Friday, March 29, 2024

-->

उपेन्द्र–सीकेको 'व्यक्तित्व' टकराबस्थल बारा–२ : मौन अवधिअघिको शीर्ष नेता दौडाहा कति निर्णायक?

प्रचारप्रसारको अन्तिम दिन बिहीबार उपेन्द्र यादवले पाँच दलीय गठबन्धनका शीर्ष नेतालाई बारा उतारे। एमालेले पनि अध्यक्ष ओलीको उपस्थितिमा सभा गर्‍यो। उपेन्द्रलाई 'बहरिया' बताइरहेको जनमत भने घरदैलोमै थियो।

उपेन्द्र–सीकेको व्यक्तित्व टकराबस्थल बारा–२  मौन अवधिअघिको शीर्ष नेता दौडाहा कति निर्णायक

बारा- बिहीबार बाराको तापक्रम ४१ डिग्री सेल्सियस पुगेको थियो। गढिमाईमा पाँच दलीय सत्ता गठबन्धनले आमसभा राखेपछि राजनीतिक सरगर्मी अझै बढेको थियो।

आमसभामा भीड एकत्रित गर्न शुरूमा चुनावी अभियानका लागि बनाइएको भोजपुरी गीत बजाइयो। तर भीड एक ठाउँमा जुटेन। गर्मीका कारण मान्छेहरू रुखको छहारी, पोखरीको डिल र विभिन्न पसलहरूमा बसेका थिए। 

उक्त सभा जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवले शक्ति प्रदर्शनका लागि राखेका थिए। प्रचारप्रसारको अन्तिम दिन यादवले पाँच दलीय गठबन्धनका शीर्ष नेतालाई बारा उतारे। यादवका लागि मत माग्न प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल बारा पुगेका थिए। 

सभामा उपस्थिति धेरै देखाउन निर्वाचन क्षेत्रबाहिरबाट पनि समर्थक ल्याइएको थियो। विभिन्न ठाउँबाट आएका करिब दुई दर्जन बस र ६ दर्जन साना सवारीसाधन सभास्थलमै थिए। तीमध्ये चार दर्जन गाडी भारतीय नम्बर प्लेटका थिए।

सभामा आएका कतिपयलाई भने किन आएको भन्ने पनि थाहा थिएन। देवताल गाउँपालिकाबाट आएकी शिलापति कोढीले त्यहाँ कसको सभा हो र किन आएको आफूलाई थाहा नभएको बताइन्। आफू २७ जना छिमेकी महिलाहरूसँग आएको उनले जानकारी दिइन्। 

केही महिला भने 'सभा छाता छापको हो कि हरन छापको हो' भनेर सोध्दै थिए। सभा छाता छापकै भएको जानकारी पाएपछि उनीहरू टेन्टभित्र पसेर बसे।
सभाकै बीच उपेन्द्र यादवकी श्रीमती पार्वती यादव बाहिर छरिएर बसेकाहरूसँग मत माग्न व्यस्त थिइन्। त्यसैबीच, एक जनाले भने, “रहुवा चिन्ता नाकरी, एमकी बेर उपेन्द्रजी ही जिती।” (तपाईं चिन्ता नगर्नुस् यसपटक उपेन्द्रजी नै जित्नुहुन्छ।)

पार्वती यादव।

सभामा उपस्थित हुनआएका महागढीमाईका मतदाता जगन्नाथ पण्डित रूखको छहारीमा बसेका थिए। आफू उपेन्द्र यादवको समर्थक भएको उनले बताए। सभामा बाहिरका मान्छेहरू धेरै आएको उनले स्वीकार गरे। “यहाँका मान्छेहरू कम छन्, बढी बाहिरका छन्। हामी त हाम्रै ठाउँका मान्छेहरू देखिरहेका छैनौँ,” उनले भने, “दुई जना (जसपा र जनमत)कै प्रतिस्पर्धा छ यहाँ, अब को जित्छ भन्ने कुरा अहिले नै भन्न सकिन्न।”

केही बेरमा सभा शुरू भयो। मान्छेहरू एकत्रित भए। सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष दाहाल तथा पूर्वप्रधानमन्त्रीहरू कांग्रेस सभापति देउवा र एकीकृत समाजवादी अध्यक्ष नेपालले यादवको जित सुनिश्चित भएको दाबी गरे।

वैशाख १० गते हुने उपनिर्वाचनमा बारा-२ मा मुख्य प्रतिस्पर्धी जसपाका यादव र जनमतका शिवचन्द्र कुशवाहा देखिएका छन्। तर, नेकपा एमालेका पुरुषोत्तम पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेल र आम जनता पार्टीका अरुण ज्ञवालीलाई पनि बलिया प्रतिस्पर्धी मानिएको छ। ज्ञवालीको प्रचारमा पार्टी अध्यक्ष प्रभु साह आफैँ खटिएका छन्।

