Saturday, April 20, 2024

-->

पर्यटक लोभ्याउँदै पटिहानी

पटिहानीमा पर्यटकले घडियाल गोहीका साथै एकसिंगे गैँडालगायत वन्यजन्तु अवलोकन गर्न पाउँछन्। स्वदेशी पर्यटकलाई लक्षित गरेर निर्माण गरिएको 'अम्ब्रेला स्ट्रिट' पनि आकर्षणको केन्द्र बनेको छ।

पर्यटक लोभ्याउँदै पटिहानी

भरतपुर– चितवन राष्ट्रिय निकुञ्जमा दुर्लभ एकसिंगे गैँडा र अन्य वन्यजन्तु हेर्नका लागि देश विदेशबाट पर्यटक आउने गर्छन्।

निकुञ्ज घुम्न आउने पर्यटकका लागि सौराहा परिचित नाम हो। सौराहाजस्तै निकुञ्जसँग जोडिएका अन्य ठाउँ पनि पर्यटकीय गन्तव्यका रूपमा विकसित हुँदै गएका छन्।

पछिल्लो समय पश्चिम चितवनको पटिहानी पर्यटकको रोजाइमा पर्न थालेको छ। भरतपुर महानगरपालिका–२२ मा पर्ने पटिहानी पर्यटकका लागि आकर्षणको केन्द्र बनेको वडाध्यक्ष विष्णुराज महतोले बताए। “पर्यटकको बसाइ लम्ब्याउनका लागि हामीले विभिन्न पूर्वाधार निर्माणका साथै व्यवसायीहरूसँग समन्वय गर्दै आएका छौँ,” उनले भने, “निकुञ्जका जंगली जनावर पश्चिमतर्फ केन्द्रित हुन थालेपछि जंगल सफारीका लागि आउने पर्यटकको रोजाइमा यो क्षेत्र पर्न थालेको छ।” 

भरतपुरको मुख्य बजारबाट १४ किलोमिटर यात्रापछि पटिहानी पुग्न सकिन्छ। कोरोना महामारीका कारण सुस्ताएको यहाँको पर्यटकीय गतिविधि पुनः जुर्मुराएको छ। निकुञ्जसँगै रहेको राप्ती नदीमा हात्तीसँगै रमाइलो गर्दै भेटिएका पर्यटक खुशी देखिन्छन्।

जर्मनीबाट आएका उलफले राप्तीमा हात्तीमा चढेर नुहाउँदा निकै रमाइलो लागेको अनुभव सुनाए। उनले नेपाल प्राकृतिक रूपमा सुन्दर रहेको बताए। पटिहानी आइपुग्ने पर्यटकले निकुञ्जसँगै बग्ने राप्तीमा घडियाल गोहीका साथै एकसिंगे गैँडालगायत वन्यजन्तु अवलोकन गर्न पाउँछन्। बढी खर्च गर्ने पर्यटकलाई तान्न सुविधा–सम्पन्न होटल खोलिएको वडाध्यक्ष महतोले बताए। 

स्वदेशी पर्यटकलाई लक्षित गरेर निर्माण गरिएको अम्ब्रेला स्ट्रिट आकर्षणको केन्द्र बनेको छ। भरतपुर महानगरपालिकाको सबैभन्दा नजिकको दूरीमा पर्यटकीय केन्द्र पटिहानी पुग्न सहज छ। महानगरपालिकाभित्र निर्माण गर्न लागिएको चक्रपथ पनि यही क्षेत्र भएर जान्छ।

यहाँ खुलेका होटल र पर्यटकको आवागमनले पटिहानीमा पर्यटकीय गतिविधि बढ्दै गएको भरतपुर–२२ का दीपक पौडेल बताउँछन्। २०७९/८० को फागुनसम्म एक लाख ९१ हजार ८८३ जना पर्यटकले निकुञ्ज घुमेको सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए।

गत आवमा एक लाख ९० हजार ४५८ जनाले भ्रमण गरेका थिए।


सम्बन्धित सामग्री