Friday, April 26, 2024

-->

प्रदूषणले घटाउँदै छ आयु

डढेलो र धुवाँ फाल्ने पुराना सवारी मात्र नियन्त्रण गर्दा काठमाडौँ उपत्यका श्वास लिनलायक बन्ने विज्ञहरू बताउँछन्। यति काम पनि नगर्दा बढ्दो प्रदूषण आयु छोट्याउने कारण बन्दैछ।

प्रदूषणले घटाउँदै छ आयु
तस्वीर सौजन्य नेपाली टाइम्स

काठमाडौँ– देशभरका वनजंगलमा डढेलो बढेसँगै संघीय राजधानी काठमाडौँ उपत्यकासहित तराईका धेरै जिल्लाको वायु प्रदूषण एक्कासि बढेको छ। आइतबार बिहान ७ः४५ मा काठमाडौँको वायु गुणस्तर सूचांक (एक्यूआई) २१६ मापन भएको थियो। मंगलबारसम्म काठमाडौँलगायत देशका विभिन्न ठाउँको वायु गणस्तरमा खासै सुधार आएको छैन।

मंगलबार बिहान काठमाडौँको एक्यूआई २०० मापन भएको छ भने दाङको तुलसीपुरमा २२० सम्म पुगेको छ। यसले काठमाडौँ मात्र नभएर समग्र तराई–मधेशका जिल्लाहरू पनि वायु प्रदूषणको चपेटामा परेको देखाउँछन्।

विश्व स्वास्थ्य संगठनका अनुसार हावामा १०० भन्दा माथि रहने वायु गुणस्तर सूचांक (एक्यूआई) मानव स्वास्थ्यका लागि हानिकारक हो। विज्ञहरू यस्तो अस्वस्थ हावालाई ‘मन्द विष’ भन्छन्। वरिष्ठ मुटुरोग विषेशज्ञ डा. प्रकाश रेग्मी वायु प्रदूषण स्वास्थ्यका लागि निकै हानिकारक रहेको बताउँछन्।

“अहिले भर्खरका युवामा पनि उच्च रक्तचापको समस्या देखिन्छ, यसमा प्रदूषणकै भूमिका छ,” डा. रेग्मी भन्छन्, “प्रदूषणले मुटुसम्बन्धी समस्या, उच्च रक्तचाप, हृदयाघात बढाउँछ। क्यान्सर, मधुमेह, रक्तचाप तथा हृदयाघातका बिरामीको संख्या र मृत्युदर बढ्नुमा प्रदूषण नै प्रमुख कारक बनेको देखिन्छ।”

त्रिभुवन विश्वविद्यालय वातावरण केन्द्रीय विभागका प्राध्यापक डा. रेजिना मास्केका अनुसार गर्मीयाम शुरू हुँदानहुँदै लाग्ने डढेलो र कृषि क्षेत्रमा आगो लगाएर हुने प्रदूषण त छँदैछ, काठमाडौँमा प्रदूषणको अर्को प्रमुख स्रोत यातायात पनि हो। यातायात क्षेत्रबाट हुने प्रदूषण ४४ प्रतिशत रहेको, त्यो प्रदूषण उपत्यकामा चल्ने ३५ प्रतिशत सवारी साधनले गरिरहेको उनको भनाइ छ।

“हाम्रो आँखाले देख्ने धुवाँ फाल्ने ठूला ट्रक, बस र सर्भिसिङ्ग नगरेका मोटरसाइकल यस समूहमा पर्छन्,” डा. मास्के भन्छिन्, “३५ प्रतिशत सवारी साधनलाई रोक्दा मात्र पनि काठमाडौँ सफा र श्वास लिनलायक हुन्छ।”

फेब्रुअरीदेखि मे महिनासम्म प्रदूषणको मुख्य कारण भने वनजंगलमा लाग्ने डढेलो र कृषकले कृषिजन्य वस्तु बाल्दा निस्कने धुवाँ बनेको डा. मास्के बताउँछिन्। काठमाडौँसहित देशभरको प्रदूषणमा डढेलो र कृषि क्षेत्रको हिस्सा ६० प्रतिशत रहने मास्केको निष्कर्ष छ।

आयु घटाउँदै प्रदूषण
डरलाग्दो बन्दै गएको प्रदूषणलाई तीन तहका सरकार, सरोकारवाला निकायदेखि कसैले पनि गम्भीर रूपमा लिएको देखिँदैन। तर, यसले निम्त्याउने समस्या भने झन् विकराल बन्दै गएको छ। ‘कार्डियोभास्कुलर रिसर्च जर्नल’मा प्रकाशित एक लेखमा उल्लेख भएअनुसार नेपालमा वायु प्रदूषणका कारण मानिसको आयु औसतमा करिब ३ वर्षले घटेको छ।