मौन अवधि शुरू हुनुअघि एमाले शीर्ष नेता पनि बारा पुगेका छन्। एमालेले समेत बिहीबार अन्तिम चुनावीसभा गरेको छ। पचरौता नगरपालिकाको बेनौलीमा भएको सभालाई अध्यक्ष केपी ओलीले समेत सम्बोधन गरेका थिए। सम्बोधनका क्रममा ओलीले अहिलेको सरकारले सामाजिक सुरक्षा भत्ता बन्द गर्न लागेको बताएका थिए।

उपेन्द्रलाई गठबन्धनको भर
बारा-२ मा पाँचवटा पालिका पर्छ। जसमध्ये भित्री बस्ती देवताल, पचरौता र महागठिमाईमा अन्य दलको भन्दा जनमतको केही बढी प्रभाव देखिन्छ। करैयामाइ र सूवर्ण यादव बाहुल्य क्षेत्र हुन्। सुवर्णमा एमाले र जसपाको प्रभाव बढी छ। 

उपेन्द्र यादवले यो उपनिर्वाचन जित्न आफ्ना सारा संयन्त्र र शक्ति बारा-२ मा केन्द्रित गरेका छन्। जसपा मधेश प्रदेशका नेता कार्यकर्ताहरू यहाँ परिचालन गरिएको छ। 

संयुक्त सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री तथा माओवादी अध्यक्ष दाहाल।

उपनिर्वाचनमा उपेन्द्र पाँच दलीय गठबन्धनको भरमा छन्। यो क्षेत्रमा कांग्रेसको राम्रो प्रभाव छ। उनी कांग्रेसको मत छाता चिह्नमा एकोहोर्‍याउने प्रयासमा छन्।

अघिल्लोपटक कांग्रेसले माओवादी उम्मेदवार शिवचन्द्र कुशवाहालाई सघाएको थियो। तर, कांग्रेसका रवीन्द्रप्रसाद यादवले बागी उम्मेदवारी दिएका थिए। उनी १० हजार ७५० मतसहित चौँथो भएका थिए। यसपटक त्यो मत आफूलाई आउनेमा उपेन्द्र ढुक्क छन्।

कांग्रेस बाराका केन्द्रीय सदस्य भरत राउत आफूहरूले उपेन्द्रलाई नै सघाइरहेको बताउँछन्। “अधिकांश कांग्रेसीहरू उनैलाई मत दिने भनिरहेका छन्। तर, धोकाधडी हुने सम्भावना पनि उत्तिकै छ,” उनले भने, “सारा मत उनको पक्षमा आए जित सुनिश्चित नै छ। नत्र भन्न सकिन्न।”

जसपाका रामसहाय यादव (हाल उपराष्ट्रपति)ले जितेको यो क्षेत्रमा रामकिशोर प्रसाद यादव बागी थिए। उनले ११ हजार ४३ मत पाएका थिए। उनी जसपा नै प्रवेश गरिसकेका छन्। रामसहायले भने १३ हजार ८२२ मत पाएका थिए। उनलाई एमालेले सघाएको थियो।

राउतको नाममा कुशवाहालाई मत!
देवतालका सञ्जय महतो खेतमा काम गर्दै थिए। उनी यसपटक आफूले सीके राउतलाई मत दिने बताउँछन्। जनमतका उम्मेदवार शिवचन्द्र कुशवाहाभन्दा सिके राउतको अनुहार हेरेर मत दिने उनको भनाइ छ। 

“शिवचन्द्रजी को हुनुहुन्छ म चिन्दिनँ, तर म सिके राउतलाई मत दिन्छु,” उनी भन्छन्, “मलाई मात्र होइन यहाँका सारा मान्छेलाई थाहा छ सिके राउत राम्रो मान्छे हुनुहुन्छ। त्यसैले हामीले यसपटक उहाँलाई मत दिने योजना बनाएका छौँ।” 

पचरौताका हरिन्द्र साहले यसअघि जसपाका रामसहायप्रसाद यादवलाई मत दिएका थिए। तर यसपटक नयाँलाई मत दिने उनी बताउँछन्। “उपेन्द्रजीको पार्टीलाई सधैँ मत हालियो, तर उपलब्धि शून्य छ। यसैले पनि हाम्रो गाउँ नै यसपटक नयाँलाई मत दिने मनस्थितिमा छ," उनी भन्छन्। 

