Thursday, April 25, 2024

-->

बारा-२: बदलिएको समीकरणमा कसको पल्ला भारी?

मंसिर ४ गतेको परिणाम हेर्ने हो भने चर्चाभन्दा बाहिरका उम्मेदवार फेरि पनि 'गेम चेन्जर' हुने संभावना छ। उक्त चुनावमा तेस्रो, चौँथो र पाँचौँ स्थान पाएका तीन स्वतन्त्र उम्मेदवारले पाएको मत उल्लेखनीय थियो।

बारा-२ बदलिएको समीकरणमा कसको पल्ला भारी

काठमाडौँ- बारा-२ मा आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि ३६ जनाको उम्मेदवारी परेको छ। तर मुख्य चर्चा चार उम्मेदवार जसपाका उपेन्द्र यादव, जनमतका शिवचन्द्र कुशवाहा, एमालेका पुरुषोत्तम पौडेल र रास्वपाका रमेश खरेलको छ।

मंसिर ४ गतेको परिणाम हेर्ने हो भने चर्चाभन्दा बाहिरका उम्मेदवार 'गेम चेन्जर' भएका थिए। उक्त चुनावमा तेस्रो, चौँथो र पाँचौँ स्थान पाएका तीन स्वतन्त्र उम्मेदवार पनि कडा प्रतिस्पर्धामा थिए।

जसपाका रामसहाय यादवले त्यतिबेला माओवादी केन्द्रका शिवचन्द्रलाई ३५४ मतले मात्र पराजित गरेका थिए। यादवले १३ हजार ८२२ मत पाउँदा कुशवाहाले १३ हजार ४६८ मत पाएका थिए। 

कुशवाहालाई कांग्रेस, लोसपा, एकीकृत समाजवादीसहित पाँच दलीय गठबन्धनको साथ थियो। जसपालाई एमालेको समर्थन थियो। तेस्रो स्थानका रहेका स्वतन्त्र उम्मेदवार रामकिशोर प्रसाद यादवले ११ हजार ४३ मत पाएका थिए। त्यस्तै, चौँथो स्थानमा रहेका स्वतन्त्र उम्मेदवार रवीन्द्रप्रसाद यादवले १० हजार ७५० तथा पाँचौँ स्थानका अरुणकुमार ज्ञवालीले सात हजार ६९८ मत पाएका थिए।

तेस्रो स्थानमा आएका रामकिशोर जसपाको र चौँथो स्थानका रवीन्द्र कांग्रसको बागी उम्मेदवार थिए। रामकिशोर जसपामै फर्किसकेका छन्। रवीन्द्रले यसपटक उम्मेदवारी दिएका छैनन्। पाँचौँ स्थानमा रहेका ज्ञवाली यसपटक प्रभु साह नेतृत्वको आम जनता पार्टीबाट उम्मेदवार छन्।

चर्चामा उपेन्द्र र शिवचन्द्र
जसपा, एमाले, रास्वपा र जनमतसहित वैशाख १० गते हुने उपनिर्वाचनमा बारा-२ बाट दलका १२ र स्वतन्त्र २४ उम्मेदवार छन्। यीमध्ये उपप्रधानमन्त्रीसमेत भइसकेका जसपा अध्यक्ष उपेन्द्र सबैभन्दा 'हाइप्रोफाइल' उम्मेदवार हुन्। 

गत मंसिर ४ गतेको निर्वाचनमा उनी सप्तरी-२ बाट पराजित भएका थिए। उनलाई जनमत अध्यक्ष सीके राउतले पराजित गरेका थिए। उनले आफू संसद् छिर्नकै लागि रामसहायलाई उपराष्ट्रपति बनाउन जोडबल गरेका थिए, जसकारण बारा-२ मा प्रतिनिधिसभा सदस्य खाली भएको थियो।

जसपाका बागी रामकिशोर जसपामा फर्किनु र रवीन्द्र पनि कांग्रेसमा फर्किनु उपेन्द्रका लागि सहज हुनसक्छ। रवीन्द्रले आफू कांग्रेसमा फर्किएको र पार्टी निर्णय बमोजिम जसपालाई आफ्नो समर्थन रहेको उकालोसँग बताए। "म कांग्रेसमा फर्किसकेको छु र हाम्रो समर्थन गठबन्धन उम्मेदवारलाई छ," रवीन्द्रले भने।

उपेन्द्रको जित सुनिश्चित भएको जसपा बारा सभापति रामबाबु यादवको दाबी छ। “हाम्रो स्थिति एकदम राम्रो छ। अहिले हाम्रो प्रतिस्पर्धामा आउनसक्ने एमाले मात्र हो,” उनी भन्छन्। 

तर जनमत अध्यक्ष सीके राउत आफ्ना उम्मेदवारलाई जिताउन आफैँ चुनावी कमान्डर बनेका छन्। उनी घरदैलोमा समेत सहभागी भइरहेका छन्। अघिल्लो निर्वाचनमा माओवादीबाट उम्मेदवार बनेर झिनो मतले पराजित कुशवाहा यसपटक जनमतको उम्मेदवार बनेका कारण पनि उनको चर्चा चलेको छ।

मंसिर ४ गतेको निर्वाचनमा जनमतबाट उम्मेदवार बनेका राजेश साहले २ हजार ७२५ मत ल्याएका थिए। जबकि, समानुपातिकतर्फ जनमत यो क्षेत्रमा आठ हजार ८४६ मतसहित चौँथो स्थानमा थियो। समानुपातिकमा सबैभन्दा बढी मत पाएको जसपाको १३ हजार २४२, कांग्रेसको ११ हजार १७९ र एमालेको ९ हजार १९३ मत थियो।

