Friday, April 26, 2024

-->

२ महिना प्रशिक्षकको जिम्मेवारी सम्हाल्न चेल्सी फर्किए लाम्पार्ड

लाम्पार्डले यसअघि सन् २०१९ देखि २०२१ सम्म चेल्सीमा प्रशिक्षकको जिम्मेवारी सम्हालेका थिए।

२ महिना प्रशिक्षकको जिम्मेवारी सम्हाल्न चेल्सी फर्किए लाम्पार्ड

काठमाडौँ– पूर्वप्रशिक्षक फ्रान्क लाम्पार्ड इंग्लिस क्लब चेल्सी फर्किएका छन्। ४४ वर्षीय लाम्पार्ड अन्तरिम मुख्य प्रशिक्षकको भूमिकामा चेल्सी फर्किएका हुन्।

उनी गत माघमा बर्खास्त भएका थिए। तर, चेल्सीले नयाँ दीर्घकालीन मुख्य प्रशिक्षकको खोजी गरिरहँदा आगामी दुई महिनाका लागि उनैलाई जिम्मेवारीमा फर्काएको हो।

प्रिमियर लिगमा टोलीले लगातार खराब प्रदर्शन कायमै राखेपछि चेल्सीले मुख्य प्रशिक्षक ग्राहम पोटरलाई सात महिनामै बर्खास्त गरेको थियो। उनको नेतृत्वमा चेल्सीले ३१ खेलमा ११ हार बेहोरेको छ। थोमस टुचेललाई बर्खास्त गरेपछि उनी गत सेप्टेम्बरमा चेल्सीको मुख्य प्रशिक्षक नियुक्त भएका थिए।

चेल्सी यस सिजन प्रिमियर लिगको ११औँ स्थानमा छ। यो सिजनमा ५५० मिलियन युरो खर्चेर खेलाडी अनुबन्ध गरे पनि चेल्सीले सोचेअनुसार प्रदर्शन गर्न सकेको छैन। त्यसैले पोटरलाई बर्खास्त गरेर लाम्पार्डलाई फर्काइएको हो।

लाम्पार्डले यसअघि सन् २०१९ देखि २०२१ सम्म चेल्सीमा प्रशिक्षकको जिम्मेवारी सम्हालेका थिए। त्यसबेला मौरिसियो सारीलाई बर्खास्त गरेर चेल्सीले आफ्ना पूर्वखेलाडी लाम्पार्डलाई मुख्य प्रशिक्षक बनाएको थियो।

उनले क्लबलाई एफए कपको फाइनलमा पुर्‍याएका थिए भने लिगमा चौथो बनाएका थिए। उनले चेल्सीलाई ८४ खेलमा ४४ जित दिलाएका थिए।

तर, उनी प्रशिक्षक नियुक्त भएको १८ महिनापछि बर्खास्तगीमा परे। चेल्सीले उनलाई अहिले भने केही सकारात्मक नतिजाको अपेक्षासहित फर्काएको हो।


सम्बन्धित सामग्री