Wednesday, April 24, 2024

-->

२५ लाख ऋण दिएर १३ करोड माग्ने साहुकार शर्मा पक्राउ

मिटरब्याज असुलीको आरोप लागेका सप्तरीका सुरेन्द्रप्रसाद शर्मा पक्राउ परेका छन्। उनलाई ठगी तथा आपराधिक विश्वासघात मुद्दामा नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइको सप्तरी प्रहरीले जनाएको छ।

२५ लाख ऋण दिएर १३ करोड माग्ने साहुकार शर्मा पक्राउ

काठमाडौँ– प्रहरीले मिटरब्याज असुलीको आरोप लागेका सप्तरीको राजविराज नगरपालिका–७ का सुरेन्द्रप्रसाद शर्मालाई पक्राउ गरेको छ। सोमबार बिहान ८ बजे राजविराज बजारबाट उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता, प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिए।

“इलाका प्रहरी कार्यालय, कल्याणपुरको टोलीले सुरेन्द्रप्रसाद शर्मालाई पक्राउ गरेको हो,” सिंहले उकालोसित भने, “ठगी तथा आपराधिक विश्वासघात मुद्दामा नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइको छ।” सप्तरी प्रहरीका अनुसार बोदेवरसाइन नगरपालिका–१० बस्ने निर्मलकुमार यादवको जाहेरीका आधारमा शर्मा पक्राउ परेका हुन्।

करिब १२ वर्षअघि दुई पटकमा आठ बिगाहाभन्दा बढी जग्गा राजीनामा पास गरी २५ लाख रुपैयाँ ऋण लिएको तर साँवा र ब्याजबापतको रकम फिर्ता गरे पनि शर्माले तमसुक र जग्गा नफर्काएको जाहेरीकर्ता निर्मलको आरोप छ।

निर्मलका अनुसार शर्माले जग्गा र तमसुक फिर्ता गर्न साढे १३ करोड रुपैयाँ मागदाबी गरेका छन्। यसअघि उकालोसँगको कुराकानीमा शर्माले आफूले राम्ररी हिसाब गर्दा १३ करोडभन्दा बढी नै बक्यौता निस्किने दाबी गरेका थिए। शर्माले आफूलाई जनमत पार्टीको केन्द्रीय सदस्य बताएका थिए।

यो पनि : मिटरब्याज अपराधको केस–स्टडी : कर्जा लिएको २५ लाख, तिर्नुपर्ने १३ करोड

निर्मलका बुवा शंकरकुमार यादव र आमा मन्जु सिन्हा यादवले २०६६ असोज १९ गते र पुस १७ गरी दुई पटकमा सुरेन्द्रका बुवा सत्यनारायण शर्माबाट लिएको २५ लाख ऋणका लागि १३ करोड रुपैयाँ दाबी गरेको खुलेको छ। सवारी दुर्घटनामा परी दाहिने खुट्टा गुमाइसकेका निर्मलले दिदी सुषमाकुमारी यादवको बिहेका लागि चाहिने पैसा साहुकै सर्तमा जग्गा पास गरेर ऋण लिएको बताए। उनका अनुसार बैंकहरूले कर्जा नदिँदा निर्मलका बुवा–आमाले त्यतिबेला सप्तरी जिल्ला जनस्वास्थ्य कार्यालयमा ‘स्टोरकिपर’ रहेका सत्यनारायणसँग पैसा लिएर गर्जो टारेका थिए।

पहिलो पटक २०६६ असोज १९ मा सत्यनारायणकी श्रीमती लडुमति शर्मा र बुहारी उषा शर्माको नाममा चार बिगाहा ११ धुर र दोस्रो पटक २०६६ पुस १७ अर्को चार बिगाहा ६ कट्ठा १६ धुर जग्गा छोरा सुरेन्द्रको नाममा सप्तरी मालपोत कार्यालयमा लेखत पास भएको देखिन्छ। यो जग्गा कर्जाबापत नभई खरिद गरेर लिएको सुरेन्द्रको दाबी छ।

यो पनि : सरकारको 'देखावटी कदम'ले मिटरब्याजीलाई उन्मुक्ति, पीडितविरुद्ध नै हाल्न थाले मुद्दा

२०६७ असारमा त्यति बेलासम्मको ब्याजसहित गरी ३१ लाख ५० हजार रुपैयाँ फिर्ता गरिसकेको निर्मलको भनाइ छ। पैसा फिर्ता गर्नुभन्दा ६ महिनाअगाडि नै षड्यन्त्रपूर्वक शर्माले अंश मुद्दा हालेर आफ्नो बन्धकको जग्गा रोक्का गराएकाले उतिबेला जग्गा फिर्ता हुन नसकेको निर्मल बताउँछन्।

सप्तरी जिल्ला अदालतमा २०६६ माघ २० गते सत्यनारायणकी बुहारी उषाले अंश मुद्दा दायर गरेको देखिन्छ। साहु सत्यनारायणका छोरा सुरेन्द्रले ब्याजको समेत ब्याज जोडेर उक्त २५ लाख नगदको १३ करोड २७ लाख ४६ हजार रुपैयाँ हिसाब पुर्‍याएर मागदाबी गरेका छन्। फागुन २१ गते निर्मलले शर्माविरुद्ध इलाका प्रहरी कार्यालय, कल्याणपुरमा जाहेरी दिएका थिए।


सम्बन्धित सामग्री