राउतको क्रेज बाराको शहरीबस्ती मात्र नभइ भित्री गाउँमा पनि भेटिन्छ। राउत 'मिसन बारा-२' घोषणा गरेर आफ्ना उम्मेदवार कुशवाहाको चुनावी कमाण्डर भएका छन्। आफूप्रतिको क्रेजलाई मतमा बदल्न उनी आफैँ ढुक्कै बारा बसेको यहाँका स्थानीय बताउँछन्।

जनमतले जसपा उम्मेदवार यादवलाई 'बहरिया'को संज्ञा दिएको छ। संयोग के छ भने, जसपा उम्मेदवार यादव र जनमतका अध्यक्ष तथा चुनावी कमाण्डर राउत दुवै सप्तरीका हुन्। राउतले नै गएको मंसिर ४ गतेको निर्वाचनमा पराजित गरेपछि यादव उपनिर्वाचन लड्न बारा आइपुगेका हुन्। बाराको चुनावी मैदानमा यी दुईबीचको द्वन्द्व स्पष्ट महसुस गर्न सकिन्छ।

देवतालकै हरिशरण गोइत लोटामा पानी खाँदै थिए। उनले अघिल्लोपटक कसलाई मत दिए भन्ने खुलाउन चाहेनन्, तर यसपटक भने सिके राउतको पार्टीलाई दिने बताए। “हाम्रो गाउँठाउँ विकास गर्न आउनुभएको छ। पुरानालाई धेरै हेर्यौँ, यसपटक उनलाई हेर्न मन छ,” उनी भन्छन्, “काम गरुन् या नगरून, यसपटकको मत उनैलाई जान्छ।”

घण्टी, सूर्य र मोबाइल छापको पनि चर्चा
रास्वपा उम्मेदवार रमेश खरेल प्राय: गढिमाईमा भेटिन्छन्। उनी पनि घरदैलोमा व्यस्त छन्। उनको धेरै मत गढीमाई क्षेत्रमा नै देखिन्छ। बाँकी पालिकाहरूमा स्थानीय उनको पक्षमा कम मात्र खुलेका छन्। तर, हरेक पालिकामा रास्वपाका समर्थक भने रहेको स्थानीय बताउँछन्। 

यो पनि- बारा–२: मतदाता सोध्छन्– चुनाव त आइरहन्छ, विकास र खाडी जानुनपर्ने अवस्था किन आउँदैन?

रास्वपाको चुनावी चिह्न घण्टीको प्रचारप्रसारमा घुमिरहेका प्रमोद सर्राफ घण्टी नै पहिलो हुने दाबी गर्छन्। “अन्य पार्टीको पक्षमा माहोल देखिए पनि मतदानको दिन घण्टीमै मत पर्छ,” उनी भन्छन्, “हामीले अथाह पैसा खर्च गरेका छैनौँ, त्यसैले जितेपछि पैसा असुली गर्दैनौँ। अरू त शुरुमा लुटाउँछन्, पछि सबै लुट्छन्।”

जसपाले शुरूदेखि नै एमालेलाई आफ्नो प्रतिस्पर्धी बताएको छ। तर एमालेको ठूलो प्रभाव सुवर्ण गाउँपालिकामा मात्र छ। सुवर्ण गाउँपालिकाका मतदाता श्याम यादव अरू ठाउँमा भन्न नसकिए पनि सुवर्णबाट सूर्य छापमा राम्रो मत आउने बताउँछन्। यद्यपि, एमाले उम्मेदवार पौडेल पूर्वसांसद र मन्त्री भएका कारण पनि उनको चर्चा भने छ।

बारामा एमालेले सांसद अच्युत मैनालीको संयोजकत्वमा चुनावी प्रचार गरिरहेको छ। मैनाली गत निर्वाचनमा बारा-१ बाट निर्वाचित सांसद हुन्।

पार्टीहरूले मौन अवधि शुरू हुनुअघि अन्तिम बल लगाइरहँदा स्थानीय पनि मत आकलनतिर लागेका छन्। महागढिमाईभन्दा ४०० मिटर दक्षिण कटियामा मासु बेच्ने नरेश यादव मोबाइल छापले हरनको भोट काटिरहेको बताउँछन्। मोबाइल चुनाव चिह्न आम जनता पार्टीका उम्मेदवार ज्ञवालीको हो। आम जनता प्रभु साहको पार्टी हो।

ज्ञवालीले अघिल्लो निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर साढे ७ हजारभन्दा बढी मत पाएका थिए। यादवले भने, “यदी मोबाइल छाप नभएको भए हरन सहज जित्थ्यो। तर यसले मत पाउने भनेकै हरनको मत हो।”


सम्बन्धित सामग्री