Friday, April 26, 2024

-->

राहदानी विभागको टोली पोर्चुगलमा, १ महिनासम्म सेवा दिने

टोलीले राहदानीको म्याद सकिएका, क्षति भएका, हराएका, नष्ट भएका र पोर्चुगलमा जन्मेका नाबालिक नेपालीका लागि प्राथमिकताका आधारमा सेवा प्रवाह गर्ने बताइएको छ।

राहदानी विभागको टोली पोर्चुगलमा १ महिनासम्म सेवा दिने

पोर्चुगल– युरोपेली मुलुक पोर्चुगलमा रहेका नेपालीलाई राहदानी सेवा प्रदान गर्नका लागि राहदानी विभाग काठमाडौँको टोली पोर्चुगल आइपुगेको छ।

विद्युतीय राहदानीका लागि दरखास्त संकलन गर्न विभागको टोली बुधबार राजधानी लिस्बन आइपुगेको हो। विभागका शाखा अधिकृत रञ्जिता दाहाल नेतृत्वको टोलीले एक महिनासम्म लिस्बनबाट सेवा दिने छ।

टोलीअन्तर्गतको नेपाली राजदूतावास पेरिस, फ्रान्सका प्रतिनिधिले बुधबारबाटै राहदानी सेवा शुरू गरेको छ। पहिलो दिन राहदानीको म्याद सकिसकेका, क्षति भएका र राहदानी नै नभएका गरी १७ जनाको दरखास्त संकलन गरिएको टोलीका सदस्य एवं नेपाली दूतावास पेरिस, फ्रान्सका तृतीय सचिव दीपेन्द्रप्रसाद शाहले जानकारी दिए।

टोलीले राहदानीको म्याद सकिएको, क्षति भएको, हराएको, नष्ट भएको र पोर्चुगलमा जन्मेका नाबालिकका लागि प्राथमिकताका आधारमा सेवा प्रवाह गर्ने पोर्चुगलका लागि अवैतनिक नेपाली महावाणिज्यदूत मकरबहादुर हमालले बताए।

राहदानी सेवा शिविरबाट पाँच हजारभन्दा बढी नेपालीले सेवा लिने अनुमान गरिएको उनको भनाइ छ। 


सम्बन्धित सामग्री