Thursday, April 18, 2024

-->

निजामती सेवा विधेयक चालु संसद् अधिवेशनबाटै पारित हुन्छ: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले संघीय निजामती सेवा विधेयक चालू संसद् अधिवेशनबाटै पारित गर्ने बताएका छन्।

निजामती सेवा विधेयक चालु संसद् अधिवेशनबाटै पारित हुन्छ प्रधानमन्त्री

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीयता कार्यान्वयनलाई गति दिन संघीय निजामती सेवा विधेयक चालू संसद् अधिवेशनबाटै पारित गर्ने बताएका छन्।

राष्ट्रिय खेलकुद परिषद्ले शनिबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले संघीय निजामती सेवा ऐन र त्यससँग सम्बन्धित अन्य ऐनहरू नहुँदा संविधानले अंगीकार गरेको मर्म र भावनाअनुसार संघीयता कार्यान्वयन हुन नसकेकाले चालू संसद् अधिवेशनबाटै विधेयक पारित गर्न सरकार दृढ रहेको बताए।

प्रधानमन्त्री दाहालले संघीय निजामती सेवा विधेयकको मस्यौदा अन्तिम चरणमा पुगेको र अब त्यसलाई छिट्टै संसद्मा पेस गर्ने बताए। “मेरो कोशिश छ–यही सदनमा विधेयकलाई प्रस्तुत गर्ने र त्यसलाई पारित गरेपछि अहिलेका धेरै अन्योल समाप्त हुन्छन्। र, एउटा नयाँ गति संघीयता कार्यान्वयनले लिन्छ,” उनले भने।

प्रधानमन्त्री दाहालले सिंहदरबारको अधिकार जनताको घरदैलोमा पुर्‍याउने संविधानको मर्मअनुसार संघीयता कार्यान्वयनलाई तीव्रता दिन पनि सोसँग सम्बन्धित ऐन निर्माणको कामलाई ढिलाइ गर्न नहुने दोहोर्‍याए।


सम्बन्धित सामग्री