Wednesday, April 24, 2024

-->

विस्तार हुँदै नर्सरी र फ्लोरिकल्चर, व्यवसायी भन्छन्– लगानी बढाए निर्यात गर्न सकिन्छ

नेपालभर झण्डै एक हजार नर्सरी र फ्लोरिकल्चर फार्म छन्। नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्ष प्रकाशित गरेको एक अध्ययन प्रतिवेदनले बागमती प्रदेशमा यो व्यवसायलाई सम्भावना भएको क्षेत्र मानेको थियो।

विस्तार हुँदै नर्सरी र फ्लोरिकल्चर व्यवसायी भन्छन्– लगानी बढाए निर्यात गर्न सकिन्छ

काठमाडौँ– बुढानीलकण्ठका रोशन श्रेष्ठलाई घरमा बोटबिरुवा हुर्काउने शोख थियो। तर घरमा खाली ठाउँ थोरै मात्र थियो। उनले त्यही खाली ठाउँको उपयोग गरे। गमलाहरूमा बिरुवा लगाए। 

घरलाई फूल र सजावटका बिरूवाले आकर्षक बनाए। शोख पूरा गर्न पाएपछि उनी मक्ख परेका थिए। छिमेकीले पनि प्रशंसा गरे। 

श्रेष्ठले फूल र सजावटका बिरुवालाई व्यवसाय नै बनाउने विचार गरे। २०५२ सालमा घरकै प्रांगणमा हुर्काएका बिरुवाबाट व्यवसाय थाले। त्यसपछि उनले ‘पिपल एग्रिकल्चर प्राली’ दर्ता गरे।

“यसमा स्कोप देखेपछि ठमेलमा २०५७ सालमा घरबाहिर पहिलो आउटलेट (बिक्री तथा प्रदर्शनस्थल) खोलेँ,” श्रेष्ठ भन्छन्, “त्यसपछि आउटलेट संचालन गर्ने ठाउँहरू फेरियो, व्यवसाय फेरिएन।”

उनले अहिले तीन ठाउँमा ‘आउटलेट’ खोलेका छन्। बुढानीलकण्ठमा आफैँ बस्छन्। कपनस्थित तेन्जिङ चोकको आउटलेट श्रीमती लक्ष्मीले सम्हाल्छिन्। हाँडीगाउँस्थित आनन्दमार्गको आउटलेट छोरी रोशनीको जिम्मामा छ। 

छोरी रोशनीको साथमा राेशन।

प्रत्येक आउटलेटबाट महिनामा साढे २ देखि ३ लाख रुपैयाँसम्मको कारोबार हुने उनी बताउँछन्। तर नाफा यति नै हुन्छ भनेर भन्न नसकिने उनी बताउँछन्। 

“१ रुपैयाँको बिरुवा ६ महिनासम्म स्याहारेपछि १ हजारमा बिक्न सक्छ। १ हजार रुपैयाँको बिरुवा ल्याएर राख्दा सुकेर गयो भने सकिइहाल्छ। तर जति परिश्रम गर्यो त्यति नै प्रतिफल पनि दिन्छ भन्ने मेरो अनुभव छ,” श्रेष्ठ भन्छन्, “कहिले पनि एकमुष्ट लगानी गरिएन, यहाँबाट भएको आम्दानी यसैमा थप्दै लैजाँदा राम्रै भएको छ। अरूलाई पनि सानोतिनो राजगारी दिन सकेका छौँ।”

तीन वटा आउटलेटमा गरेर पिपल एग्रिकल्चरले २० जनालाई रोजगारी दिएको छ। उनीहरूले बिरुवाको ‘डेलिभरी’ गरिदिन्छन्। आंशिक समय मात्र दिने हुनाले उनीहरूले मासिक औसतमा १० हजार रुपैयाँ आम्दानी गर्ने श्रेष्ठ बताउँछन्।

व्यक्तिगत घरमा मात्र नभइ बैंक तथा वित्तीय संस्था, कर्पोरेट कार्यालय, हाउजिङ, होटेल तथा रेस्टुरेन्ट पनि उनका ग्राहक हुन्। उनले ३०० भन्दा बढी प्रकारका बिरुवा तथा फूलहरू आपूर्ति गर्छन्। पछिल्लो समय घरको प्रांगण, बार्दली, कौसी र छतमा फूल तथा अन्य बिरुवा लगाउने चलन बढेको छ।

नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्ष २०७८÷७९ को बागमती प्रदेशको ‘प्रादेशिक आर्थिक गतिविधि अध्ययन, वार्षिक प्रतिवेदन’मा पनि यो व्यवसायलाई सम्भावना भएको क्षेत्रका रूपमा उल्लेख गरेको छ। अध्ययन प्रतिवेदनले शहर आसपासका क्षेत्रमा नर्सरी तथा पुष्पखेती गर्न सके स्वदेशी उत्पादनले नै माग पूरा गर्न सकिने जनाएको छ। अहिले भारतलगायत मुलुकबाट यस्ता बिरुवा आयात हुने गरेको छ।

शहरी इलाकामा बगैँचा तथा कौसीमा बोटबिरुवा लगाउने चलन बढ्दै गएकोले यसको लागि चाहिने बिरुवा, बीउविजन तथा अन्य सामग्रीको व्यवसायको सम्भावना रहेको प्रतिवेदनले जनाएको छ। काठमाडौँलगायत ठूला शहरआसपास होटेल तथा रिसोर्टहरू विस्तार भइरहेका छन्। 