जर्नलका अनुसार विश्वमा वायु प्रदूषणका कारण सबभन्दा धेरै आयु घट्ने देशमा नाइजेरिया पर्छ जहाँ औसत आयु ४ वर्ष ६ महिनाले मानिसको आयु घटेको छ। त्यसको प्रमुख कारण वायु प्रदूषणलाई ठानिएको छ। विश्वमा औसत आयु सरदर ३ वर्षले घट्नुको प्रमुख कारण वायु प्रदूषणलाई मानिएको छ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार विश्वमा हरेक वर्ष वायु प्रदूषणका कारण ७ मिलियन अर्थात् ७० लाख मानिसको मृत्यु हुने गर्छ। नेपालमा भने ठ्याक्कै कति मानिसको मृत्यु योसँग जोडिन्छ भन्ने अद्यावधिक तथ्यांक छैन। सन् २०१८ मा नेपालमा वायु प्रदूषणका कारण ३७ हजार मानिसले ज्यान गुमाएको  डब्लूएचओको आँकडाले देखाउँछ।

यो पनि : काठमाडौँमा प्रदूषण बढाउने डढेलो नियन्त्रणमा कहाँ चुक्यो सरकार?

वरिष्ठ छातीरोग विशेषज्ञ डा. अर्जुन कार्की नेपालमा प्रदूषणबाट मृत्यु हुने संख्यामध्ये करिब आधाजसो काठमाडौँ उपत्यकामा रहेको अनुमान गर्छन्। “संख्याभन्दा पनि यसले पार्ने दीर्घकालीन प्रभावलाई हेर्नुपर्छ,” उनी भन्छन्, “प्रदूषणले रोग नलागेको मान्छेलाई रोग लाग्ने र रोग भएको मान्छेलाई झन् च्याप्ने हुन्छ। कति भनियो, लेखियो, तर कसैलाई वास्तै छैन।”

डा. कार्की प्रदूषणले मुख्य गरी फोक्सोलाई बिगार्ने, त्यसबाहेक दम, खोकी लागेका व्यक्तिलाई अस्पताल नै पुर्‍याउनुपर्ने गरी च्याप्ने बताउँछन्। “यसले बालबालिकाको विकासमै असर गर्छ, उनीहरूको स्वाभाविक विकासलाई अवरुद्ध गर्छ,” डा. कार्की भन्छन्, “क्यान्सरजस्ता रोग बढाउँछ। मानिसमा बिर्सने समस्या निम्त्याउँछ। यस्ता धेरै समस्या छन्।”

‘कार्डियोभास्कुलर रिसर्च जर्नल’मा प्रकाशित लेखअनुसार युद्ध तथा अन्य सबैखाले हिंसाभन्दा वायु प्रदूषण १० गुणा बढी घातक देखिएको छ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्‍बाट २०१९ मा प्रकाशित ‘बर्डेन अफ डिजिज’ रिपोर्टले दीर्घकालीन स्वास्थ्यसँग सम्बन्धित श्वासप्रश्वाससम्बन्धी रोगहरू सबभन्दा धेरै मृत्युको कारक बनेको औँल्याइएको छ। रिपोर्टका अनुसार कुल मृत्युमा २० प्रतिशत मृत्युको कारण दीर्घकालीन श्वासप्रश्वाससम्बन्धी समस्या देखिएका छन्। विज्ञहरू श्वासप्रश्वाससम्बन्धी समस्यामा प्रदूषण पनि सिधै जोडिने बताउँछन्।

सरकारले तीन वर्षअघि, २०७६ मा जारी गरेको काठमाडौँको वायु गुणस्तर सुधार कार्ययोजनामा दम, ब्रोनकाइटिस, निमोनिया, फोक्सोको क्यान्सर, मुटु रोग, उच्च रक्तचाप, मस्तिष्कघात लगायतका रोगहरू मूलतः प्रदूषणसँग सम्बन्धित रहेको र ती रोगहरू बढ्दै गएको उल्लेख गरेको छ।

अलपत्र कार्ययोजना
काठमाडौँको वायु गुणस्तर सुधारका लागि तीन वर्षअघि ल्याइएको कार्ययोजनामा अल्पकाल र दीर्घकालमा गर्नुपर्ने काम समेटिएका छन्। तर, त्यो कार्ययोजना अहिलेसम्म अलपत्र छ।

यातायात र निर्माण क्षेत्रका गतिविधिबाट हुने प्रदूषण नियन्त्रण गर्न, उद्योगबाट हुने प्रदूषण नियन्त्रण गर्न, वातावरणमैत्री तवरबाट फोहोरमैलाको विसर्जन गरी त्यसबाट हुने वायु प्रदूषण नियन्त्रण गर्न र घरभित्रबाट हुने वायु प्रदूषण कम गर्न भन्दै कार्ययोजना ल्याइएको थियो।