कुशवाहा उम्मेदवार बनेपछि जित्न गाह्रो नहुने जनमत केन्द्रीय सदस्य तथा प्रचारप्रसार प्रमुख बीपी साह बताउँछन्। “हामी अहिले बारामै छौँ। यहाँका जनता कुशवाहाजीतिरै ढल्कने निश्चित छ। उपेन्द्र यादव बाहिरिया उम्मेदवार भएर पनि जनता उनलाई चुन्ने मुडमा देखिँदैनन्,” साहको दाबी छ। 

पुरुषोत्तम र रमेश पनि दौडमा
एमाले पोलिटब्युरो सदस्यसमेत रहेका पुरुषोत्तम पौडेल बाराका पुराना नेतामध्येमा पर्छन्। उनी युवा तथा खेलकुदमन्त्री पनि भइसकेका छन्।

बारा-२ मा अघिल्लोपटक जसपालाई सघाएको एमालेले यसपटक पौडेललाई उम्मेदवार बनाएको छ। गएको निर्वाचनमा समानुपातिकतर्फ एमाले यो क्षेत्रमा तेस्रो थियो। दोस्रोमा रहेको कांग्रेसले यसपटक पनि उम्मेदवारी दिएको छैन।

एमालेको मुख्य प्रतिस्पर्धी जसपा नै रहेको जिल्ला अध्यक्ष विनोद साह बताउँछन्। “हाम्रो संगठन बीचमा निस्क्रिय भएको थियो, तर बिस्तारै लयमा फर्किँदैछौँ,” अध्यक्ष साह भन्छन्, “हाम्रो प्रतिस्पर्धा जसपासँग छ। जति सम्भावना जसपाको छ, त्यति नै हाम्रो पनि छ। समय बाँकी नै रहेकोले हामी जसपालाई उछिनेर अगाडि जानेछौँ।”

रास्वपाबाट रमेश खरेलले उम्मेदवारी दिएका छन्। उनी बारा-२ मा उम्मेदवार बन्नकै लागि रास्वपा प्रवेश गरेका हुन्। यसअघि मंसिर ४ गतेको निर्वाचनमा रास्वपाले प्रत्यक्षतर्फ उम्मेदवार उठाएकै थिएन। समानुपातिकतर्फ भने एक हजार ४५५ मत ल्याएर १०औँ स्थानमा रहेको थियो।

खरेल भने काठमाडौँ-१ बाट नेपाल सुशासन पार्टीको तर्फबाट उम्मेदवार थिए। उनी उक्त पार्टीको अध्यक्ष पनि थिए।

खरेल प्रहरी पृष्ठभूमिका हुन्। उनी २०६८ सालमा बाराको छिमेकी जिल्ला पर्सामा प्रहरी उपरिक्षक भएर आएका थिए। त्यतिखेर उनको कार्यशैलीबाट प्रभावित भएर उनको नामबाट ‘एसपी खरेल’ भन्ने सिनेमा बनाइएको थियो। 

बारा-२ मा विस्तारै रास्वपाको पक्षमा माहोल बन्दै गएको निर्वाचन परिचालन समितिका संयोजक अशोक चौधरी बताउँछन्। पालिकास्तरमा संगठन नहुँदा पनि रास्वपाप्रति मतदाताको सकारात्मक अपेक्षा भएको उनको भनाइ छ।

“मुख्य प्रतिस्पर्धा हाम्रो जनमतसँग हुनेछ। स्थानीय तहसम्म संगठन नहुँदा हामी आफैँ घरघर पुगिरहेका छौँ। मतदाताहरुको मनस्थिति बुझ्दा उहाँहरुले हामीलाई मत दिनुहुन्छ भन्नेमा विश्वस्त छौँ,” चौधरी भन्छन्, “उपेन्द्रजीको बारेमा यहाँका जनता त्यति सकारात्मक नहुँदा हामीले जनमतलाई नै प्रतिस्पर्धीको रुपमा लिएका छौँ।”  

जातीय मतको प्रभाव कति पर्ला?
बारा-२ मा जातीय मत बढी भएका कारण त्यसले पनि निर्णायक भूमिका खेल्न सक्ने प्राध्यापक तथा राजनीतिक विश्लेषक वीरेन्द्र साह बताउँछन्। यो यादव बाहुल्य क्षेत्र भएको र सत्ता गठबन्धन पनि भएको हुनाले जसपा बलियो रहेको उनको भनाइ छ। साह भन्छन्, “स्थानीय तहमा जसपाकै पकड छ। त्यसैले प्रतिस्पर्धामा जसपा अगाडि देखिन्छ।”

अघिल्लो निर्वाचनमा पनि शीर्ष चार उम्मेदवारमध्ये तीन जना यादव थिए। जसमध्ये दुई जना यादव स्वतन्त्र उम्मेदवार थिए।

तर, अर्का विश्लेषक वीरेन्द्र यादव परिणाम कसको पक्षमा जान्छ भन्न नसकिने बताउँछन्। ठूला दलले चर्चा बटुल्न सक्ने उम्मेदवारलाई प्राथमिकतामा राखेको हुनाले जनमत जता पनि जान सक्ने उनको भनाइ छ।

“पहिला अरू उम्मेदवारको चर्चा थिएन त्यतिखेर सहानुभूतिको मतले पनि उहाँ (उपेन्द्र यादव)लाई जान गाह्रो थिएन। तर, केही दिनयता अन्य दलबाट पनि नाम चलेका व्यक्ति उम्मेदवार बनेपछि माहोल फेरिएको छ,” उनी भन्छन्।


सम्बन्धित सामग्री