फ्लोरिकल्चर एसोसिएसन नेपालले नर्सरी र फ्लोरिकल्चर उद्यमलाई निर्यातको सम्भावनायुक्त क्षेत्र मानेको छ। एसोसिएसनका अनुसार नेपालभर झण्डै एक हजार नर्सरी र फ्लोरिकल्चर संचालनमा छन्। यीमध्ये ७३२ व्यवसायिक फार्म फ्लोरिकल्चर एसोसिएसनमा संगठित छन्। यी फार्मले करिब १७८ हेक्टर (करिब ७०३ बिगाहा) मा नर्सरी र फ्लोरिकल्चर गरिरहेका छन्। 

एसोसिएसनमा आबद्ध हुन बाँकी फार्महरूको समेत गरी झण्डै एक हजार बिगाहा जमिनमा नर्सरी लगाइएको एसोसिएसनका अध्यक्ष मीनबहादुर तामाङको भनाइ छ। यस क्षेत्रमा साढे २ अर्बको वार्षिक कारोबार हुने पनि उनले बताए। “कोरोनाकालअगाडि वार्षिक करिब ३ अर्बसम्म कारोबार थियो। व्यवसाय अब पुनः तंग्रिन थालेको छ,” उनले भने।

तामाङका अनुसार यो व्यवसायमा कुल ७ अर्ब रुपैयाँभन्दा बढी लगानी भएको छ। व्यवसायी तथा प्रत्यक्ष र अप्रत्यक्ष रोजगारी गरी करिब ४० हजार मानिस संलग्न छन्। यसमा व्यवसाय गर्ने, रोजगारी गर्ने, आवश्यक बीउबिजन, बिरुवा, गमला, जैविक मल, गमला, बिरुवा हुर्काउन चाहिने अन्य सामग्री आपूर्ति गर्नेलाई समावेश गरिएको छ।

एसोसिएसनका अनुसार गत आर्थिक वर्ष २६ करोड रुपैयाँ बराबरको नर्सरीका बिरुवा र फूलहरू आयात भएको थियो। त्यस्तै, १ करोड रुपैयाँ बराबरको यस्ता बस्तु निर्यात भएको थियो। अध्यक्ष तामाङले भने, “फ्लोरिकल्चर तुरुन्तै निर्यात थाल्न सकिने सम्भावना भएको क्षेत्र हो। तर यसको लागि ठूलो आकारको कारोबार गर्नुपर्छ। प्रविधिसँग जोडिनुपर्छ। ठूला व्यावसायिक घरानाको लगानी भए निर्यातको सम्भावना छ।”

केही ठूला व्यावसायिक घरानाले फ्लोरिकल्चरमा लगानी गर्न चासो देखाइरहेको तामाङले बताए। करिब १५ वर्षअगाडि ‘एभरेष्ट फ्लोरिकल्चर संचालनमा रहको बेला वार्षिक १९ करोडको गुलाफ जापान निर्यात भएको थियो।

नेपालमा वातावरणको हिसाबले अधिक गर्मी चाहिने प्रजातिका लागि तराई क्षेत्र र कम तापक्रम चाहिने प्रजातिका लागि पहाड र हिमाली क्षेत्रमा नर्सरी लगाउन सकिने व्यवसायी बताउँछन्। काठमाडौँ उपत्यकामा भने अहिले हरितगृह र ‘टनेल’ बनाएर बेमौसमी फूल र बिरुवाको उत्पादन हुने गरेको छ।

काठमाडौँको कागेश्वरी मनोहरा–८ मा २०० वर्गमिटरमा हरितगृह बनाएर उदयपुरकी गिता खड्काले २०६९ सालमा शुरू गरेको फार्मले उनको परिवार धानिएको छ। “हामीले यहाँ यो व्यवसाय संचालन गरेको १० वर्ष भयो, परिवारका चार जना संलग्न छौँ, एक जना बाहिरको मान्छे पनि राखेका छौँ,” उनले भनिन्, “घर, हाउजिङ, बैंकलगायतमा यहाँबाट बिरुवा र फूलहरू जान्छ, ठेक्काका हिसाबले पनि सप्लाई गरिन्छ।”

स्वदेशमा बजार लिइरहेको नर्सरी र फ्लोरिकल्चर उद्यमलाई व्यापक गर्नसके देशबाहिर पनि बजार पाइने एसोसिएसन अध्यक्ष तामाङ बताउँछन्। उनका अनुसार छिमेकी देश भारतले समेत नेदरल्याण्ड, बेल्जियम र थाइल्यान्डबाट गुलाफ आयात गर्ने गरेको छ। फूलका आयातकर्ता मुलुकहरू संयुक्त राज्य अमेरिका, बेलायत, सिंगापुर र मलेसिया पनि हुन्।

त्यस्तै जापान र मध्यपूर्वका देशहरूमा पनि फूलको माग रहेको तामाङले बताए। नर्सरी र फ्लोरिकल्चर उद्यमलाई प्रबर्द्धन गर्न सके आयात–निर्यातमा भइरहेको असन्तुलन थोरै भए पनि घटाउन सकिने उनको भनाइ छ।


सम्बन्धित सामग्री