कार्ययोजनामा प्रदूषण नियन्त्रणका लागि गरिने अधिकांश काम दुई वर्षभित्र सम्पन्न गरिसक्ने उल्लेख छ।

तर, अहिलेसम्म कार्यान्वयन शून्य छ। वातावरण विभागका प्रवक्ता शंकर शर्मा छिटै नै सरोकारवालाहरूको बैठक बसेर सम्बन्धित निकायले अहिलेसम्म गरेका कामको प्रगति विवरण माग्ने तयारी भइरहेको बताउँछन्। “हामी छिटै बैठक बसेर सम्बन्धित निकायसँग प्रगति माग्दै छौँ, त्यसपछि मात्र के कति काम भयो वा भएन भनेर भन्न सकिन्छ,” शर्मा भन्छन्, “यसमा हामी समन्वयकारी निकाय मात्र हो।”

शर्माकै भनाइमा कार्ययोजना लागू भएपछि जम्मा एकपटक मात्र सरोकारवाला निकायहरूको बैठक बसेको थियो।

कार्ययोजना कार्यान्वयन समितिको अध्यक्षमा वन तथा वातावरण मन्त्रालयका सचिव रहने व्यवस्था छ। समितिमा अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोग, सडक विभाग, यातायात व्यवस्था विभाग, उद्योग विभाग, खानेपानी तथा ढल व्यवस्थापन विभाग, नेपाल विद्युत् प्राधिकरण, काठमाडौँ तथा ललितपुर महानगरपालिकाका वातावरण विभाग प्रमुख, वातावरण मन्त्रालयबाट मनोनीत विज्ञ तीन जना सदस्य रहने व्यवस्था छ।

वातावरण अभियन्ता भूषण तुलाधर मन्त्रिपरिषद्ले २०७६ सालमा पारित गरेको काठमाडौँ उपत्यका वायु गुणस्तर व्यवस्थापन कार्ययोजना कार्यान्वयन गर्दा मात्र पनि प्रदूषणको मात्रा धेरै घटाउन सकिने बताउँछन्। “कार्ययोजनामा भएका १३७ कार्यहरूमध्ये ७५ वटा स्थानीय सरकारसँग सम्बन्धित छन्,” उनी भन्छन्, “काठमाडौँ उपत्यका मेयर फोरमले सबै सरोकारवालासँग मिलेर यो कार्ययोजना कार्यान्वयन गर्न र सरकारलाई दबाब दिन आवश्यक छ।”

नबनेको मुद्दा
नेपालको संविधानमा प्रत्येक नागरिकलाई स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने हक हुने व्यवस्था छ। वातावरणीय प्रदूषण वा ह्रासबाट हुने क्षतिबापत पीडितलाई प्रदूषकबाट कानूनबमोजिम क्षतिपूर्ति पाउने हकको सुनिश्चितता पनि संविधानले गरेको छ। तर, स्वास्थ्यसँग जोडिएको प्रदूषणको मुद्दा सरकारदेखि राजनीतिक दल कसैको पनि प्राथमिकतामा परेको छैन।

मंगलबार प्रतिनिधिसभा बैठकमा रास्वपाकी सांसद निशा डाँगीले प्रदूषणको विषय उठाइन्। त्यसबाहेक संसद्मा प्रदूषणको विषय उठेकै छैन।

प्रमुख प्रतिपक्षी दल, नेकपा एमालेका सचेतक महेश बर्तौला देशभर फैलिइरहेको प्रदूषणबारे सांसदहरूले आ–आफ्नो तर्फबाट कुरा उठाइरहे पनि सरकारले ध्यान नदिएको बताउँछन्। “सांसदहरूले त बोलिरहनुभएको छ। सरकारलाई प्रदूषण (तुवाँलो) हटाउनेमा ध्यान छैन,” उनी भन्छन्, “प्रमुख प्रतिपक्षको भूमिका सरकारको ध्यानाकर्षण गर्ने हो, हामीले त्यो काम गरेका छौँ। सरकारको ध्यान राजनीतिक तुवाँलोमै बढी भयो, जनसरोकारका मुद्दामा भएन।”

सत्तारुढ नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडु प्रदूषणको विषयमा आफूहरूको ध्यान जान नसकेको स्वीकार गर्छन्। “संसद‍्मा विषय त प्रवेश गर्‍यो, तर त्यतिले मात्र पुग्दैन,” उनी भन्छन्, “यो विषयमा सरकारले नै पहल लिनुपर्छ। कांग्रेस सरकारको मुख्य साझेदार दल भएकाले हामीले यसमा ध्यान दिनैपर्छ।”

उनले यसबारे सरकारको ध्यानाकर्षण गराउने बताए। “हामी यो विषय संसद्मा उठाउँछौँ। पार्टीमा पनि उठाउँछौँ। हामी नै सरकारमा भएकाले पनि सरकालाई जगाउँछौँ,” बडुले भने।


सम्बन्धित सामग्री