Wednesday, April 24, 2024

-->

साना कम्पनीको न्यूनतम २५० कित्ता सेयर माग गर्न मिल्ने व्यवस्था गरिँदै

बोर्डले मस्यौदामाथि १५ दिनभित्र सुझाव दिन सरोकारवालालाई आग्रह गरेको छ। सुझावका आधारमा मस्यौदालाई अन्तिम रूप दिने बोर्डले जनाएको छ।

साना कम्पनीको न्यूनतम २५० कित्ता सेयर माग गर्न मिल्ने व्यवस्था गरिँदै

काठमाडौँ– नेपाल धितोपत्र बोर्डले साना तथा मझौला कम्पनीको न्यूनतम २५० कित्ता सेयरका लागि आवेदन दिन सकिने व्यवस्थाको प्रस्ताव गरेको छ। बोर्डले साना तथा मझौला संगठित संस्थाको धितोपत्र निष्कासन तथा कारोबारसम्बन्धी नियमावली, २०७९ मस्यौदा सार्वजनिक गर्दै उक्त प्रस्ताव गरेको हो। 

बोर्डले मस्यौदामाथि १५ दिनभित्र सुझाव दिन सरोकारवालालाई आग्रह गरेको छ। सुझावका आधारमा मस्यौदालाई अन्तिम रूप दिने बोर्डले जनाएको छ।

नियमावलीको मस्यौदामा उल्लेख भएअनुसार साना तथा मझौला कम्पनीले प्रिमियम मूल्यमा पनि आईपीओ जारी गर्न सक्ने छन्। जसका लागि संगठित संस्था लगातार पछिल्लो तीन वर्षसम्म खुद मुनाफामा सञ्चालनमा रहेको, संस्थाको प्रतिसेयर चुक्ता पुँजीभन्दा प्रतिसेयर नेटवर्थ बढी भएको हुनुपर्ने प्रस्ताव गरिएको छ।

मस्यौदाअनुसार संगठित संस्थाको जारी पुँजीको ३० प्रतिशतभन्दा घटी र ४९ प्रतिशतभन्दा बढी नहुने गरी धितोपत्रको सार्वजनिक निष्कासन गर्नुपर्ने हुन्छ।  यस्ता संस्थाले धितोपत्र निष्कासन गर्नुअघि क्रेडिट रेटिङ गर्न अनिवार्य हुने छैन।  तर, बोर्डले आवश्यक देखेमा त्यस्तो संगठित संस्थालाई धितोपत्रको सार्वजनिक निष्कासन गर्नुपूर्व क्रेडिट रेटिङ संस्थामार्फत रेटिङ गराउन निर्देशन दिन सक्ने मस्यौदामा उल्लेख छ।

मस्यौदाअनुसार अधिकतम चुक्ता पुँजी २५ करोड रुपैयाँका कम्पनीलाई बोर्डले साना तथा मझौला कम्पनी (एसएमई) मा वर्गीकरण गरेको छ।  तर साना तथा मझौला संगठित संस्थाको उपस्थिति र बजारको अवस्था हेरी बोर्डले चुक्ता पुँजीको सीमा हेरफेर गर्न सक्ने मस्यौदामा उल्लेख  छ।


सम्बन्धित सामग्री