएको हो। धितोपत्र बजार सञ्चालन गर्न इच्छुक कम्पनीका लागि बोर्डले १० दिनको समयसीमा दिएर चैत ३० गते आवेदन मागेको थियो।


सम्बन्धित सामग्री